NepalEnergyForum

अप्पर माछाखोला जलविद्युत आयोजनामा वाणिज्य बैंकको लगानी

 चैत्र ७, २०७६

विकास हाइड्रोपावर कम्पनी प्रा.लि. द्वारा प्रर्वद्धित अप्पर माछाखोला जलविद्युत आयोजनामा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने भएको छ । सो सम्बन्धमा बिहिबार विकास हाइड्रोपावर कम्पनी र बैंकबीच वित्तिय व्यवस्थापन सम्झौता सम्पन्न भएको हो । काठमाडौंको सांग्रिला होटलमा आयोजित सम्झौता समारोहमा विकास हाइड्रोपावरका प्रबन्ध निर्देशक कृष्ण घिमिरे, निर्देशक सरोज धिताल र सुनिल श्रेष्ठ तथा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलगायत पदाधिकारीहरुको उपस्थितिमा लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौता अनुसार कुल ८१ करोड ६५ लाखको लगानीमा निर्माण हुने आयोजनामा बैंकले ४९ करोड ऋण लगानी गर्नेछ ।

गैरआवासीय नेपाली (एनआरएन) सहितको लगानीमा गोरखामा ४ दशमलव ५५ मेगावाटको हाइड्रोपावर निर्माण शुरु भइसकेको छ । गोरखाको धार्चे गाउँपालिको माछाखोलामा अप्पर माछाखोला जलविद्युत आयोजनाका लागि काम भइरहेकोे कम्पनीका अध्यक्ष तथा गैरआवासीय नेपाली संघ(एनआरएनए) एशिया प्याशिफिक सहसंयोजक खगेन्द्र न्यौपानेले बताए । लाप्राक र सिङ्लाको बीच भाग भएर बग्ने धार्चे ५ को माछाखोलाबाट विकास हाइड्रोपावर कम्पनीले ४ दशमलव ५५ मेगावाटको जलविद्युत उत्पादनका लागि माछाखोलामा निर्माणको काम अघि बढिसकेको न्यौपानेले बताए । निर्माणका लागि आबश्यक सबै प्रक्रिया सकी लाइसेन्स लिइसकेको र बाँध निर्माणका लागि जग्गा खरिद गरिसकेको र सबै ठेक्काको काम सकिसकेको न्यौपानेले बताए । न्यौपानेले बैंकिंग एग्रिमेन्टको काम पनि सकिएको, आयोजनालाई चाहिने सम्पुर्ण मोटरबाटोको निर्माण कार्य सम्पन्न भएको र ट्रान्समिसन लाईन र बिधुत प्रशारण लाईनको सम्झौतासमेत सकिएर निर्माण कार्य शुरू भैरहेको बताए ।

स्रोत:जनसवाल