‘विश्वकै नमुना’फोहोरबाट ग्यास बनाउने परियोजना

    1430
    •दैनिक १४७ सिलिण्डर उत्पादन
    •वार्षिक ६ करोडबराबरको एलपीजी ग्यास विस्थापन
    • मेरनेन प्रविधि उपयोग गर्ने दक्षिण एसियाकै पहिलो

    नवलपरासीमा एन्भिपावर इनर्जी एण्ड फर्टिलाइजर प्रालिले निर्माण गरेको नेपालकै ठूलो फोहोरबाट ग्यास बनाउने बायोग्यास प्लान्ट विश्वकै नमुना परियोजनाको रूपमा छनोट भएको छ । क्लाइमेट इन्भेस्टमेन्ट फण्ड (सीआईएफ)ले विश्व बैंकमार्फत् गरेको आर्थिक सहायताअन्तर्गतको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (एईपीसी)को अनुदानमा निजी क्षेत्रले निर्माण गरेको बायोग्यास परियोजना विश्वकै उत्कृष्ट नमुना परियोजनाको रूपमा छनोट भएको हो ।
    सीआईएफले विश्वमा लगानी गरेका तीन सय परियोजनामध्ये १० उत्कृष्ट नमुना छनोट गरेको र त्यसमध्ये नेपालको बायोग्यास छनोट भएको सीआईएफकी प्रमुख माफाल्दा डरार्टले जानकारी दिइन् । “सीआईएफले आफ्नो १० औं वार्षिकोत्सवको अवसरमा विश्वका ७२ मुलुकमा सञ्चालन गरेका तीन सय परियोजनामध्ये नेपालको बायोग्यासको परियोजना छनोट गरेका हौ,” नवलपरासीको रामग्रामस्थित बायोमास परियोजना पुगेकी उनले भनिन्, “यो परियोजनामा केही नयाँपन प्रयोग गरिएको देखिएको छ ।” माफाल्दासहित सीआईएफ र एईपीसीका कार्यकारी निर्देशक रामप्रसाद धितालसहितको टोलीले रामग्राम पुगेर बायोग्यास परियोजनाबारे सबै सरोकारवाला निकायसम्म पुगेर अध्ययनसमेत गरेको थियो ।
    चार वर्षअघि निर्माण भएको ३७ सय ५० घनमिटरको बायोग्यास प्लान्ट एक वर्षअघि निर्माण सम्पन्न भएको थियो । सरकारको ५ करोडबराबर अनुदानसहित सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा २२ करोड लगानीमा निर्माण भएको प्लान्टबाट दैनिक १ सय ४७ वटा ग्यास सिलिण्डर अर्थात् एलपीजीबराबर गणना गर्दा १ सय २० सिलिण्डर उत्पादन हुने प्रालिका कार्यकारी निर्देशक अभिरत अग्रवालले जानकारी दिए । उनका अनुसार प्लान्टबाट १ हजार ५ सय केजी मिथेन ग्यास उत्पादन गरी नवलपरासी र भैरहवाका ५१ वटा विभिन्न होटल, उद्योगहरूमा वितरण गरिएको छ । “विश्व बैंकमार्फत् क्लाइमेट चेन्जको अनुदान नपाएको भए बायोग्यास प्लान्ट बनाउन गाह्रो हुन्थ्यो, अहिले निर्माण सम्पन्न भएपछि यस क्षेत्रका ५१ वटा होटेल र उद्योगधन्दामा एलपीजी ग्यास विस्थापन भएको छ,” उनले भने, “पहिलो प्लान्ट निर्माण गरेर उत्पादन र वितरणमा सफल भएका छौं । अब १५ सय घनमिटरको बायोमास निर्माण गर्ने प्रकृयामा छांै ।”
    गाईको गोबर, कुखुराको सुली, चिनी मिलको प्रेस मडलगायत फोहोरबाट उत्पादन हुने ग्यासमध्ये ६० प्रतिशत मिथेन ग्यास र करिब ४० प्रतिशत कार्बनडाईअक्साईड उत्पादन हुने कम्पनीले जनाएको छ । दैनिक ३६ टन कच्चा पदार्थ चाहिने प्लान्टबाट दैनिक १२ टन फोहोर उत्पादन हुने गरेको छ । कोल, फ्यान्टलगायतका उपयोग हुने कार्बनडाईअक्साईड प्लान्टले बिक्री गरिसकेको छैन भने मल बिक्रीका लागि प्रकृया अघि बढाएर हाल कृषि मन्त्रालय हुँदै कृषि अनुसन्धान केन्द्र (नार्क) ले परीक्षण गरिरहेको छ । परीक्षणबाट सफल भएपछि मलसमेत बजारमा पठाउने तयारी कम्पनीको छ ।
    प्लान्टले मात्र वार्षिक रुपमा ४३ हजार ८ सय भारतबाट आयातित एलपीसी ग्यास विस्थापन गरेर ६ करोड २ लाख रुपैयाँबराबर फाइदा पुगेको एईपीसीले जनाएको छ । “रामग्रामको बायोग्यास प्लान्टले ग्यास उत्पादन गरेर यस क्षेत्रका ठूला होटल र उद्योगहरूमा वितरण गरेर नेपालमै उत्कृष्ट काम गरेको छ,” एईपीसीका कार्यकारी निर्देशक रामप्रसाद धितालले भने, “यसले ग्यासमा भएको परनिर्भरतालाई घटाएको छ । यस्तो नमुना परियोजनालाई देशव्यापी रुपमा प्रचार गरेर बायोग्यास प्लान्टलाई विस्तार गर्न सके ग्यास उत्पादन बढाउन र फोहोर व्यवस्थापनमा ठूलो सहयोग पुग्छ ।”
    जर्मन प्रविधिमा आधारित बायोग्यास प्लान्ट निर्माण गरेको परियोजना बायोग्यास शुद्धीकरणका लागि मेरनेन प्रविधि उपयोग गर्ने दक्षिण एसियाकै पहिलो हो । “बायोग्यासलाई शुद्धीकरणका लागि कम्प्रेस नेचुरल ग्यास (सिएमजी) बनाउन प्रयोग गरिएको मेरनेन प्रविधि दक्षिण एसियामै पहिलोपटक यहाँ प्रयोग गरिएको छ।” एईपीसी बायोमास शाखाका प्रमुख प्रकाश अर्यालले भने ।
    परियोजनाको प्लान्ट उपयोग गरेपछि यस क्षेत्रका होटेल र व्यवसायीहरूले एलपीजीको तुलनामा सस्तो रुपमा आफ्नै क्षेत्रमा उत्पादन गरेको ग्यास उपयोग गरेका पाएका छन् । “विगतमा २ सय १३ एलपीजी ग्यास खरिद गरेर मासिक रुपमा मेरो सिमेन्ट उद्योगमा २० हजार खर्च हुन्थ्यो । अहिले यहीको वायोमास प्लान्टबाट आउने मिथेन ग्यास १ सय ५३ प्रयोग गरेर १२ हजार ५ सय मात्र खर्च भईरहेको छ,” नेपाल अम्बुजा सिमेन्टका लगानीकर्ता हेमन्त अग्रवाल भन्छन्, “उद्योगमै सिलिण्डरको सुविधा मात्र पाएका छैनौ, सस्तोमा पनि पनि पाएका छौं । अब नाकाबन्दी हुँदा पनि चिन्ता गर्नुपर्ने अवस्था अन्त्य भएको छ ।”
    एलपीजीको तुलनामा १५ प्रतिशत बढी तापीय क्षमता हुने यो ग्यास ९५ प्रतिशतभन्दा बढी शुद्धीकरण भएकोले एलपीजीमा जस्तो ग्यास खेर जाने सम्भावना शून्य हुन्छ । प्लान्ट उत्पादन क्षेत्रबाट ५० किलोमिटरसम्मको ग्राहकसम्म वितरण सेवा दिने भएकोले ग्यास उपभोक्तालाई समेत धेरै सहज छ ।

    -कारोबार