भारतसँग विद्युत खरिद सम्झौता, पुस १७ गतेदेखि थप ८० मेगावाट बिजुली ल्याइने

    2973

    काठमाडौं । भारतबाट थप विद्युत आयात गर्ने विषयमा दुई मुलुकका सरकारी संस्थाबीच विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) भएको छ ।

    अन्तरदेशीय प्रसारणलाइन अन्तर्गत भारतको मुज्जफपुरमा थप १ सय एमबीएको ट्रान्सफर्मर राख्ने काम सम्पन्न भएपछि नेपाल विद्युत प्राधिकरण र भारतको एनभीभीएन विद्युत् व्यापार निगमबीच नेपालमा थप बिजुली आयातका लागि पीपीए भएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एनभीभीएनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अरुणकुमार गर्गले हस्ताक्षर गरेका छन् ।

    मुज्जफपुर–ढल्केबर अन्तरदेशीय प्रसारणलाइनबाट थप ८० मेगावाट आयात हुने भएको छ । हालको ८० समेत गरी जनवरीमा सो प्रसारणलाइनबाट १२० र फेब्रुअरीदेखि १६० मेगावाट बिजुली आयात हुने विद्युत प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए । माग र आपूर्तिको अवस्था हेरेर थप बिजुली आयात गरिएको उनले स्पष्ट पारे ।

    भारतको पावर ग्रीड कर्पोरेशनले मुज्जफपुरमा थप १ सय एमबीए क्षमताको ट्रान्सफर्मर जडान सम्पन्न गरेपछि प्राधिकरण र एनभीभीएनबीच पीपीए भएको अधिकारीले बताए । उनकाअनुसार एनभीभीएनसँगको पीपीए डिसेम्बरदेखि सकिँदै थियो । जनवरीदेखि आउदो मेसम्म ५ महिनाका लागि प्रतियुनिट ५ रुपैयाँ ७६ पैसा (३ रुपैयाँ ६० पैसा भारु) मा पीपीए भएको अधिकारीले जानकारी दिए । उनका अनुसार यो सस्तो दर हो ।

    अन्तरदेशीय प्रसारणलाइनबाट जनवरीमा १२० र फेब्रुअरीदेखि १६० मेगावाट बिजुली आयात हुनेछ ।

    यस्तै अन्य प्रसारणलाइन निर्माण र स्तरोन्नतिको काम भइरहेकाले सम्पन्न भएपछि मात्र थप बिजुली आयातका लागि पीपीए हुने भएको छ । जसअनुसार कटैया–कुसाह र परावनीपुर–रक्सौलमा १३२ केभी प्रसारणलाइन निर्माण भइरहेकाले सम्पन्न भएपछि मात्र दुई लाइनबाट थप १ सय मेगावाट आयातका लागि पीपीए हुने उनले जानकारी दिए । उनका अनुसार कटैया–कुसाहबाट हाल १३० मेगावाटसम्म आयात भइरहेकोमा क्षमता बढाएपछि थप ५० र परवानीपुर–रक्सौलबाट थप ५० मेगावाट बिजुली आयात हुँदैछ ।

    एनभीभीएनसँग लेउ अथवा देउ (टेक अर पे) मा पीपीए हुने भएकाले दुबै प्रसारणलाइनको काम सम्पन्न भएपछि मात्र आयात गर्ने उनले स्पष्ट पारे । यस्तै टनकपुरबाट थप ४० मेगावाट ल्याउनका लागि काम भइरहेको उनले जानकारी दिए ।

    आउदो जनवरीमा काठमाडौंमा हुन लागेको नेपाल–भारत संयुक्त सचिवस्तरिय बैठकमा अन्य प्रसारणलाइनबाट थप बिजुली ल्याउने विषयमा निर्णय हुने अधिकारीले बताए ।

    मुलुकलाई लोडसेडिङमुक्त बनाउन विद्युत प्राधिकरणले भारतबाट साढे ५६० मेगावाटसम्म बिजुली आयातको तयारी गरेको छ ।  अहिले भारतबाट आइरहेको बिजुलीमा २२० मेगावाट थप गर्दा देशभर लोडसेडिङ् नहुने प्राधिकरणको अनुमान छ । भारतबाट गतवर्षसम्म ३४७ मेगावाटसम्म बिजुली आयात भएको थियो ।

    भारतको नयाँ दिल्लीमा बुधबार र बिहीबार २ दिन आयोजना भएको साउथ एसिया इनर्जी इन्ट्रिगेटेड इनह्यान्सिङ पावर मार्केट सम्मेलनमा ऊर्जा सचिव अनुपकुमार उपाध्यायले प्रमुख अतिथिका रुपमा भाग लिएका थिए ।

    सो अवसरमा सचिव उपाध्याय र भारतीय समकक्षी पीके पूजारीबीच वार्ता भएको थियो । भारतीय सचिव पूजारीले नेपालको ऊर्जा संकट समधान गर्न भारतले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएको अधिकारीले बताए ।
    यस्तै पञ्चेश्वर वहुउद्धेशिय परियोजनाको विस्तृत प्रतिवेदन (डीपीआर) आउँदो ४ महिनामा सम्पन्न गर्ने सहमति भएको ऊर्जासचिव उपाध्यायले जानकारी दिए ।

    स्रोत:बाह्रखरी