NepalEnergyForum

Bhotekoshi Hydro obstacles removed, reconstruction started

भोटेकोसीको अवरोध हट्यो, आयोजना पुनर्निर्माण सुचारु

सुनकोसी नदीमा आएको बाढी र पहिरोले भोटेकोसी जलविद्युत आयोजनाका प्रशारण लाइनका सात वटा टावर ध्वस्त भएको थियो ।

काठमाडौं/सिन्धुपाल्चोक, पुस १० –  भोटेकोसी जलविद्युत् आयोजनाले सिन्धुपाल्चोकको भीषण पहिरोमा परी ध्वस्त प्रसारण लाइनका सातवटा टावर पुनर्निर्माण बिहीबार सुरु गर्ने भएको छ । भोटेकोसी पावर कम्पनीका अध्यक्ष सिद्धार्थशमशेर राणा पुनर्निर्माण सुरु गराउन बुधबारै सिन्धुपाल्चोक पुगिसकेका छन् ।

प्रधानमन्त्री सुशील कोइरालाको निर्देशनपछि सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालय निर्माणस्थलमा आवश्यक सुरक्षा दिन तयार भएको र सेयर मागेर अवरोध गरिरहेका पाँच दलसमेत केही लचिलो भएपछि भोटेकोसीले बिजुली केन्द्रीय प्रसारण लाइनमा जोड्ने टावर पुनर्निर्माण थाल्ने भएको हो ।

भोटेकोसीले बुधबार काम सुरु गर्न खोजे पनि अवरोध पुर्‍याइरहेका पाँच दलको अनुरोधमा बिहीबारदेखि थालिने भएको आयोजनाका एक अधिकारीले बताए ।

कोइरालाले सिन्धुपाल्चोकका निर्माणाधीन चारसहित पाँच आयोजनामा कांग्रेस, एमाले, एमाओवादी, राप्रपा र माओवादी तथा स्थानीय ‘गुन्डा’ को अवरोध खुलाएर निर्माण सुचारु गर्न अघिल्लो बिहीबार गृह र ऊर्जा मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकलाई निर्देशन दिएका थिए । निर्देशनपछि पनि कोइरालाले दिनदिनै सरोकारवालालाई फोन सम्पर्क गरी काम सुचारु भए/नभएकामा चासो दिइरहेको स्रोतले बतायो ।

पाँच दलको अवरोधले टावर नबन्दा ४५ मेगावाटको भोटेकोसीको बिजुली केन्द्रीय प्रसारणमा जोडिन पाएको छैन । टावर नभएकै कारण भोटेकोसीले पहिरो गएदेखि नै बिजुली उत्पादन बन्द गरेको छ । भोटेकोसीको बिजुली वितरण हुन नपाएकाले दिनहुँ थप एक घन्टा लोडसेडिङ बढेको हो । आयोजनालाई पनि दैनिक करिब ८६ लाख रुपैयाँ घाटा भइरहेको छ । भोटेकोसीले सिन्धुपाल्चोकमा टावर पुनर्निर्माण बिहीबारदेखि सुरु गर्न लागेको जानकारी गराउँदै आवश्यक सुरक्षा व्यवस्था दिन गृह मन्त्रालयलाई बुधबार लिखित अनुरोध गरेको छ ।

‘भोटेकोसीले बिहीबारदेखि टावर पुनर्निर्माण सुरु गर्ने भनेर मन्त्रालयलाई पत्र आएको छ,’ गृहका प्रवक्ता लक्ष्मी ढकालले कान्तिपुरसित भने । उनले सिन्धुपाल्चोक जिल्ला प्रशासनलाई आवश्यक सुरक्षा दिन सर्कुलर जारी गरिसकिएको बताए । अरू अवरुद्ध आयोजनामा समेत सम्बन्धितले सुरक्षा मागेमा स्थानीय प्रशासनले दिने उनले उल्लेख गरे ।

भोटेकोसीले असोज ३ मा पहिरोबाट क्षतिग्रस्त टावर पुनर्निर्माण सुरु गरेको थियो । तर, सत्तारूढ कांग्रेस, एमाले र राप्रपा तथा विपक्षी एमाओवादी र माओवादीले स्थानीयवासीलाई सेयर नदिएसम्म टावर बनाउन नदिने भन्दै अवरोध गरेपछि निर्माण अवरुद्ध भएको हो । कांग्रेसले आयोजनामा स्थानीयवासीलाई १० र अरू चार दलले ३५ प्रतिशत सेयर दिनुपर्ने माग राख्दै आएका छन् ।

प्रधानमन्त्रीको निर्देशनपछि स्थानीय प्रशासन सुरक्षा दिन तयार भएपछि सिन्धुपाल्चोकका पाँच दलका नेता तथा कार्यकर्ता भोटेकोसीसितको वार्तामा केही लचिलो भएका छन । वार्ताका क्रममा चार दलले आफ्नो माग घटाएर स्थानीयवासीलाई ३५ को सट्टा ११ प्रतिशत सेयर दिनुपर्ने अडान राखेका छन् । आयोजना भने स्थानीयवासीलाई ५.५ प्रतिशतसम्म सेयर दिन तयार भएको छ । आयोजना यसअघि ५ प्रतिशतमात्र सेयर दिने अडानमा थियो । आयोजनाका अधिकारी र पाँच दलका स्थानीय प्रतिनिधि सेयर विवादमा सहमति नजिक पुगेको र बुधबार बेलुका पनि वार्ता जारी रहेको जानकारी स्रोतले दियो ।

स्रोत: कान्तिपुर