प्राधिकरणका पूर्व निर्देशक तथा दिव्येश्वरी हाइड्रोपावर कम्पनीका अध्यक्ष मोहनकृष्ण उप्रेतीले आयोजनाको काम दु्रतगतिमा अगाडि बढेको बताए । कम्पनीका अनुसार आयोजना निर्माणका लागि शेर्पा कन्ष्ट्रक्शनलाई छनोट गरिएको छ । आयोजना २०७१ सालभित्र निर्माण गरिसक्ने लक्ष्य लिइएको छ । ‘कुनै ठूलो व्यवधान नआएमा आयोजनाको निर्माण कार्य २ वर्षमा सकिनेछ,’ उनले भने । आयोजना सङ्खुवासभा जिल्लामा रहेको छ । स्वदेशी लगानीमा निर्माण गरिएको आयोजनाको कुल लागत रू. ६२ करोड अनुमान गरिएको छ । कम्पनीले स्थानीय बासिन्दालाई पनि सहभागी गराएर आयोजना निर्माण गर्ने बताएको छ ।
आयोजना निर्माणका लागि लगानीकर्ताबाट प्रतिव्यक्ति १० लाखदेखि १ करोड रुपैयाँसम्म उठाइएको उप्रेतीले बताए । उनका अनुसार आयोजना निर्माणका लागि चाहिने सबै प्राविधिक जनशक्ति कम्पनीसँग छ । आयोजनाको कुल लागतमध्ये ७० प्रतिशत बैङ्कबाट ऋण लिन लागिएको पनि उनले जानकारी दिए । बाँकी ३० प्रतिशत भने संस्थापक सदस्यबाट लगानी गरिने बताइएको छ ।
आयोजनाबाट उत्पादित विद्युत् १२ किलोमिटरको दूरीमा रहेको तितेरी सबस्टेशनमा जोडिने छ । जलविद्युत् आयोजना निर्माण गर्न सक्ने अनुभवी जनशक्ति कम्पनीसँग रहेको आयोजनाका एक संस्थापक सदस्यले बताए । उनले भने, ‘हामीले गरेको कामको अनुसरण अरू समूहले पनि गर्नेछन् ।’ आयोजनाको निर्माण पूरा भएपछि नियमित आम्दानी हुने भएकाले पनि लगानी गर्नेको सङ्ख्या बढ्दै गएको स्रोतको भनाइ छ ।
सो इञ्जिनीयर समूहले विनी हाइड्रोपावरले निर्माण गर्न लागेको १८ मेगावाट क्षमताको माथिल्लो सोलुमा पनि ५० प्रतिशत लगानी गर्दै छ । साथै समूहले कलेज, कृषिलगायतका क्षेत्रमा पनि लगानी गर्ने योजना रहेको बताइएको छ । समूहमा प्राधिकरणका पूर्वकर्मचारी भोजराज रेग्मी, युगलकिशोर शाह, केशव उपाध्यय, रामचन्द्र मण्डललगायतका व्यक्ति छन् ।
प्रस्तुति: अभियान