NepalEnergyForum

सुपर दोर्दी ‘ख’ पीपीएको बार्गेनिङमा

लमजुङ ३० असोज – पूर्वी लमजुङको ढोडेनी र फलेनी गाउँ विकास समितिमा निर्माणको तयारीमा रहेको ४९.६ मेगावाट क्षमताको सुपर दोर्दी ‘ख’ जलविद्युत् आयोजनाले विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) मा दर बढाउन बार्गेनिङ गरिरहेको छ ।
सरकारसँग पीपीए दरमा कुरा नमिल्दा समयमा सम्झौता हुन ढिलाइ भइरहेको निर्माण कम्पनी पिपुल्स हाइड्रोपावर कम्पनीले जनाएको छ । सरकारले सुख्खायाममा ८ रुपैयाँ ४० पैसा र बर्षायाममा ४ रुपैयाँ ८० पैसा दिनेगरि पीपीए दर निर्धारण गरेको छ । प्राधिकरणको यी दुई दररेटबाट हुन आउने न्यूनतम दर ५ रुपैयाँ ३७ पैसा भए पनि निर्माण कम्पनीले आयोजनाको पीपीए ५ रुपैयाँ ७२ पैसा दाबी गरेपछि पीपीएमा ढिलाइ भएको निर्माण कम्पनी पिपुल्स हाइड्रोपावर कम्पनीका प्रबन्ध सञ्चालक केशरबहादुर रायमाझीले कारोबारलाई बताए ।
आयोजनाको पीपीए आगामी चैत मसान्तभित्र सक्ने र आयोजनको अन्य काम सुरु गर्ने योजना कम्पनीको छ । रायमाझीले चैत मसान्तसम्म पीपीए, २०७० सालको असारमा जेनेरेसन लाइसेन्स र ७० सालको चैतसम्ममा डीपीआर तयार पारिने बताएका छन् । आयोजनाको निर्माण प्रक्रिया सुरु भएको तीन वर्षमा विद्युत् उत्पादनको लक्ष्य लिइएको बताइएको छ ।
आयोजनाले २०७० सालको मंसिरदेखि टेस्ट टनेल निर्माण गर्ने र २०७१ को कात्तिकदेखि टनेल खन्ने काम सुरु गर्ने बताएको छ । २०७४ सालको भदौमा सम्पन्न हुने गरी आगामी पुसदेखि बाँधस्थल, विद्युत्गृहलगायतका स्थानसम्म पुग्ने सडक निर्माण, जग्गा खरिदलगायतका काम थालिने आयोजनाका अर्का सञ्चालक अर्जुनप्रसाद गौतमले बताए ।
दोर्दी खोलाको पानीलाई प्रोमु खोलानजिकै बाँध बाँधेर झन्डै ४ हजार ८ सय मिटर लामो सुरुङमार्फत लोदो र दोर्दी खोलाको दोभानमा विद्युत्गृह निर्माण गरिने जनाइएको छ । आयोजनाले दोर्दी र प्रुमु दुवै खोलाको पानी प्रयोग गरिने बताइएको छ ।
पानीको बहावमा आधारित यो आयोजनाको कुल ग्रस हेड ६ सय १ दशमलव ४२ मिटर रहनेछ भने आयोजनबाट वार्षिक २८ करोड ९४ लाख ६५ हजार युनिट विद्युत् उत्पादन हुनेछ ।
झन्डै ७ अर्बको स्वदेशी लगानीमा निर्माण गरीन लागेको यो आयोजना नेपालमा निर्माण भएका र हुन लागेका आयोजनाभन्दा निकै फरक भएकाले आयोजनाले विद्युत् उत्पादनपश्चात् दिने प्रतिफल सोचेअनुरूपको हुने रायमाझीले बताए । आयोजनाले लमजुङका स्थानीय बासिन्दा, पेसाकर्मी, उद्योगीलाई निडरका साथ लगानी गर्नसमेत आग्रह गरेको छ । आयोजनाले जिल्लावासीका लागि कुल लगानीको १० प्रतिशत अर्थात् २४ करोड रुपैयाँ लगानी गर्न दिने भएको छ । बाँकी लगानी विभिन्न क्षेत्रबाट जुटाइने आयोजनाले जानकारी दिएको छ ।
आयोजनाका संचालक अर्जुनप्रसाद गौतमले आयोजनाले निर्माणकार्य सुरु गर्नुभन्दा पहिले उदिपुरदेखि छोटेखोलासम्मको झन्डै २० किलोमिटर सडकको स्तरोन्नति गर्ने, छोटेखोलादेखि विद्युत्गृह रहने स्थानसम्मको ३.५ किलोमिटर सडक निर्माण गरीने बताए । चिति र नौथर गाविस जोड्ने गरी निर्माण गर्न लागिएको मोटरेबल पुल बनेपछि आयोजना निर्माणमा थप सहजता आउने संचालकहरूले बताएका छन् ।
आयोजनामा निर्माण कम्पनी पिपुल्स हाइड्रोपावरको ६० प्रतिशत, मर्चेन्ट इन्भेस्टमेन्ट कम्पनीको ३० प्रतिशत र स्थानीयवासी एवं जिल्लावासीको १० प्रतिशत सेयर रहनेछ ।

प्रस्तुति: कारोबार