३ दिने हिमालयन हाइड्रो एक्स्पोको तयारी

    1293

    काठमाडौं, २८ मंसिर । स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपाल (इपान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसले हिमालयन हाइड्रो एक्सपो सञ्चालन गर्ने तयारी थालेको छ । एक्स्पो २१ पुसदेखि ३ दिनसम्म काठमाडौंको भृकुटीमण्डपमा हुनेछ । राष्ट्रिय योजना आयोग, ऊर्जा मन्त्रालय, वातावरण मन्त्रालयको संरक्षकत्वमा सञ्चालन हुने एक्स्पोको व्यवस्थापन इभेन्ट सोलुसन प्रालिले गर्नेछ ।

    जलविद्युत्का विषयमा केन्द्रित भई एक्स्पो अवधिभर सेमिनार एवं कार्यशालाको आयोजना गरिनेछ । यो एक्स्पोले युवापुस्ता र लगानीकर्ताहरूको रुचिलाई प्रोत्साहन गर्दै जलविद्युत्मा रूचि राख्ने विद्यार्थी तथा सिर्जनशील प्रतिभाबीच हाइड्रो एक्स्पो प्रतिस्पर्धाको आयोजना गर्नेछ । प्रतिस्पर्धामा उत्कृष्ट हुनेलाई ५० हजार पुरस्कार प्रदान गरिनेछ ।

    एक्स्पोले जलविद्युत् प्रवद्र्धनकर्ता, जलविद्युत् उपकरण निर्माणकर्ता एवं आपूर्तिकर्ता, डिजाइनर, परामर्शदाता, बिमा कम्पनी, लगानीकर्ता तथा वित्तीय क्षेत्रका लागि ज्ञान आदानप्रदान गर्न पाउने मञ्चको रूपमा रहनेछ । सरकारले एक दशकभित्र १७ हजार मेगावाट विद्युत्को विकास गर्ने योजना बनाइरहेको अवस्थामा यो एक्स्पोको आयोजनाले जलविद्युत्को क्षेत्रमा सहयोग र लगानी गर्ने समूहलाई हातेमालो गर्न पाउने प्लेटफर्म उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

    एक्स्पोमा जलविद्युत् क्षेत्रका विकासकर्ता, जोखिमसम्बन्धी लगानीकर्ता, प्रविधि उपकरण उत्पादकर्ता तथा अपूर्तिकर्ता, लगानीकर्ता, बैंक तथा निर्माण कम्पनीहरूले आ–आफ्ना स्टल राख्नेछन् । यस्ता स्टल राख्नेमा भारत, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिय, बुलगेरिया, चेक रिपब्लिकलगायतका बहुराष्ट्रिय कम्पनीको पनि स्टल रहनेछ ।

    जलविद्युत् विकासका लागि एफडीआई तथा ऊर्जा बजार संयन्त्रहरूको सहयोग तथा समर्थनबाट एक्स्पोले देशको हितमा एक स्पस्ट खाका कोर्ने अपेक्षा गरिएको इपानका अध्यक्ष शैलैन्द्र गुराई तथा एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसका महानिर्देशक विजयसागर प्रधानद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

    Source: Sourya Daily