NepalEnergyForum

माथिल्लो खुदीको सार्वजनिक सुनुवाइ

लमजुङ, ७ असोज – उत्तरी लमजुङको खुदी खोलामा निर्माण गर्न लागिएको २६ मेगावाट क्षमताको माथिल्लो खुदीे खोला जलविद्युत् आयोजनाको स्थानीय पर्यावरणमा पर्ने नकारात्मक तथा सकारात्मक प्रभावका बारेमा सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ ।

Kudhi Khola

आयोजनाको सम्पूर्ण संरचनाहरू घनपोखरा गाविस वडा नम्बर ८ मा पर्ने तथा आयोजनाले मुख्यतया घनपोखरा र खुदी गाविस बढी प्रभावित हुने हुँदा यी गाविसलाई आयोजना प्रभावित क्षेत्रका रूपमा लिएको सार्वजनिक सुनुवाइमा बताइएको छ ।
आयोजनाबाट वार्षिक कुल १३९.२१ गिगावाट आवर विद्युत् उत्पादन हुने आयोजनाका प्रवद्र्धक ज्ञानेन्द्रलाल प्रधानले बताए । आयोजना करिब साँँढे ४ अर्ब रुपैयाँको लागतमा बन्ने अनुमान गरिएको प्रवद्र्धक प्रधानले बताए ।
सार्वजनिक सुनुवाइका क्रममा प्रभावित क्षेत्र खुदी र घनपोखराका बासिन्दाले आयोजना सुरु भएपछि स्थानीय बासिन्दाका लागि रोजगार, १० प्रतिशत सेयर, खुदी घनपोखरा जोड्ने सडक कालोपत्रे र जुन ठाउँमा आयोजनास्थलको उचित मुआब्जा पाउनुपर्ने माग राखेका थिए । आयोजनाले स्थानीय माध्यमिक विद्यालयमा आवश्यक २ जना शिक्षक र छात्रावासको निर्माण गरीदिनुपर्ने स्थानीयले बताएका छन् ।
कार्यक्रममा जिल्लास्तरका राजनैतिक दल, सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधि र स्थानीयबासीको सहभागिता रहेको थियो । स्थानीयवासीले परियोजनामा स्थानीयवासीको सेयर, अग्राधिकार, रोजगारको ग्यारेन्टी र हकहितको पक्षमा हुनुपर्नेमा जोड दिएका थिए । निर्माणका क्रममा कुनै पनि अवरोध नभए चार वर्षभित्रमा आयोजनाका सम्पन्न हुने बताइएको छ ।
रन अफ द रिभर प्रणलीमा निर्माण हुन लागेको योे आयोजना घनपोखरा गाविसको वडा नं. ८ र खुदी गाविसको वडा नं ५ को बीचमा बाँध बाँधी खुदी खोलाको पानीलाई दायाँतर्फ फर्काएर भूमिगत थिग्य्राउने पोखरीमा पु¥याइनेछ । करिब ६.१५ घनमिटर प्रतिसेकेन्ड पानीको बहावलाई घनपोखरा गाविसमा निर्माण गरिने विद्युत्गृहमा लगेर खसालिने आयोजनाले जनाएको छ ।
वातावरणीय प्रभाव मूल्यांकनको जिम्मा पाएको हाइड्रो सोलुसनका अनुसार पानीको बहावमा आधारीत यो आयोजनाको कुल ग्रस हेड ५३१.८६ मिटर रहने बताइएको छ । यस आयोजनाको सञ्चालन निर्माणका लागि सम्भाव्य ठानिएका ठाउँहरूमध्ये हेडवक्र्सका लागि पाल्चे दोभान, सर्ज टैंकका लागि धारापानी र विद्युत्गृहको टेलरेसबाट निस्केको पानी पुनः खुदी खोलामा छाडिने जनाइएकको छ ।

प्रस्तुति: कारोबार