नदीमा बहाव घटेपछि विद्युत् उत्पादन घट्यो

    1048

    सोमवार, पुष ९, २०७५लमजुङ

    हिउँद लागेसँगै मस्र्याङ्दी नदीमा पानीको बहाव कम हुन थालेपछि लमजुङका नदीबाट जलविद्युत् उत्पादन घट्न थालेको छ । जिल्लामा सञ्चालनमा रहेका ठूला तथा साना जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन घट्दै गएको हो ।

    बर्खाको समयमा ७२ मेगावाटसम्म उत्पादन हुने मध्य मस्र्याङ्दी जलविद्युत् केन्द्रबाट अहिले दैनिक औसत ३८ मेगावाटमात्रै उत्पादन हुने गरेको छ । उक्त जलविद्युत् केन्द्रमा राति र दिउँसो एउटा टर्बाइन बन्द गरी एउटा टर्बाइनमात्रै सञ्चालन गर्ने गरिएको केन्द प्रमुख पशुपतिराज गौतमले बताए ।

    बिहान र बेलुकाको पिक आवरमा भने दुईवटै टर्बाइन चलाएर ७० मेगावाट विद्युत् उत्पादन गरिएको आयोजनाले जनाएको छ । ३५ मेगावाट क्षमताका दुई टर्बाइनमध्ये राति र दिउँसोको समयमा एउटामात्र चलाउँदा २५ मेगावाटमात्र विद्युत् उत्पादन हुने गरेको प्रमुख गौतमले बताए । “नदीमा पानीको मात्रा घटेको छ, कात्तिक १० देखि बाँध पूरा बन्द गरेर विद्युत् उत्पादन गर्दा पनि औसत ३८ मेगावट विद्युत् उत्पादन भइरहेको छ,” गौतमले भने ।

    यस्तै ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनामा पनि पानीको संकट देखिएको छ । आयोजनाका अनुसार माथिल्लो मस्र्याङ्दी जलविद्युत् आयोजनाबाट पनि अहिले औसत ३८ मेगावाट विद्युत् उत्पादन भइरहेको बताइएको छ । माथिल्लो मस्र्याङ्दीमा भने दुईवटै टर्बाइनबाट विद्युत् उत्पादन भइरहेको छ । दुवै टर्बाइनबाट १९ मेगावटका दरले विद्युत् उत्पादन भइरहेको कर्ण अधिकारीले बताए । “अहिले पानी संकट देखिएको छ,” अधिकारीले भने, “दुईवटै टर्बाइनबाट १९÷१९ मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।”

    विद्युत् उत्पादन घट्नेक्रम जारी रहेकोले हिउँद लम्बिँदै जाँदा जम्माजम्मी दैनिक २५ मेगावाट विद्युत्मात्र उत्पादन हुने अनुमान गरिएको अधिकारीले बताए । आगामी चैतसम्म पानीको बहाव नबढ्ने हुँदा विद्युत् उत्पादन पनि त्यही समयसम्म घट्दैजाने आयोजनाको अनुमान छ । जिल्लाका ठूला आयोजनाजस्तै साना आयोजनाको विद्युत् उत्पादन पनि घट्न थालेको बताइएको छ । अझ ठाडो खोलामा निर्माण भएका आयोजनाको विद्युत् उत्पादन बढी घट्न थालेको छ ।

    लमजुङबाट कुल १३८ दशमलव ५८३ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडे पनि हिउँदको मध्य भागमा आधा पनि विद्युत् उत्पादन हुन नसकेको गएका वर्षहरूको तथ्यांकले देखाएको छ । लमजुङमा ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना, ५० मेगावाटको माथिल्लो मस्र्याङदी ए जलविद्युत् आयोजनालगायत अन्य साना ४.४ मेगावाटको खुदी, ५ मेगावाटको सिउरी, ४.४ मेगावाटको राधी, एक मेगावाटको स्याँगे, दुई मेगावाटको छ्याँङदी र तीन मेगावाटको मिदिमखोला जालविद्युत् आयोजनाबाट विद्युत् उत्पादन भइरहेका छन् । सबै खोलामा पानीको बहाव कम हुँदा विद्युत् उत्पादन पनि घट्दै गएको आयोजनाले जनाएका छन् ।

    सन्देश पौडेल

     स्रोत:कारोबार