आयोजनाको रिजर्भ ट्याङ्कीमा सञ्चित पानीबाट बिहान र बेलुकीको केही समय मात्र पूरै क्षमतामा विद्युत् उत्पादन हुन सकेको केन्द्र प्रमुख रामकुमार यादवले बताए। उनले मुलुकको विद्युत् भार कटौतीलाई मध्यनजर राखेर अहिले आवश्यकताअनुसार बिहान र बेलुकीको समयबाहेक अरु समयमा ५० देखि ६० मेगावाटसम्म विद्युत् उत्पादन भइरहेको बताए।
नदीमा पानीको बहाव कम हुँदै गएकाले विद्युत् उत्पादन फेरि घट्ने जानकारी पनि उनले दिए।
आयोजनामा जडित ३५/३५ मेगावाट क्षमताका दुई वटा टर्वाइनबाट विद्युत् उत्पादन भइरहेको छ। अहिले दिन र रातभरि पानीलाई सञ्चित गरी बिहान र बेलुकी साविकको क्षमतामा विद्युत् उत्पादन गर्ने गरिएको छ।
विसं २०६५ मङ्सिरमा सम्पन्न भएको मध्यमर्स्याङदी जलविद्युत् आयोजना जर्मन दातृ निकाय केएफडब्ल्यूको ८० तथा नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको २० प्रतिशत गरी करिब रु ३० अर्बको लागतमा निर्माण भएको हो।
प्रस्तुति: रासस