६ महिनापछि केपिलासगढीमा बिजुली

    1013

    खोटाङ — स्थानीय विद्युत् उत्पादनले छ महिनाभित्र केपिलासगढी गाउँपालिका उज्यालो हुने भएको छ । रावाखोला जलविद्युत् आयोजना आगामी माघसम्ममा सम्पन्न भएपछि उक्त पालिका उज्यालो हुने भएको हो ।

    करिब ५३ करोड रुपैयाँ लागतमा तीन मेगावाट क्षमताको विद्युत् आयोजना निर्माणाधीन अवस्थामा छ । राष्ट्रिय वाणिज्य बैंकको ७० र प्रमोटर लगानी ३० प्रतिशतमा विद्युत् उत्पादन हुन लागेको हो ।

    यसमध्येबाट स्थानीय समुदायका लागि १० प्रतिशत सेयर खुला गरिने आयोजना प्रबन्धक मुक्तिनाथ तिम्सिनाले बताए ।
    आयोजना माघभित्र सकिने आयोजना प्रबन्धक तिम्सिनाले सुनाए । उनका अनुसार उत्पादित विद्युत् केपिलासगढी गाउँपालिकाका सबैलाई पुग्नका साथै नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरिनेछ । विद्युत् आयोजनामा स्थानीयले रोजगारी पाउने जनाइएको छ । ‘अहिले डेढ दुई सय कामदारले काम पाएका छन्,’ उनले भने, ‘आयोजना सकिएपछि २०–२५ जनाले रोजगारी पाउनेछन् ।’ यो विद्युत् उत्पादनपछि खोटाङ पूर्ण रूपमा लोडसेडिङ मुक्त हुने छ । केन्द्रीय प्रसारण लाइनले अपुग करिब दुई मेगावाट विद्युत् यो आयोजनाले पूरा हुने विद्युत् प्राधिकरणले जनाएको छ ।

    स्रोत:कान्तिपुर