उद्योग संगठन मोरङका ऊर्जा संयोजक राकेश सुरानाका अनुसार मंगलबारसम्ममा नेपालतर्फको काम सम्पन्न हुने भए पनि भारतीय भन्सारको अवरोधका कारण भारततर्फको काम गर्न सक्ने अवस्था छैन । नेपाल सरकारले भारततर्फको प्रशारणलाइन मर्मत गर्न भारत सरकारको अनुमति नलिएका कारण भारतीय भन्सारले क्षमता विस्तारको काममा अबरोध गरेको सुरानाले बताए । उनले भने, ‘नेपाल सरकारकै लापरवाहीले क्षमता विस्तारमा भारतले अबरोध गरेको हो ।’ प्रशारणलाइन विस्तार गर्न थाले पनि नेपाल सरकारले अझै भारतसँग थप विद्युत आयातको सम्झौता पनि नगरेको सुरानाले जानकारी दिए । पूर्वमा कटैया १३२ केभीए प्रशारणलाइनबाट ८० मेघावाट विद्युत आयात भइरहेको थियो । सो लाइनको क्षमता वृद्धि गरी थप एक सय २० मेगावाट विद्युत ल्याउने प्राधिकरणको योजना भारतीय अबरोधका कारण अन्योलमा परेको छ ।
मंगलबारसम्म नेपालतर्फको १३ किलोमिटर मर्मत सम्पन्न हुने भए पनि भारततर्फको तीन किलोमिटर काममा अबरोध आएको क्षमता विस्तार परियोजनाका इन्जिनियर अवधेश दुवेले जानकारी दिए । उनले भने, ‘भारत सरकारले विद्युत तार तथा औजारमा भन्सार महसुल बुझाउनुपर्ने बखेडा भिकेपछि क्षमता विस्तारमा अबरोध भएको छ ।’ उनले भारततर्फको क्षमता विस्तारमा अबरोध भएकाले तत्कालै परराष्ट्र मन्त्रालयमार्फत समस्या सुल्झाउन नेपाल सरकारलाई आग्रह गरेका छन् । हाल कटैया प्रशारणलाइन मर्मतका कारण विद्युत आपूर्ति बन्द हु”दा पूर्वाञ्चलको जनजीवन अस्तव्यस्त बनेको छ । लोडसेडिङका कारण १० दिनदेखि पूर्वका केही उद्योग बन्द छन् भने अधिकांश उद्योगले उत्पादन कटौती गरेको उद्योग संगठन मोरङले जनाएको छ ।
Source : Nagarik News