NepalEnergyForum

जलविद्युत्मा बढ्दो लगानी

कार्तिक २१, २०७६

यसरी लगानी गर्दा मुलुकको आर्थिक विकास हासिल हुनुका साथै देश समृद्धितर्फ अघि बढ्नसमेत टेवा पुग्छ ।

हाम्रो देश नेपाल जलस्रोतको दोस्रो धनी देशका रूपमा संसारभर परिचित हुँदै आइरहेको छ । पहिलो जलस्रोतको धनीका रूपमा ब्राजिल रहेको छ भने दोस्रो नेपाल हो । अटुट रूपले बग्ने यहाँका नदी, ताल, तलैया, खोलालगायत धेरै ससाना नदीहरूले यहाँको प्राकृतिक सौन्दर्यलाई नै मोहित बनाएको छ । बर्खाको समयमा त झन् यी खोला–नदीहरूले निकै ठूलो रुप लिने गर्छ ।

सप्तकोसी (सातवटा नदीको मिलन), त्रिशूली, मस्र्याङ्दी, नरायणी, कर्णाली, तादी, सुनकोसी, तामाकोसी, भोटेकोसी, इन्द्रावतीलगायत धेरै ठूला नदीहरूबाट बर्खाको समयमा अत्यधिक मात्रामा पानीको बहाव उर्लेर आउने गर्छ भने मध्यपहाडी तथा तराईका धेरै ठाउँमा विभिन्न नदीले कटान गरी अत्यधिक डुबानमा परेका धेरै समाचार हामीले सुन्ने गरेका छौं ।

यति धेरै सम्भावना बोकेको हाम्रो देशको जलविद्युत्को अवस्था भने त्यति राम्रो हुन सकेको छैन । अत्यधिक मात्रामा जलविद्युत् उत्पादन हुन नसकेको विभिन्न विश्लेषकहरूको अनुमान छ । लगानी धेरै भए पनि काम समयमा सम्पन्न हुन नसक्दा धेरै लगानीकर्ताको रकम जोखिमपूर्ण हुँदै गएको विभिन्न समाचारमा दिनानुदिन सुन्ने गरेको छांै । तर, अब त्यो असम्भव हुने पक्कै देखिएको छ । किनभने अहिले हाम्रो देशको विद्युत्को कुल उत्पादनको ७५ प्रतिशत जति धेरै लगानीकर्ताले जलविद्युत्मा लगानी गररहेका छन् । यसले गर्दा थप विद्युत् उत्पादनमा टेवा पुग्छ भने उत्पादन भएको विद्युत् भारतमा समेत निर्यात गर्न सकिन्छ । यसले देशको अर्थतन्त्रमा केही सुधार आउने देखिन्छ ।

जति पनि जलविद्युत् उत्पादन क्षेत्रहरू हाम्रो देशभित्र छन्, ती सबै स्रोतसाधनका हिसाबले पनि निकै खर्चिलो तथा उत्पादन गर्न बढी लगानी गर्नुपर्ने देखिन्छ । यसमा पनि देशभित्र रहेका विभिन्न उत्पादक कम्पनीको सहकार्यमा लगानी गरी विद्युत् उत्पादन गर्न सहज हुन्छ भने नेपाल सरकारले पनि यस्ता जलविद्युत् क्षेत्रमा अत्यधिक लगानी गर्ने गर्छ । यसरी लगानी गर्दा मुलुकको आर्थिक विकास हासिल हुनुका साथै देश समृद्धितर्फ अघि बढ्नसमेत टेवा पुग्छ ।

त्यस्तै गरी हाम्रो देशमा प्रशस्त जलविद्युत् उत्पादनको सम्भावना भएकाले पनि विभिन्न दातृ संस्था तथा वैदेशिक लगानी पनि बढी भित्रिएको अवस्था छ । उदाहरणका लागि केही दिनअघि मात्रै माथिल्लो त्रिशूली–१ का लागि जलविद्युत् उत्पादनका लागि चिनियाँको केही कम्पनीले लगानी गर्ने सरोकारसमक्ष सहकार्य गरेको छ । अब त्यस ठाउँमा पनि छिट्टै टेन्डर आह्वान गरी काम धमाधम अगाडि बढ्छ ।

यति मात्रै होइन, अहिले धेरै ठाउँका मानिसहरूको जलविद्युत्मा लगानी गर्ने चाहना बढेको छ । पुँजीबजारमा पनि अत्यधिक मात्रामा सर्वसाधारणले जलविद्युत्मा लगानी गर्छन् भने प्रतिफल पनि राम्रो पाउने गरेको लगानीकर्ताको भनाइ छ ।

यसरी दिन–प्रतिदिन जलविद्युत् क्षेत्रमा सर्वसाधारण तथा ठूला कम्पनीहरूले लगानी गर्नाले धेरै ठाउँमा विद्युत् उत्पादन बढ्छ भने आर्थिक रूपमा पनि सम्पन्न हुन्छ र देशको जलविद्युत् क्षेत्रमा पनि समृद्धि हासिल हुन्छ । त्यसैले पुँजीबजारमा पनि सर्वसाधारणका लागि विभिन्न जलविद्युत् कम्पनीहरूले सेयर निस्कासन गर्छन् । यसरी वर्तमान अवस्थामा धेरै जलविद्युत् क्षेत्रमा लगानी गर्नाले भविष्यमा राम्रै मुनाफा पाउने सर्वसाधारणको भनाइ छ भने अहिले अत्यधिक मात्रामा जलविद्युत्मा लगानी बढेको समेत देखिन्छ ।

गोविन्द चापागाईं

स्रोत: कारोबार