NepalEnergyForum

बेलायतलाई ऊर्जामा लगानी गर्न मन्त्री पुनको आव्हान

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बेलायतलाई नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न आव्हान गरेका छन् ।
सोमबार सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा भएको बेलायत संसदीय प्रतिनिधिमण्डलको भेटमा मन्त्री पुनले नेपालमा लगानीको वातावरण रहेको भन्दै बेलायती लगानीकर्तालाई नेपालको उर्जा क्षेत्रमा लगानी गर्न आग्रह गरेका हुन् । बेलायती सांसद निजेल इभान्सको नेतृत्वमा आएको प्रतिनिधि मण्डलमा उर्जा, जलस्रोत र सिँचाइको क्षेत्रमा समेत सहकार्य गर्न सरकार तयार रहेको भन्दै भेटमा मन्त्री पुनले ऊर्जा मन्त्रालयको १० वर्षमा १० हजार मेगावाट बिजुली उत्पादन गर्ने योजना रहेकाले त्यसका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रको सहयोग आवश्यक रहेको बताए ।

भेटमा ऊर्जामन्त्री पुनले बेलायत नेपालको पुरानो विकास साझेदार मुलुक रहेको भन्दै आगामी दिनमा पनि दुवै देश बीचमा सुमधुर सम्बन्ध रहने विश्वास गरे । “अहिले हामीसँग १ हजार मेगावाट मात्र बिजुली उत्पादन हुन्छ, तर, हामीसँग १ लाख मेगावाट उत्पादन गर्ने क्षमता छ । १० वर्षमा १० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्नका लागि हामीलाई निजी क्षेत्र तथा विदेशी लगानीकर्ताको जरुरी हुन्छ,” मन्त्री पुनले भने । भेटमा बेलायती सांसदहरूले नेपालको ऊर्जा, सौर्य ऊर्जा र जलस्रोतको क्षेत्रमा सरकारको नीति र योजनाबारे चासो राखेका थिए । बेलायती सांसद निजेल इभान्सले नेपालको विकासमा बेलायत सहयोग गर्न तयार रहेको बताउँदै बेलायत युरोपियन युनियनबाट अलग भएपछि यस्ता खालका द्विपक्षीय भ्रमण अझै बढ्ने र त्यसले दुई देशको सम्बन्ध अझै मजबुत बन्ने बताए । भेटमा बेलायती सांसदहरूले नेपालमा बिजुलीको अवस्था, जलविद्युत्ले वातावरणमा पारेको असर र त्यसको रोकथामका लागि सरकारले अघि सारेका कदमका बारेमा समेत चासो राखेका थिए ।

स्रोत:कारोबार