NepalEnergyForum

१२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत आयोजना बनाउन स्पार्कले पायो अनुमति

ताप्लेजुङमा अहिले सम्मकै ठूलो क्षमताको तमोर–मेवा जलविद्युत आयोेजना बनाउन स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीले अनुमति पाएको छ।

लामो समय देखि बैधता र प्रक्रियागत लडाइ खेपीरहेको स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीले नेपाल सरकार जलस्रोत तथा सिंचाई मन्त्रालयबाट विद्युत उत्पादन अनुमतिपत्र पाएपछि अब १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत आयोेजना बन्ने स्थिति देखिएको छ।मेवाखोलाको पानीसमेत तमोर नदीमा मिसाएर बनाइने तमोर–मेवा जलविद्युत आयोेजनाको काम २०७८ को असोजबाटै सुरु गर्ने निर्माण सुरु गर्ने उत्पादन प्रवद्र्धक भानेन्द्रकुमार लिम्बूले जानकारी दिए।उनका अनुसार काम सुरु गरेको ५ वर्षभित्र विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको छ।

उनले स्थानीय लगानीकर्तालाई लगानीका लागि आवहनसमेत गरेका छन्।लगानीमा सहभागी हुना चाहनेहरुले बिस्तृत बिवरण बुझ्न वा प्रश्न र जिज्ञासा राख्न  bhanendra@sparkhydro.com info@sparkhydro.com मा   इमेल सम्पर्क गर्नुपर्ने लिम्बूले जानकारी दिए।उनी आफैंले लामो उतार बढाव पछि सरकारले स्पार्कलाइ बिद्युत उत्पादन अनुमति पत्र दिएको भन्दै अबको ध्ययान निर्माणतर्फ केन्द्रित हुने बताए।मेवा र तमोर नदीको पानी उपयोग गरी निर्माण गर्न लागिएको आयोजनाका लागि कुल २२ अर्ब लगानी हुने जनाइएको छ।

करिव ९ किलोमिटर दूरी बराबरको सुरुङ मार्गमार्फत उक्त विद्युत क्षमता उत्पादन गर्न लागिएको हो।फुङ्लिङ नगरपालिका वडा नं. १, २, ३ र ९, मिक्वाखोला गाउँपालिका वडा नं. १, २ र ३ (साविक खोक्लिङ र लिबाङ गाविस) मेरिङ्देन वडा नं. ३ र ४ (साविक खाम्लुङ र लिङ्तेप गाविस) तथा आठराई त्रिबेणी गाउँपालिका वडा नं. २, ३ र ५ (साविक फुलबारी, हाङ्पाङ र चाँगे गाविस) आयोजना प्रभावित हुने क्षेत्रमा पर्छन्।स्पार्कले यसअघि नै प्रभावित क्षेत्रमा सार्वजनिक सुनवाइ,वातावरणीय प्रभाव मूल्याङ्कन लगायतका सबै कार्य सम्पन्न गरिसकेको छ ।‘ अबको कार्य भनेको कहिँ नल्झिइकन निर्माण कार्य सुरु गर्ने हो’उनले भने।लामो समय देखि निर्माणको चर्चा भएको तर सधैं उल्झन खेपीरहेको स्पार्कले बिद्युत उत्पादन अनुमति पत्र प्राप्त भएपछि निर्माणस्थलका बासिन्दा भने उत्साहित भएका छन् ।‘ जनतामा बल्ल खुसीको सन्देश प्रवाह भयो’ प्रभावित क्षेत्रका बासिन्दा दिलिप बरालले भने।

 

स्रोत : नागरिक