चिनी उद्योगको बिजुलीबाट प्राप्त आम्दानीको ५% किसानलाई

    1230

    सुरु भएपछि किसानलाई वार्षिक साढे दुई करोड
    नेपाल विद्युत् प्राधिकरणले चिनी उद्योगबाट उत्पादित विद्युत्को ५ प्रतिशत आम्दानी किसानलाई दिनेगरी ती उद्योगसँग विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने प्रक्रिया अघि बढाएको छ ।

    किसानले चिनी उद्योगबाट उखुको पैसा नपाएको गुनासो आइरहेको बेला त्यही चिनी उद्योगबाट उत्पादित विद्युत्बाट भएको आम्दानीमध्ये ५ प्रतिशत किसानलाई दिने गरी पीपीए अघि बढाइएको हो । विद्युत् प्राधिकरणले दुई चिनी उद्योगसँग पीपीए गरिसकेको छ भने एक उद्योगसँग बिहीबारमात्र पीपीए मस्यौदामा हस्ताक्षर गरेको छ । विद्युत् प्राधिकरणका प्रवक्ता एवं विद्युत् व्यापार विभागका प्रमुख प्रबल अधिकारीले सर्लाहीको इन्दुशंकर चिनी उद्योग र महोत्तरीको एभरेष्ट सुगर एण्ड केमिकल्सबाट सह–उत्पादनको रुपमा ३÷३ मेगावाट विजुली उत्पादन गर्ने गरी पीपीए भएको जानकारी दिए । “पीपीए भएको छ, अब उत्पादनपछि विद्युत् प्राधिकरणलाई बेच्ने विजुलीबाट भएको आम्दानीको ५ प्रतिशत उखु किसानले पाउने गरी ऊर्जा मन्त्रालय पठाउँछौ,” उनले भने । उनका अनुसार ऊर्जा मन्त्रालयमार्फत चिनी उद्योगबाट प्रभावित उखु किसानलाई उक्त रकम दिइनेछ ।
    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चिनी उद्योगले प्राधिकरणलाई बेचेको विजुलीको ५ प्रतिशत सम्बन्धित उखु किसानलाई दिनेछ । उखु किसानलाई उखु उद्योगको सहउत्पादनको रुपमा रहेको विद्युत् बेचेर आएको रकम दिने बताउँदै यसका लागि छुट्टै कार्यविधि भने बन्न बाँकी रहेको बताए । विगत लामो समयदेखि खेर गएको बगास (उखुको खोस्टा) बालेर उमालेको पानीको बाफमार्फत बिजुली निकाल्ने प्रतिबद्धतासहित तत्कालीन ऊर्जा मन्त्रालयमा निवेदन दिए पनि यसको कार्यान्वयन हुन पाएको थिएन । तर, मन्त्रिपरिषद्ले बगासबाट विद्युत् उत्पादनका लागि स्वीकृति दिएपछि बल्ल पीपीए भएको हो ।
    बिहीबार प्राधिकरणले १५ मेगावाट विद्युत् उत्पादन गर्ने गरी बाराको रियालन्स सुगर एण्ड केमिकलसँग मस्यौदा पीपीए गरेको छ । अब विद्युत् प्राधिकरणको बोर्डबाट स्वीकृत भएपछि पीपीए गरिने प्रवक्ता अधिकारीले जानकारी दिए । इन्दुशंकर र एभरेष्टले २०७६ को चैत्रमा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । हिउँदमा मात्र उत्पादन गर्ने भएकोले चिनी उद्योगले जलविद्युत् आयोजनामा जस्तै प्रतियुनिट ८.४० पीपीए दर पाउनेछन् ।
    प्राधिकरणका अनुसार तीन चीनी उद्योगबाट मात्र वार्षिक रुपमा ४९ करोड ६२ लाख रुपैयाँ बराबरको विद्युत् उत्पादन गर्नेछन् भने त्यसमध्ये २ करोड ४८ लाख उखु किसानले पाउनेछन् । इन्दुशंकरबाट बार्षिक ९ करोड ६५ लाख रुपैयाँ बराबरको १ करोड १४ लाख ९४ हजार ८ सय युनिट तथा एभरेष्टबाट ८ करोड ५ लाख रुपैयाँ बराबरको ९५ लाख ९० हजार युनिट विद्युत् उत्पादन हुनेछ । त्यसैगरी रिलायन्सबाट ३१ करोड ९१ लख रुपैयाँ बराबरको ३ करोड ७९ लाख ९४ हजार ४ सय युनिट विद्युत् उत्पादन हुने प्राधिकरणले जनाएको छ ।