देशभरका नदीको बेसिन योजना बन्दै

2145
पुष २४, २०७५

सरकारले पानीको समुचित उपयोगका लागि देशभरि नदी बेसिन योजना बनाउन सुरु गरेको छ । 

पानीको उपयोग हुन थालेको सयौं वर्ष नाघेपछि सरकारले पानीको बहुउपयोगका लागि बल्ल नदी बेसिन योजना बनाउन सुरु गरेको हो । विश्व बैंकको सहयोगमा जल तथा ऊर्जा आयोगले जलविद्युत् विकास गुरुयोजना तथा वातावरण र सामाजिक मूल्यांकनसहितको नदी बेसिन योजनाको निर्माण सुरु गरिएको छ । नेपालको पानीको क्षमता र यसमार्फत खानेपानी, सिँचाइ र जलविद्युत्मा गर्न सकिने बहुउपयोगबारे हालसम्म सरकारको कुनै बेसिन योजना छैन । “तीन पर्षभित्र सम्पन्न गर्ने गरी नदी बेसिनको गुरुयोजन निर्माण सुरु गरिएको छ,” आयोगका सहसचिव माधव बेल्वासेले भने, “अहिले नदीको अध्ययनसहित सम्बन्धित क्षेत्रमा पुगेर सरोकारवालासँग छलफल सुरु भइसकेको छ ।” उनका अनुसार, प्रदेश १, २ र ३ मा आयोगले सरोकारवालासँग छलफल भइसकेको छ ।

देशभरिका मुख्य नदी कोसी, गण्डकी, कर्णाली, बाग्मती, पश्चिम राप्ती, बबई, महाकाली, कमला, कन्काई र मेची नदीको बेसिन अध्ययनको काम आयोगले अघि बढाएको छ । अध्ययनले कुन कुन बेसिनको कुन कुन ठाउँमा कति पानी रहेको र सोको उपयोग कसरी गर्ने भन्ने विषय समेट्ने सहसचिव बेल्वासेले जानकारी दिए । “आर्थिक, सामाजिक, वातावरणीय र प्राविधिक रूपमा विश्लेषण गर्ने गरी अध्ययन सुरु गरेका छौं, उनले भने, “अध्ययनले खानेपानी, सिँचाइ र जलविद्युत्का साथै यसको पर्यटकीय, सांस्कृतिक र अन्य क्षेत्रमा कसरी के के गर्ने भन्ने स्पष्ट तस्बिर आउनेछ ।” करिब ७० करोडको लागतमा निर्माण हुन लागेको नदी बेसिनका लागि चालू वर्षका लागि १० करोड छुट्याइएको छ ।

विना गुरुयोजना हालसम्म जलविद्युत् आयोजनालाई अनुमतिपत्र (लाइसेन्स) दिनुका साथै तत्कालीन आवश्यकताका आधारमा खानेपानी र सिँचाइका आयोजना सञ्चालन हुँदै आएका छन् । बेसिनको अध्ययनपछि भने कुन नदीको पानी के केका लागि उपयोग गर्ने भन्ने स्पष्ट मार्गचित्र आउनेछ । यसले निर्माणाधीन बाहेकका लाइसेन्स लिएका आयोजनाको क्षमता र क्षेत्रबारे समेत अध्ययन गर्ने भएकोले यस्ता आयोजनाबारे समेत नयाँ मार्ग दिने आयोगले जनाएको छ ।

अध्ययन अन्तर्गत सबै प्रदेशमा गएर प्रदेश सरकार, स्थानीय तहका साथै खानेपानी उपयोगका क्षेत्रमा कार्यरत संघसंस्था र सरोकारवालासँग छलफल गर्ने योजना आयोगको छ । यसले नदीको उद्गमस्थलदेखि सिमानासम्मका लागि पानीको उपयोगको कार्ययोजना बन्नेछ । नदीमा बन्ने संरचनाको व्यवस्थापनका लागि समेत अध्ययनले सहयोग गर्ने विश्वास लिइएको छ । हालसम्म भने कुन नदीमा कति पानी छ भन्ने एकिन छैन । आधिकारिक अध्ययन नभए पनि नेपालमा ६ हजार नदी नाला रहेको र २ खर्ब ७० अर्ब क्युविक मिटर पानी नेपालबाट भारत बगेर जाने गरेको तथ्यांकले देखाएको छ ।

भीम गौतम
स्रोत:कारोबार