NepalEnergyForum

सम्झौता तोड्ने थ्री गर्जेजको धम्की

पश्चिम सेतीको ट्यारिफ रेट पुनरावलोकन नगरे

पश्चिम सेती जलविद्युत् आयोजना निर्माणको जिम्मा लिएको थ्री गर्जेज कर्पोरेसनले विद्युत् खरिद सम्झौता (पिपिए) दरको ‘ट्यारिफ रेट’मा पुनरावलोकन नगरे सम्झौता तोड्नेसम्मको धम्की दिएको छ । बहुप्रतीक्षित ७५० मेगावाटको जलाशययुक्त पश्चिम सेती आयोजना निर्माण गर्न नेपाल विद्युत् प्राधिकरणसँग संयुक्त लगानी सम्झौता (जेभिए) गरेको चिनियाँ कम्पनी चाइना थ्री गर्जेज कर्पोरेसन (सिटिजिसी)ले सोहीकारण काममा समेत ढिलासुस्ती गर्दै बसेको छ ।

दुई साताअघि थ्री गर्जेजले विद्युत् खरिद दरमा पुनरावलोकन गर्नुपर्ने थ्री गर्जेजको प्रस्तावलाई नेपाल विद्युत् प्राधिकरणले अस्वीकार गरेपछि कम्पनीले लगानी बोर्डमार्फत पिपिए दरमा पुनरावलोकन गर्न दबाब दिएको हो । आयोजनाको लागतअनुसार प्रतिफल प्राप्त गर्न कठीन रहेको भन्दै थ्री गर्जेजले लगानी बोर्डमार्फत आयोजनाबाट हात झिक्न सक्नेसम्मको धम्की दिएको हो ।

यसअघि कात्तिक ३० गते कम्पनीले नेपाल विद्युत् प्राधिकरणसँग मिलेर आयोजना निर्माण गर्न संयुक्त लगानी सम्झौतामा हस्ताक्षर गरेको थियो । ‘उनीहरूको पहिलो माग नै विद्युत् खरिदको गाइडलाइनलाई पुनरावलोकन गरेर नयाँ पिपिए दर तोकिनुपर्ने थियो,’ प्राधिकरणका एक उच्च अधिकृतले भने ‘हामीले गाइडलाइनअनुसार काम गर्ने र त्योभन्दा तलमाथि गर्न नसक्ने भनेपछि कम्पनीले निहुँ खोजिरहेको छ ।’

थ्री गर्जेजले विद्युत् खरिदको गाइडलाइनअनुसार आयोजना निर्माण गर्दा नाफा नहुने भन्दै लगानी बोर्डमार्फत कुराकानि अगाडि बढाएको हो । तर, प्राधिकरणले भने थ्री गर्जेजलाई लगानीका हिसाबले आयोजना फिजिबल रहेको र पिपिए दरमा कुनै परिवर्तन नहुने जवाफ दिएको थियो ।

थ्री गर्जेजले आधिकारिक पत्र नपठाई इमेलमार्फत लागनी बोर्डलाई पिपिएदरको ट्यारिफ रेट परिवर्तनका लागि पहल गरिदिन भनेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए । ‘जेभिएमा उल्लेख भएअनुसार आयोजनामा लगानी गर्न चुनौतीपूर्ण रहेको तथा प्राविधिक र आर्थिक हिसाबले समेत लगानीयोग्य नदेखिएको भन्दै आयोजना फिजिबल बनाउन कम्पनीले भनेको छ,’ अधिकारीले भने ।

यता लगानी बोर्डले भने विद्युत् प्राधिकरण र थ्री गर्जेजलाई तत्काल उत्पादन कम्पनी फर्मेसनमार्फत आयोजना अगाडि बढाउने ताकेता गरिरहेको छ । प्राधिकरण र थ्री गर्जेजबीच भएको सम्झौताअनुसार पश्चिम सेती निर्माणका लागि बेस्ट सेती हाइड्रोपावर डेभलपेन्ट कम्पनी खोल्ने सहमति भएको थियो ।

तर, संयुक्त लगानी सम्झौता भएको दुई महिना बित्न लाग्दा पनि कुनै चासो नदेखिएपछि उत्पादन कम्पनी स्थापनाका लागि दबाब दिइएको अधिकारीले बताए । सम्झौताअनुसार कम्पनीको सञ्चालक समितिमा ५ जना रहनेछन् । तीनजना चाइना थ्री गर्जेजबाट, एकजना प्राधिकरणबाट र एकजना दुवै पक्षको सहमतिमा छनोट गरिएका स्वतन्त्र व्यक्ति रहनेछन् ।

ऊर्जा मन्त्रालयले बनाएको जलाशययुक्त आयोजनाबाट प्राधिकरणले किन्ने विद्युत् खरिददरअनुसार पश्चिम सेती जलविद्युत्बाट हिउँदको ६ महिनामा १२ रुपैयाँ ४० पैसा प्रतियुनिट र वर्षाको सिजनको ६ महिनामा ७ रुपैयाँ १० पैसा प्रतियुनिटमा खरिद गर्नेछ । यसअघि फेब्रुअरी २०१२ मा उक्त कम्पनीसँग पश्चिम सेती निर्माणसम्बन्धी प्रारम्भिक लागानी सम्झौता भएको थियो ।

कम्पनीको प्राविधिक टोलीले आयोजना स्थलको भौगर्भिक अध्ययन गरिसकेको छ । सुदूरपश्चिमका डोटी, बैतडी, बझाङ र डडेल्धुरा पुगेर टोलीले अध्ययन गरेको थियो । सम्झौताअनुसार थ्री गर्जेजले आफ्नो हिस्साको ६५ प्रतिशत इक्विटी सेयरमध्ये १४ प्रतिशत सेयर नेपाली लगानीकर्तालाई बेच्न पाउने व्यवस्था गरेको छ । बाँकीमध्ये २५ प्रतिशत प्राधिकरणको र १० प्रतिशत स्थानीयवासीको इक्विटी सेयर हुनेछ ।

जेभिएअनुसार आयोजना अध्ययनका क्रममा अहिलेसम्म भएको खर्चलाई कम्पनी स्थापनापछि आयोजनाको लगातमा पुँजीकरण गर्नुपर्नेछ । जसका लागि राष्ट्र बैंकले बाटो खोलिसकेको छ । केही समय अघि निर्देशिका जारी गर्दै विदेशमा खर्च गरेको रकम नेपालको कम्पनीमा पुँजीकरण गर्न सकिने बाटो खोलिदिएको हो ।

नीतिगत व्यवस्था भइसकेपछि थ्री गर्जेजले अध्ययनका क्रममा चीनमा गरेको खर्च स्विकृति दिन लगानी बोर्डले राष्ट्र बैंकलाई पत्राचार गरिसकेको छ । तर, यसमा अहिलेसम्म कुनै निर्णय भएको छैन ।

जेभिएमा प्राधिकरणले लगानी गर्ने २५ प्रतिशत रकम जुटाउन नसकेमा चिनियाँ एक्जिम बैंकबाट सहुलितपूर्ण ब्याजदरमा ऋण लिन थ्री गर्जेजले सहयोग गर्ने पनि सम्झौता भएको थियो । बुट मोडलमा निर्माण हुने यो आयोजनाको लागत एक खर्ब ६० अर्ब रुपैयाँ अनुमान गरिएको छ । आयोजनाबाट वार्षिक ३ अर्ब ३३ करोड युनिट बिजुली उत्पादन हुने सम्भाव्यता अध्ययनले देखाएको छ ।

स्रोत:नयाँपत्रीका