चीनको जियाङ हाङसीद्वारा विद्युत् बिक्रीको प्रस्ताव

    3188

    काठमाडौं, २१ साउन

    bhotekoshi चीनको एक ऊर्जा कम्पनीले तिब्बतस्थित भोटेकोसी (बकु रिभर) मा तीन जलविद्युत् आयोजना निर्माण गरी नेपाललाई बिजुली बिक्री गर्ने औपचारिक प्रस्ताव गरेको छ ।
    चीनको जियाङ हाङसी हाइड्रोपावर कम्पनी लिमिटेडले नेपाल तिब्बत सिमामा रहेको भोटेकोसी (बोकु रिभर)मा तीनवटा शृंखला आयोजना बनाई  १ सय ८२ मेगावाट विद्युत् उत्पादन गरेर नेपाललाई बिक्री गर्ने प्रस्ताव गरेको हो । कम्पनीका अध्यक्ष जु जिनाओले सोमबार ऊर्जा मन्त्रालयका सचिव विश्वप्रकाश पण्डितलाई भेटी  बिजुली बिक्रीको औपचारिक रूपमा प्रस्ताव गरेका हुन् । तीनवटै आयोजना नदीको वहावमा आधारित (रन अफ दि रिभर) हुन् ।
    कम्पनीले तिब्बतमा विद्युत् उत्पादन गरी ७१ किलोमिट लामो २२० केभी डबल सर्किट भएको प्रसारणलाइन निर्माण गरी काठमाडौंमा विद्युत् आपूर्ति गर्ने बताएको छ । आयोजनाबाट वार्षिक १ अर्ब ५ करोड ८० लाख युनिट बिजुली उत्पादन हुने उसले गरेको अध्ययनले देखाएको छ ।
    बिजुली बिक्रीको प्रस्ताव गरे पनि विद्युत् खरिद–बिक्री दर भने प्रस्ताव नगरेको सचिव पण्डितले जानकारी दिए । मन्त्रालयले यसलाई सकारात्मक रूपमा लिएको उनले बताए ।  यो उसको प्रारम्भिक प्रस्ताव भएको जानकारी दिँदै सचिव पण्डितले भने, “सस्तोमा बिजुली दियो भने खरिद गर्न पनि सकिन्छ ।” भौगलिक जटिलताले गर्दा तिब्बतमा बिजुली बिक्री गर्न समस्या भएकाले उसले यस्तो प्रस्ताव गरेको हो । कम्पनीले चीनमा ४३ मेगावाट क्षमताको तीन आयोजना निर्माण गरेको जनाएको छ ।
    चीनको सीडब्लुई इन्भेस्टमेन्ट कर्पोरेसनले पश्चिमसेती (७५० मेगावाट) जलाशययुक्त आयोजना, सिनो हाइड्रो कर्पोरेशनले माथिल्लो मस्र्याङ्दी (५० मेगावाट) र चाइना वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन (सीडब्लुई)ले मादी (२५ मेगावाट) जलविद्युत् आयोजना निर्माण गर्दै छन् ।

    Source : Karobar