अरूण तेस्रोलाई सुरक्षा चुनौती

    2394

    सङ्खुवासभा, वैशाख २० गते । बहुप्रतीक्षित अरुण तेस्रो जलविद्युत् आयोजनालाई लक्षित गरी गत आइतबार तुम्लिङटारस्थित अरुण तेस्रोको कार्यालयमा भएको बम विस्फोटसँग तीन पटक आक्रमण भइसकेको छ । यसरी पटकपटक अरुण तेस्रोलाई लक्षित गरी आक्रमण भइरहँदा सुरक्षाको चुनौती बढेको छ ।

    यसअघिका घटनाको जिम्मा नेकपा माओवादी (विप्लव) समूहले लिएको छ । अरुण तेस्रो नेपाल आफैँले बनाउनुपर्ने लगायतका माग राख्दै आएका उक्त समूहले भारतलाई निर्माणको जिम्मा दिएकोमा आपत्ति जनाउँदै विरोध गर्दै आएको विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ ।

    पावर हाउस र बाँध निर्माणस्थल एकान्तमा हुनु र जिल्लामा सुरक्षाकर्मीको कमीका कारण अरुण तेस्रोले सुरक्षा चुनौती व्यहोर्नु परिरहेको छ । ठूलो भौगोलिक क्षेत्र भएको सङ्खुवासभामा दरबन्दी अनुसार सुरक्षाकर्मी नभएकाले पनि पर्याप्त सुरक्षाकर्मी निर्माण स्थलमा खटाउन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाउँदै आएको थियो ।

    पावर हाउस निर्माण स्थलमा भएको घटनापछि अरुण तेस्रोको सुरक्षाका लागि मात्र २५ जना प्रहरी सुरक्षार्थ खटाइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष खड्काले बताउनुभएको थियो । पावर हाउस, ड्याम साइड, खाँदबारी सम्पर्क कार्यालय र तुम्लिङटार कार्यालयका लागि खटाइएको प्रहरी पर्याप्त नभएको प्रनाउ खड्काले बताउँदै आउनुभएको थियो । यसरी सुरक्षार्थ प्रहरी खटाइए पनि सुरक्षाका बीचमै तुम्लिङटार कार्यालय परिसरमा बम विस्फोट गराएको थियो । यसअघिका घटनाको जिम्मेवारी विप्लप माओवादीले लिए पनि यस पटक कसैले त्यसको जिम्मेवारी लिएको छैन ।

    अरुण तेस्रोको सुरक्षाका लागि थप प्रहरी र सवारीसाधनको अत्यावश्यक रहेको जिल्ला प्रहरी प्रमुख खड्काले बताउनुभयो । तत्काललाई कम्तीमा अरुण तेस्रोको चार स्थानमा सुरक्षा दिनका लागि ४० जना सुरक्षाकर्मीको आवश्यक रहेकाले सोही अनुसार मगाएको खड्काले जानकारी दिनुभयो । ‘पेट्रोलिङ’ र स्थलगत अनुगमनका लागि सवारीसाधन पनि आवश्यक रहेको उहाँ बताउनुभयो ।

    लगानी बोर्डका सहसचिव उत्तमभक्त वाग्लेका अनुसार अरुण तेस्रो परियोजनाको पिडिएमा विकासकर्ताले मागेअनुसारको सुरक्षाकर्मी नेपाल सरकारले उपलब्ध गराउने भनिएको छ । सो अनुसार परियोजनाको सुरक्षार्थ छुट्टै सुरक्षाकर्मी टोली (डेडिकेटेड फोर्स) को पनि व्यवस्था गर्न सकिने सहसचिव वाग्लेले जानकारी दिनुभयो ।

    त्यसका लागि आयोजना विकासकर्ताले आवश्यकता अनुसार जिल्लास्थित सुरक्षा समितिलाई मागपत्र बुझाउनुपर्ने र सोही अनुसार सुरक्षा समितिले गृहमन्त्रालयमा सिफारिस गरी पठाउनुपर्ने हुन्छ तर अहिलेसम्म सो प्रक्रिया अगाडि बढाइएको छैन । पुनः अरुण तेस्रोलाई लक्षित गरी आक्रमणजन्य घटना भएमा डेडिकेटेड फोर्सका लागि प्रक्रिया अघि बढाउने जिल्ला सुरक्षा समितिका कार्यवाहक अध्यक्ष तथा निमित्त प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले बताउनुभयो ।

    लामो समयदेखि अरुण तेस्रोको पर्खाइमा बसेका स्थानीयले भने सुरक्षाको कारण देखाएर निर्माण अलपत्र पारिने हो कि भनेर चिन्ता व्यक्त गर्न थालेका छन् । निर्धारित समयमा नै परियोजना सम्पन्न गर्नका लागि अहिलेबाटै सुरक्षा प्रबन्ध राम्रो बनाउनुपर्ने जिल्लावासी नागरिकहरूको माग छ । २०७२ मङ्सिर २३ गते पहिलो पटक पुखुवास्थित पावर हाउस निर्माणस्थलको भवनमा आगजनी भएको थियो । त्यस्तै, गत माघ २७ गते पनि सोही स्थानमा बम विस्फोट भएको थियो ।

    ध्यान कुलुङ

    स्रोत:गोर्खापत्र