About 25 percent construction works of the 14.9 MW Hewa Hydropower project has completed in Panchthar district.
हेवा ‘ए’ आयोजनाको २५ प्रतिशत निर्माण पूरा
जिल्लाको हेवाखोलामा गत वर्षदेखि थालिएको हेवा ‘ए’ जलविद्युत् आयोजनामा २५ प्रतिशत निर्माण सकिएको छ । १५ मेगावाट क्षमताको हेवा ‘ए’ पाँचथर पावर कम्पनीमार्फत निर्माण भइरहेको छ ।
कम्पनीले एक वर्षमा २५ प्रतिशत काम सकेको र बाँकी काम भइरहेको जनाएको छ । विद्युत् उत्पादन अन्तिम सर्भे भएको ३ वर्षपछि कम्पनीले गत वर्षदेखि निर्माण सुरु गरेको थियो ।
आयोजनाका लागि आवश्यक ४ किलोमिटर टनेलमध्ये २२ सय मिटर खनिसकिएको छ भने बाँकी टनेल खन्ने काम भइरहेको छ । टनेल निर्माणसँगै आयोजना स्थलसम्म पुग्ने मोटरबाटो, भवन निर्माण र खानेपानी आपूर्तिको काम पूरा भएको छ ।
हाई हिमाल हाइड्रो पावर कम्पनीले निर्माण जिम्मा पाएको आयोजना आगामी दुई वर्षभित्रै सक्ने लक्ष्य राखिएको छ ।
आगामी ०७२ सम्ममा निर्माण पूरा हुने आयोजनामा एक दर्जनभन्दा बढी बैंकले ऋण सहयोग सम्झौता गरेको कम्पनीका निर्देशक वसन्तकुमार नेम्वाङले जानकारी दिए ।
आयोजनामा सानिमाले २५ करोड, नेपाल बैंकले २० करोड, एनसिसीले २० करोड, नविलले २० करोड तथा कर्मस एन्ड ट्रस्ट र बंगलादेश बैंकको १५–१५ करोड रुपैयाँ लगानी रहेको छ ।
आयोजना निर्देशक नेम्वाङले भने, ‘त्यसबाहेक सिभिल बैंकले १२ करोड, माछापुच्छ्रेको १० करोड, एस डेभलपमेन्ट बैंकको १० करोड, एलडिइपी बैंकको १० करोड र एनएसबिएल बंैकले ५ करोड ऋण उपलब्ध गराउनेछन् ।’ बैंकले उपलब्ध गराएबाहेक आयोजनाका लागि अपुग रकम स्थानीय र कम्पनी सञ्चालकको सेयरमार्फत जुटाइनेछ । विभिन्न बैंकले दिएका ऋण आयोजना सुरु भएको दश वर्षभित्र तिरिसक्नुपर्ने नेम्वाङको भनाइ छ । आयोजना स्थलमा दैनिक ७ इन्जिनियर, ३ सय कामदारलगायत जनशक्ति परिचालित हुँदै
आएका छन् ।
आयोजना निर्माणका लागि नेपाल सरकारअन्तर्गतको विद्युत् प्राधिकरणले ११ वर्षअघि २००२ मा प्रारम्भिक सम्भाव्यता अध्ययन गरेको थियो । आयोजना सम्पन्न भएपछि प्रतिवर्ष ४३ करोड ८७ लाख ५५ हजार २ सयबराबरको आम्दानी गर्ने लक्ष्य राखिएको छ । आयोजनाबाट वार्षिक ८ करोड ४७ लाख युनिट विद्युत् उत्पादन हुने बताइएको छ । हेवा ‘ए’बाट उत्पादित विद्युत् निर्माण स्थलभन्दा ७ किलोमिटर टाढा विद्युत् प्राधिकरणको कावेली करिडोरको सब–स्टेसनमार्फत केन्द्रीय प्रसारणमा जोडिनेछ ।
Source : Naya Patrika