आजदेखि नेपाल–बंगलादेश ऊर्जा संयन्त्रको बैठक

    1029

    काठमाडौँ — बंगलादेशमा नेपाली ऊर्जाको सम्भाव्यता र विद्युत् आयोजनाका लागि त्यहाँको लगानी भित्र्याउने योजनासहित आजदेखि नेपाल–बंगलादेशका ऊर्जा अधिकारीले छलफल सुरु गर्ने भएका छन् ।

    नेपाल–बंगलादेशबीचको ऊर्जा सहकार्यसम्बन्धी संयन्त्रको बैठक सोमबारदेखि काठमाडौंमा सुरु हुँदै छ । दुई दिन चल्ने बैठकमा छलफलका लागि ५ वटा एजेन्डा तय गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता दिनेश घिमिरेले जानकारी दिए ।

    अन्तरदेशीय प्रसारण लाइन, ऊर्जा व्यापारको मोडालिटी, नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न बंगलादेशको तयारी, भारतीय कम्पनी जीएमआरले निर्माण गर्ने भनेको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको विद्युत् खरिदका लागि बंगलादेशी तयारी र नवीकरणीय ऊर्जामा दुवै देश हुन सक्ने सहकार्यको विषयमा छलफल हुने प्रवक्ता घिमिरेले जानकारी दिए ।

    चर्को ऊर्जा संकट व्यहोरिरहेको बंगलादेशले नेपालबाट विद्युत् खरिदका लागि चासो राख्दै आएको छ । बंगलादेशले नेपालले उत्पादन गरेको जलविद्युत् वा आफ्नै लगानीमा आयोजना निर्माण गरी विद्युत् आयात गर्नसमेत चासो दिँदै आएको छ ।

    ‘बंगलादेशले विद्युत् खरिद गर्ने भए कसरी निर्यात गर्ने, कुन मोडालिटीमा किनबेच गर्ने विषयमा छलफल हुन्छ,’ मन्त्रालयका प्रवक्ता घिमिरेले भने, ‘बंगलादेशले नेपालबाट विद्युत् खरिदका लागि अहिलेसम्म गरेको तयारीबारे समेत छलफल गर्ने एजेन्डा छ ।’

    विद्युत् माग धान्न भारतबाट आयात गरिरहेको नेपालले आगामी केही वर्षमै निर्माणाधीन आयोजनाबाट उत्पादित विद्युत्् बढी हुने आकलन गरेको छ । आन्तरिक खपतबाट बढी भएको विद्युत् क्षेत्रीय बजारमा बिक्री गर्ने नेपालको वर्षौंदेखिको सपना हो ।

    साउन २५ गते नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो । समझदारीमा नेपाल र बंगलादेशबीच ऊर्जासम्बन्धी सहकार्य र छलफलका लागि संयन्त्र गठन गर्ने प्रावधान छ ।

    सोही समझदारीअनुसार बनेको दुवै देशको सचिव र सहसचिवस्तरीय ऊर्जा संयन्त्रको पहिलो बैठक काठमाडौंमा बस्न लागेको हो । नेपालले उक्त बैठक काठमाडौंमा बस्नका लागि बंगलादेशसमक्ष प्रस्ताव राखेको हो । बैठकमा सहभागी हुन १३ सदस्यीय टोलीको नेतृत्व गर्दै बंगलादेशका ऊर्जा मन्त्रालयका ऊर्जा विभाग सचिव अहमद वाइकाउस काठमाडौं आइपुगेका छन् ।

    ऊर्जा मन्त्रालयले बंगलादेशसँग भएको समझदारीअनुसार सचिव र सहसचिवस्तरीय संयन्त्र गठन गरिसकेको छ ।

    सोमबार सहसचिवस्तरीय संयुक्त कार्यदलको बैठक बस्नेछ । सहसचिवस्तरीय कार्यदलको नेतृत्व घिमिरेले गर्नेछन् । बंगलादेशबाट ऊर्जा विभागका सहसचिव सेख फैजुल अमिनको टोली सहभागी हुने ऊर्जा मन्त्रालयले जनाएको छ ।

    सहसचिवस्तरीय कार्यदलले सोमबार प्रस्तावित विषयमाथि छलफल गर्ने कार्यक्रम तय भएको घिमिरेले जानकारी दिए । ‘सहसचिवस्तरीय कार्यदलले गरेको छलफललाई थप निर्णयका लागि सचिवस्तरीय कार्यदलसमक्ष राखिन्छ,’ उनले भने, ‘मंगलबार सचिवस्तरीय कार्यदलको बैठक बस्नेछ ।’

    बंगलादेशले नेपालबाट सन् २०४० सम्ममा १० हजार मेगावाट विद्युत् आयात गर्ने योजना बनाएको छ । नेपालबाहेक अन्य देशबाट पनि विद्युत् आयात गर्ने बंगलादेशको योजना छ । बंगलादेशले भारतबाट पनि विद्युत् खरिद गरिरहेको छ भने बंगलादेशमा आफ्नै लगानीमा जलविद्युत् आयोजनाहरू निर्माण गरिरहेको छ ।

    ९ सय मेगावाटको माथिल्लो कर्णालीबाट उत्पादित विद्युत् खरिदका लागि पनि बंगलादेशले भारतीय विद्युत् व्यापार निगमसँग सैद्धान्तिक सहमति गरिसकेको छ । माथिल्लो कर्णाली निर्माण गर्ने भनेको भारतीय कम्पनी जीएमआरले अहिलेसम्म लगानी जुटाउन सकेको छैन ।

    लगानी जुटाउन लगानी बोर्ड कार्यालयले जीएमआरलाई दिएको म्याद असोज पहिलो साता सकिएको छ । भारतीय कम्पनीलाई आयोजनाका लागि लगानी जुटाउन म्याद थप गर्ने कि नगर्ने भन्ने विषयमा बोर्ड कार्यालय नै अनिर्णीत छ ।

    दुवै देशले विद्युत् व्यापार र ऊर्जा सहकार्यका लागि छलफल अघि बढाए पनि भारतीय भूमिकाबिना नेपाल–बंगलादेशको ऊर्जा व्यापारको उद्देश्य पूरा हुन नसक्ने विज्ञहरू बताउँछन् । नेपालबाट विद्युत् आयात गर्न बंगलादेशलाई भारतीय भूमि प्रयोग अनिवार्य छ । बंगलादेशले भारत र नेपाल सम्मिलित अन्तर्राष्ट्रिय फोरमहरूमा पनि ऊर्जामा त्रिदेशीय सहकार्यका लागि माग गर्दै आएको छ ।

    सन् २०१६ को अक्टोबरमा ढाकामा भएको दक्षिण एसियाली आर्थिक सम्मेलनको क्रममा नेपाल र बंगलादेशबीच ऊर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो । उक्त समझदारीमा बंगलादेशले नेपालमा करिब १ हजार ६ सय मेगावाट क्षमता बराबरका दुई आयोजना निर्माण गर्ने उल्लेख गरिएको थियो ।

    बंगलादेशले १ हजार १ सय १० मेगावाटको सुनकोसी दोस्रो र ५ सय ३६ मेगावाटको सुनकोसी तेस्रो आयोजना निर्माण गर्न प्रस्ताव गरेको थियो । यी आयोजनामा आफैं लगानी गरी विद्युत् खरिद गर्ने बंगलादेशको प्रस्ताव छ । अहिले पनि बंगलादेशी अधिकारीहरू दुवै आयोजनामा लगानीको लागि इच्छुक देखिएको ऊर्जा मन्त्रालयले जनाएको छ ।

    नेपालको बंगलादेशसँग बाहेक भारत र चीनसँग पनि ऊर्जासम्बन्धी सहकार्यको लागि सचिव र सहसचिवस्तरीय संयन्त्र छ ।

    बैठकका एजेन्डा

    • अन्तरदेशी प्रसारण लाइन
    • विद्युत् व्यापारको मोडालिटी
    • जलविद्युत्‌मा बंगलादेशी लगानी
    • माथिल्लो कर्णालीको विद्युत् खरिद
    • नवीकरणीय ऊर्जामा सहकार्य

    विजय तिमल्सिना

    स्रोत:कान्तिपुर