भारतबाट हाल १ सय १२ मेगावाट विद्युत् आयात हुँदै आएको छ । ‘भारतले नेपालबाट पुरानो भुक्तानी लिन बाँकी भएकाले पनि विद्युत् उपलब्ध गराउन तयार भएको हो,’ प्राधिकरणका एक उच्च अधिकारीले भने । कटैया–दुहबीबाट ३० मेगावाट र रक्सौल–परवानीपुरबाट १० मेगावाट विद्युत् आयात गर्ने तयारी गरिएको हो । ‘लोडशेडिङ न्यूनीकरणका लागि सबै उपाय अवलम्बन गर्न मन्त्रालय तयार छ,’ लाकौलले भने । अहिले भइरहेको प्रसारण लाइन मर्मतबाट नै थप विद्युत् आयात गर्न सकिने प्राधिकरणले बताएको छ ।
ऊर्जा मन्त्रालयले लोडशेडिङ घटाउन तत्कालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना बनाएको छ । सोही कार्ययोजनाअनुरूप प्राधिकरणले तत्कालका लागि भारतबाट विद्युत् आयात गर्न कटैयादेखि कुसाहासम्मको १५ किलोमिटर प्रसारण लाइनको निर्माण गर्ने विषयलाई पनि प्रमुखताका साथ अगाडि सारेको छ । भारत सरकारले प्रसारण लाइन निर्माणका लागि सहयोग गर्ने वचन दिएको ऊर्जा मन्त्रालयले बताएको छ । सो प्रसारण लाइन निर्माण गर्नका लागि २९ करोड रुपैयाँ लाग्ने अनुमान छ । प्रसारणलाइन निर्माण गर्न कम्तीमा ६ महीना लाग्ने मन्त्रालयले जानकारी दियो । मन्त्रालयका अनुसार प्रसारण लाइन निर्माणपछि ७५ मेगावाट विद्युत् आयात गर्न सकिन्छ ।