NepalEnergyForum

घुन्सा र सिम्बुवा जलविद्युतमा जापानको टेप्कोले गर्यो लगानीको प्रस्ताव, २४ अर्ब लाग्ने

काठमाडौं । सरकार स्वामित्वको रेमिट हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको १५१ मेगावाटको घुन्सा र सिम्बुवा जलविद्युत आयोजनामा एक जापानी कम्पनीले लगानीको प्रस्ताव गरेको छ । जापान सरकार स्वामित्वको टेकियो इलेक्ट्रिक पावर कम्पनी लिमिटेड (टेप्को) ले दुई आयोजनामा लगानीको प्रस्ताव गरेको हो । टेप्कोले जापानमा आणविक ऊर्जा आयोजनाको निर्माण गरेको छ ।

दुई आयोजनामा सेयर लगानी गर्न तयार रहेको टेप्कोले जानकारी दिएको जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) छविराज पोखरेलले बताए । आयोजना आकर्षक भएकाले उसले लगानी गर्नका लागि चासो देखाएको छ ।

ताप्लेजुङ जिल्लामा रहेको घुन्सा ७१.५ सिम्बुवा ८० मेगावाट जडित क्षमता छ । टेप्कोले अमेरिकी डलरमा विद्युत खरिद सम्झौता (पीपीए) नचाहिने प्रस्तावमा उल्लेख गरेको छ । डलर पीपीए नचाहिने भएपछि छलफल प्रक्रिया अघि बढाउन लागेको उनले सुनाए ।

४९ प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक, २५ प्रतिशत कम्पनी र बाँकी २६ प्रतिशत टेप्कोलाई स्वामित्व दिन सकिने उनले स्पष्टपारे । “टेप्कोले लगानी गरेपनि अधिकाँश स्वामित्व नेपालीको हुने छ” उनले भने । वैदेशिक रोजगारीमा जाने नेपालीले पठाउने रेमिट्यान्सलाई यी दुई आयोजनामा लगानी गर्ने तयारी कम्पनीको छ ।

यस विषयमा जापान अन्तराष्ट्रिय सहयोग नियोगसंग (जाइका) पनि छलफल हुने पोखरेलले बताए । काम सुरु गरेको ३ वर्षमा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । घुन्सा र सिम्बुवा आयोजना बनाउन २४ अर्ब रुपैयाँ लाग्ने देखिएको छ । प्रारम्भीक अध्ययनअनुसार प्रतिमेगावाट १६ करोड रुपैयाँ पर्ने देखिएको यसलाई अझ घटाएर १५ करोडमा झार्ने विषयमा छलफल भइरहेको उनको भनाई छ ।

यो वर्ष आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार हुने र अर्को वर्ष नेपाल विद्युत प्राधिकरणसंग पीपीए र लगानी जुटाएर निर्माण थाल्ने योजना रहेको पोखरेलले जानकारी दिए । हाल परामर्शदाताले डीपीआरको काम गरिरहेको छ । आयोजनास्थलसम्म पुग्न ५० किलोमिटर लामो सडक बनाउनु पर्ने छ । सडक निर्माणका लागि अर्थ मन्त्रालयले ५६ करोड रुपैयाँ बजेट उपलब्ध गराइसकेको छ ।

सो करिडोरमा ७०० मेगावाट बिजुली उत्पादन हुने संभाव्यता अध्ययनले देखाएको छ । अर्थले ५६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यो सडक घुन्सा र सिम्बुवालाई मात्र हैन अन्य आयोजनालाई पनि हो । यस्तै वैदेशिक रोजगारीमा गएका नेपालीलाई आयोजनामा लगानी गर्न सफटवेयर सिस्टम बनाउने पोखरेलले बताए । “जहाँबाट पनि पैसा हाल्न सक्ने र हेर्न सक्ने व्यवस्था गरिदिने छौं” उनले भने “सेयरमा लगानी नहुन्जेल पार्किङ लटमा सो रकम बस्ने छ । सेयरमा परिणत नहुन्जेल लगानीकर्ताले ब्याज पाउनु हुनेछ ।