ऊर्जा क्षेत्रमा लगानी गर्न बेलायती लगानीकर्तालाई ऊर्जामन्त्री पुनको आग्रह

    1278

    ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री वर्षमान पुनले बेलायत सरकारलाई नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् ।

    नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरीमार्फत मन्त्री पुनले ऊर्जाको क्षेत्रमा लगानी गर्न सरकारलाई प्रेरित गरिदिन आग्रह गरेका हुन् ।

    ऊर्जामन्त्री पुनले नेपालमा राजनीतिक स्थायीत्वको युग सुरु भइसकेको भन्दै बेलायती लगानीकर्तालाई आकषिर्त गर्न प्रेरित गरिदिन आग्रह गरेका थिए ।
    मन्त्री पुनलाई भेट्न शुक्रबार मन्त्रालयमा पुगेका राजदूत मोरीसँग द्धिपक्षीय हितका विषयमा समेत छलफल भएको थियो ।

    आफूले ऊर्जामन्त्रीको रुपमा कार्यभार सम्हालेसँंगै ऊर्जा, जलस्रोत तथा सिँचाई क्षेत्रको वर्तमान अवस्था र भावी मार्गचित्र समेटिएको श्वेतपत्र सार्वजनिक गरिएको मन्त्री पुनले जानकारीसमेत दिएका थिए ।

    मन्त्री पुनले प्रसारण लाइनको गुरु योजना भर्खरै मन्त्रालयको तर्फबाट सार्वजनिक भएको भन्दै त्यसमा बेलायती लगानीकर्तालाई लगानी गर्न आग्रह गरे ।

    नेकपाका नेतासमेत रहेका मन्त्री पुनले नेपालको जलविद्युत क्षेत्रमासमेत लगानीको उपयुक्त वातावरण बनेको धारणा राखे ।

    उनले वर्तमान सरकारको नीति लगानीमैत्री वातावरण बनाउने रहेको भन्दै त्यसका लागि नयाँं नीति ल्याउने र केही नीतिमा परिमार्जन गर्ने तयारी भइरहेको जानकारी दिए ।

    भेटमा राजदूत मोरीसले ऊर्जा क्षेत्रमा सहकार्य गर्न बेलायत सरकार तयार रहेको बताए । उनले वैकल्पिक ऊर्जाको क्षेत्रमा बेलायती सहयोग नियोग डीएफआईडीमार्फत काम भइरहेको जानकारी दिदै आगामी दिनमासमेत सहकार्य जारी राख्ने प्रतिवद्धता व्यक्त गरे ।

    राजदूत मोरीसले नेपाललाई सहयोग गर्ने विषयमा विकास साझेदार अन्य अन्तर्राष्ट्रिय संघ संस्थाहरुसँग समन्वयात्मक ढंगले काम गर्न आफूहरु तयार रहेको धारणा राखेका थिए ।

    -अनलाइनखबर