इवाखोला आयोजनाद्वारा प्रभावितलाई सेयर

    1332

    जेष्ठ २८, २०७४- ताप्लेजुङ र पाँचथरको सीमावर्ती इवाखोलामा निर्माणाधीन जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका बासिन्दालाई सेयर वितरण सुरु गरेको छ । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीद्वारा निर्माणाधीन ९ दशमलव ९ मेगावाट क्षमताको आयोजनाले पाँचथर र ताप्लेजुङवासीलाई सेयर बिक्री गर्न लागेको हो ।

    सदरमुकाम फिदिमदेखि सुदूरउत्तर याङवरक गाउँपालिका–४ थर्पु र ताप्लेजुङको सिदिङवा गाउँपालिका–४ साब्लाखुको सीमावर्ती इवाखोलामा निर्माणाधीन जलविद्युत् आयोजनाले दस प्रतिशत सेयर वितरण गर्न लागेको प्रवद्र्धक रैराङ हाइड्रोपावर डेभलप्मेन्ट कम्पनीले जनाएको छ ।

    कम्पनीले प्रभावित क्षेत्र ताप्लेजुङ र पाँचथरवासी सर्वसाधारणलाई प्रतिसेयर एक सय रुपैयाँका दरले ५६ लाख कित्ताबाट करिब ५ करोड ६० लाख रुपैयाँ बराबरको सेयर वितरण गर्न लागेको कम्पनीका निर्देशक कुवेरमणि नेपालले बताए ।

    दुई जिल्लाका बासिन्दालाई दिन लागेको दस प्रतिशत सेयरमध्ये अतिप्रभावित ताप्लेजुङको साब्लाखु र पाँचथरको थर्पुवासीलाई ४० प्रतिशतले २ लाख २४ हजार कित्ताबापत करिब दुई करोड २४ लाख रुपैयाँ र प्रभावित जिल्लावासीलाई ६० प्रतिशतले ३ लाख ३६ हजार कित्ताबापत करिब तीन करोड ३६ लाख रुपैयाँ वितरण गर्न लागेको कम्पनीका निर्देशक कुवेरमणि नेपालले बताए । उनले निर्माणाधीन इवाखोला जलविद्युत् आयोजना ५० प्रतिशत पूरा भएको जनाए ।

    एक वर्षदेखि निर्माणाधीन आयोजनाले प्रभावित क्षेत्रका बासिन्दालाई संरक्षित जारी पुँजीको दस प्रतिशत सेयर असुल गर्न १५ दिनका लागि सेयर खुलाएको छ । सेयर रकम जम्मा गर्न फिदिमस्थित माछापुच्छ्रे बैंक, एनआईसी एसिया बैंक, एनएमबी बैंक र सिभिल बैंकको शाखा कार्यालय, ताप्लेजुङमा एनएमबी बैंकको शाखा र पाँचथरको थर्पुस्थित सिभिल बैंकको काउन्टरबाट सेयर फर्म भरेर रकम जम्मा गर्न सकिने जनाएको छ ।

    कम्पनीले जारी गरेको सेयर असार ८ गतेसम्म प्राप्त नभए असार २३ सम्म थप १५ दिन म्याद दिने जनाएको छ । रैराङ हाइड्रोपावर कम्पनी र नेपाल विद्युत् प्राधिकरण, विद्युत् विकास विभागसित ०७० वैशाख २९ मा भएको विद्युत् खरिद बिक्री सम्झौता भएको थियो । आयोजना ०७५ साउन १ मा पूरा गर्ने सम्झौता भए पनि आगामी माघ मसान्तमा पूरा गरी विद्युत् आपूर्ति गर्ने लक्ष्यकासाथ निर्माण कार्य भइरहेको निर्देशक नेपालले बताए ।

    विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) पछि कम्पनीले आयोजना निर्माणका लागि विस्तृत सर्वेक्षण, इन्जिनियरिङ कार्य, वित्तीय व्यवस्थापन, जग्गा खरिद, पहुँचमार्ग निर्माण गरेपछि गत कात्तिकदेखि ठेकेदार कम्पनी परिचालन गरेको जनाएको छ ।

    रिडी हाइड्रोपावर डेभलप्मेन्ट कम्पनी लिमिटेडको प्रवद्र्धन र रैराङ हाइड्रोपावर डेभलप्मेन्ट कम्पनीद्वारा निर्माणाधीन इवाखोला जलविद्युत् आयोजनामा करिब एक अर्ब ६० करोड रुपैयाँ लगानी हुने अनुमान गरिएको छ ।

    कम्पनीका अनुसार कुल लगानीमध्ये ६५ प्रतिशत बैंकको ऋण र ३५ प्रतिशत कम्पनीको आफ्नै लगानी छ । यस आयोजनामा रिडी हाइड्रोपावर डेभलप्मेन्ट कम्पनीको २५ प्रतिशत, प्रभावित क्षेत्रका बासिन्दाको १० प्रतिशत, मुलुकभरका सर्वसाधारणको १५ प्रतिशत र ५० प्रतिशत सञ्चालक तथा संस्थापक सेयरधनीहरूको स्वामित्व रहेको कम्पनीले जनाएको छ ।

    यो आयोजनाको बाँध इवासिवा दोभानदेखि एक सय ५० मिटर लामो पेनेस्टक पाइपबाट काबेली र इवा दोभानसम्म पुर्‍याएर दाहाल गाउँमा विद्युतगृह निर्माणाधीन छ ।

    स्रोत: कान्तिपुर