NepalEnergyForum

माथिल्लो तामाकोसीको सुरुङ ५ हजार मिटर सम्पन्न

दोलखा, १५ भदौ – माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सुरुङको प्रगति ५ हजार मिटर पुगेको छ । आयोजनाको सिभिल निर्माणअन्तर्गत सुरुङको काम शनिबारसम्म ५ हजार ४ मिटर भएको हो ।

Access Tunnel Under-construction (Photo: http://tamakoshihydro.org.np)

आयोजनाका लागि सबै किसिमका गरी साढे १६ किलोमिटर सुरुङ निर्माण गर्नुपर्छ । टेलरेस सुरुङ ६ सय ८० मिटर, हेडरेस ५ सय ८० मिटर र पेनस्टक अडिट ६ सय ४० मिटर पूरा भएको छ । यसअघि भैंसेमा ३ सय ३४ मिटरको अडिट सुरुङ र १ सय ६७ मिटर टेलरेस अडिट सुरुङ निर्माण गरिएको थियो । पावस हाउस जानका लागि ११ सय ९० मिटर लामो मुख्य अडिट सुरुङसहित २ हजार ६ सय मिटर सुरुङ निर्माण गरिएको छ ।

आयोजनाको चार अडिटबाट सुरुङ निर्माणको काम भइरहेको छ । आयोजनाका साइड प्रतिनिधि विमल गुरुङले अहिले दैनिक औसत २० मिटर सुरुङ निर्माणकार्य भैरहेको बताए । पावर हाउस जाने सुरुङबाट भित्र ५ ठाउँबाट एक साथ सुरुङको काम भइरहेको छ । पावर हाउस र ट्रान्सफर्मर क्याबिन खन्ने काम भइरहेको छ ।  आयोजनाको काममा कुनै पनि बाधा नपरोस् भनेर चौबीसै घण्टा काम गरिरहेको आयोजनाका उपप्रबन्धक विष्णुबहादुर थापाले जानकारी दिए ।
चालू आर्थिक वर्षको अन्तसम्म १० किलोमिटर सुरुङ निर्माण गर्ने लक्ष्य रहेको गुरुङले बताए । आयोजना सुरु हुनुअघि नै नेपाली कम्पनी हिमाल हाइड्रो कर्पोरेसनमार्फत ७ सय ६० मिटर सुरुङ निर्माण भएको थियो । आयोजनाको सिभिल निर्माणको ठेक्का सम्झौता भएको दुई वर्ष पूरा भए पनि सिनो हाइड्रोले गत कात्तिक दोस्रो साताबाट सुरुङ निर्माणको काम सुरु गरेको थियो ।
यस वर्ष ६ किलोमिटर सुरुङ निर्माण गर्ने आयोजनाले लक्ष राखेकोमा ३ किलोमिटर पूरा भएको छ ।
दोलखा सिंगटी सडक कुनै पनि कारणले बन्द नहोस् भनी मजदुर र निर्माण सामग्री तयारी अवस्थामा राखिएका छन् । सडक मर्मतको काम समेत निरन्तर रूपमा चलिरहेको गुरुङले जानकारी दिए ।
स्वदेशी लगानीमा निर्माणाधीन ४ सय ५६ मेगावाटको देशकै अहिलेसम्मको सबैभन्दा ठूलो जलविद्युत् आयोजना माथिल्लो तामाकोसीको सिभिल निर्माणको काम चिनीया कम्पनी सिनो हाइड्रो कर्पोरेसनले गरिरहेको छ । आयोजनाको भौतिक निर्माणतर्फ  ३६ प्रतिशतभन्दा बढी प्रगति भएको छ । आयोजनाको हालसम्म ९ अर्ब खर्च भएको वित्त प्रमुख जितेन्द्र धितालले जानकारी दिए । सिभिल निर्माण कम्पनीलाई हालसम्म दिएको भुक्तानी, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल लटको पेस्की भुक्तानीमा रकम खर्च भएको छ । लट ४ अन्तर्गत प्रसारण लाइनको प्रारम्भिक चरणको निर्माण कम्पनी समेत छनोट गरिसकेको छ । ३५ अर्ब २९ करोडको लागतमा निर्माण हुने आयोजना सन् २०१५ को अन्तसम्म पूरा गर्ने लक्ष्य लिएको छ ।

प्रस्तुति: कारोबार