NepalEnergyForum

परीक्षण उत्पादनको तयारी गर्दै मान्डु हाइड्रो

 फाल्गुण २७,२०७५

सोमबार मकवानपुरमा पहिलोपटक निजी क्षेत्रको लगानीमा निर्माण गरिएको मान्डु हाइड्रो पावर लिमिटेड प्रवद्र्धक रहेको बागमती साना जलविद्युत् आयोजनाले परीक्षण उत्पादन गर्ने तयारी गरेको छ । शनिबारदेखि बाँधमा पानी जम्मा गर्न सुरु गरिएको जानकारी दिँदै मान्डु हाइड्रो आयोजनाका इन्चार्ज मनोज सिंहले एक साताभित्र परीक्षण उत्पादन सुरु हुने बताए । भीमफेदीको इपापञ्चकन्यामा निजी क्षेत्रले निर्माण गरेको आयोजनाको उत्पादन क्षमता २२ मेगावाट रहेको छ ।

बागमती र कोगटेको पानी इपापञ्चकन्या दोभानमा १० देखि १३ मिटर उचाइको वेयर (बाँध) निर्माण गरी सुरुङमार्फत इपापञ्चकन्याको बगरबेँसीस्थित पावरहाउसमा पु¥याइएको छ । आयोजनाको मुख्य सुरुङ २ हजार ४ सय २४ मिटर लामो रहेको छ । उक्त सुरुङको चौडाइ ३ दशमलव ७ र उचाइ ३ दशमलव ८ डायमिटर रहेको छ । बाँध हुँदै सुरुङबाट प्रतिसेकेन्ड १२ दशमलव ४ क्युसेक पानी बग्ने आयोजनाले जनाएको छ ।

मान्डु हाइड्रोपावर लिमिटेडको आयोजनाबाट आगामी आइतबारदेखि ६६ केभिए प्रसारणलाइन चार्जका लागि विद्युत् उत्पादनको परीक्षण सुरु हुने इन्चार्ज सिंहले जानकारी दिए । प्रसारण लाइन चार्जको समयमा आयोजनाले भीमफेदी गाउँपालिकाको ५, ६, ७ र ८ वडाको इपापञ्चकन्यादेखि बगरबेँसी पावरहाउसम्म पशुचौपाया जथाभावी नछाड्न तथा नहिँड्न सूचना पनि जारी गरेको छ ।

मान्डु हाइड्रोको विद्युत् कुलेखानी प्रथमको सबस्टेसन धोर्सिङबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । आयोजनाको पावरहाउसबाट साढे १३ किलोमिटरको दूरीमा रहेको कुलेखानी प्रथमको सबस्टेसनसम्म उत्पादित विद्युत् पु¥याउन ४४ वटा टावर निर्माण गरिएको छ । दुई साताभित्र नियमित विद्युत् उत्पादन हुने आयोजनाका इन्चार्ज सिंहले जानकारी दिए । उनले भने, ‘परीक्षण उत्पादनपछि नियमित उत्पादनमा जान १५ दिनजति लाग्छ ।’

चाइनिज कम्पनीको प्राविधिक सहयोगमा मान्डु हाइड्रोपावर कम्पनीले ०७२ वैशाखबाट करिब ४ अर्ब रुपैयाँको लगानीमा आयोजनाको निर्माण सुरु गरेको थियो । आयोजनाले ०७६ असारभित्र निर्माण सकाउने लक्ष्य राखेको थियो । आयोजनाको बाँध निर्माण गर्ने, पावरहाउसको सिभिल वर्कको कार्य र सुरुङ खन्ने काम नेपाली कम्पनी साउथ एसियन इन्फ्रास्ट्रक्चर प्रालिले गरेको इन्जिनियर महेन्द्र अधिकारीले जानकारी दिए । आयोजना निर्माणका लागि सिभिल वर्कतर्फ दैनिक २ सय कामदार खटिएका थिए भने इलेक्ट्रो मेकानिकलको काममा पाँच चिनियाँसहित ३० नेपाली कामदार तथा प्राविधिक खटिएका थिए ।

 

स्रोत:नयाँपत्रीका