NepalEnergyForum

दुगड समूह : ऊर्जाका परियोजनामा लगानी बढाउँदै

किशनलाल दुगड,
अध्यक्ष,
केएल दुगड समूह

१ सय ३७ वर्षदेखि निरन्तर विभिन्न व्यवसाय सञ्चालन गरिरहेको दुगड समूह नेपालको एक प्रतिष्ठित व्यावसायिक घराना हो । यस समूहमा उत्पादन क्षेत्रका २० भन्दा धेरै, ऊर्जाका ३, घरजग्गाका २ र अन्य ६ गरी कुल २० कम्पनी छन् । यसबाट समूहले वार्षिक रू. २० अर्बबराबरको व्यवसाय गर्दछ ।

समूहले २० मेगावाटको तल्लो मादी जलविद्युत् आयोजनासहित सिमेण्ट, खाद्य, खानी र तेल उद्योगमा लगानी बढाउने तयारी गरेको छ । समूहले आगामी ५ देखि ७ वर्षभित्र ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ, जसअनुसार उसले विभिन्न जलविद्युत् परियोजनामा लगानी बढाउँदै छ । मुख्यगरी खाने तेल, गेडागुडी र सवारीसाधनको कारोबार गर्ने समूहभित्र केएल, एमभी र एचसी दुगड समूह छन् । यसमध्ये केएल दुगड समूहलाई कृष्णलाल दुगड, एमभी दुगड समूहलाई मोतीलाल दुगड र एचसी दुगड समूहलाई हुकमचन्द दुगडले नेतृत्व गर्दछन् ।

समूहभित्रको केएल दुगडले मात्रै वार्षिक करीब रू. २० अर्बको कारोबार गर्दछ । एचसी र एमभीको कारोबार छुट्टै छ । दुगड समूह अहिले सिमेण्ट उत्पादनका लागि लगानी थप्ने, दलहन व्यवसाय अझै धेरै विस्तार गर्ने र खाने तेल उत्पादन तथा ऊर्जाका परियोजनामा लगानी गर्ने रणनीतिअनुरूप सञ्चालित छ ।

दुगड समूहको इतिहास
चाँदमल दुगडले विराटनगरको हाटबजारमा कपडाको व्यापार शुरू गरेदेखि नै समूहको व्यावसायिक यात्रा शुरू भएको हो । लुनकरण दुगडले बुबाको व्यवसाय अघि बढाउँदै कृषि व्यवसायमा पनि हात हाले । त्यसपछि लुनकरणका चार छोराले व्यवसाय सम्हालेसँगै दुगड समूहको व्यवसायले नयाँ उचाइ पाएको हो । शुरूमा यो समूह टेक्सटाइल र कृषि उत्पादनको व्यवसायमा संलग्न थियो । समूहले क्रमशः यसलाई विस्तार गर्दै जुट निर्यात, स्टिल, चामल मिल आदिमा फैलायो ।

समूहको व्यवसायमा विविधता ल्याउन तोलाराम दुगड र उनका भाइ मोतीलाल दुगडको महŒवपूर्ण भूमिका छ । उनीहरू धरानबाट विराटनगर झरेर जुट प्रशोधन उद्योग सञ्चालन गरेका थिए ।

६ दशकअघि नै मोतीलाल दुगडले खाद्यान्न खरीद गरी कृषकलाई नगद भुक्तानी दिने व्यवस्था शुरू गरेका थिए । नगद भुक्तानीको सो व्यवस्थाले समग्र कृषिक्षेत्रमा परिवर्तन ल्याएको मानिन्छ ।

सन् १९६६ मा यस समूहले स्ट्रबोर्ड पेपर इण्डष्ट्रिज सञ्चालनमा ल्याएको थियो । त्यसपछि चामल, तेल र स्टिल उद्योग शुरू भयो । त्यस्तै, सन् १९७२ देखि यस समूह अटोमोबाइल क्षेत्रमा समेत संलग्न रह्यो । ती सबै उद्योग दुगड समूहको व्यवसायलाई एक अलग स्थानमा पुर्‍याउन कोसेढुङ्गा सावित भयो ।

अहिले समूहको व्यावसायिक विरासतलाई एमभी, एचसी र केएल दुगड समूहले निरन्तरता दिएका छन् । समूह सन् १९६२ मा टीएम र एचसीमा विभाजित भयो । त्यसपछि सन् १९९१ मा टीएम दुगड पुनः टीएम र केएल गरी दुई समूहमा विभाजित भयो । सन् २०१५ मा मोतीलाल दुगडले टीएम दुगड समूहबाट छुट्टिएर एमभी दुगड समूह खडा गरे ।

दुगड समूहअन्तर्गतको केएल समूह, खाद्य वस्तु उत्पादन गर्ने नेपालको एक प्रमुख एवम् अग्रणी उद्योगको रूपमा स्थापित छ, जसले धारा खाने तेल, ज्ञान आटा, चामललगायत खाद्यवस्तु उत्पादन गर्दै आएको छ । त्यस्तै, मोतीलाल दुगडको परिवारले सञ्चालन गरेको अटोमोबाइलको व्यवसायलाई पुनःसंरचना गरेपछि हाल त्यसले एक अलग उचाइ प्राप्त गरेको छ । अर्कोतर्फ, मोतीलालले अघि बढाएको टीएम दुगड समूह जलविद्युत् क्षेत्रमा ठूलो लगानी गर्ने योजनामा छ ।

हाल यस समूहअन्तर्गत तीनओटा जलविद्युत् आयोजना निर्माणाधीन छन् । कुल २१ करोड रुपैयाँबराबरको लगानीमा हाल १ सय ५७ मेगावाटका तीन जलविद्युत् आयोजना निर्माण भइरहेका छन् । त्यस्तै, आफ्नो आगामी योजनाअनुरूप यस समूहले ५ सय मेगावाट जलविद्युत् उत्पादनको लक्ष्य राखेको छ । समूहले जलविद्युत् क्षेत्रमा लगानी गर्न एक अलग प्रकारको रणनीति तयार पारेको छ । निर्माणाधीन जलविद्युत् आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई आफ्नो आयोजनामा रोजगारी प्रदान गर्नेदेखि निर्माण ठेकेदारसम्म स्थानीयलाई बनाउने नीति उसले अबलम्बन गरेको छ ।

दुगड समूहको प्रमुख व्यवसाय

युनाइटेड सिमेण्ट
युनाइटेड सिमेण्ट इण्डष्ट्रिज दुगड समूहअन्तर्गतको एउटा प्रभाग हो । यो धादिङस्थित जुगेडीमा अवस्थित छ । हाल यस उद्योगले, साधारण पोर्टल्याण्ड सिमेण्ट (ओपीसी)को व्यावसायिक रूपमा उत्पादन गरिरहेके छ भने चाँडै पोर्टल्याण्ड पोजोलाना सिमेण्ट (पीपीसी)को पनि उत्पादन थाल्ने तयारी रहेको छ । कम्पनीले नवीनतम प्रविधिको प्रयोग गरी सिमेण्ट उत्पादन गरिरहेको छ । वातावरण प्रदूषणमा असर नपर्ने प्रतिबद्धताका साथ निरन्तर उत्पादन गर्ने यसको लक्ष्य छ । गुणस्तर उत्पादनप्रति सदैव प्रतिबद्ध युनाइटेड सिमेण्ट कम्पनीले आफ्ना उत्पादनका लागि आवश्यक पर्ने चुनढुङ्गा ललितपुरस्थित लेलेबाट आपूर्ति गरेको बताएको छ ।

कुमारी बैङ्क लिमिटेड
सन् २००१ मा स्थापना भएको कुमारी बैङ्क १५औं कमर्शियल बैङ्कको रूपमा स्थापना भएको हो । केएल दुगड समूहअन्तर्गत नरेश दुण्ड निर्देशक रहेका बैङ्कको मुख्य उद्देश्य ग्राहकलाई आधुनिक बैङ्किङ सेवा प्रदान गर्नु हो । बैङ्कले राष्ट्रिय तथा अन्तरराष्ट्रिय भिसा डेबिट र क्रेडिट कार्ड पनि जारी गर्छ ।

विकास फ्लोर मिल प्रालि
नेपालमा गुणस्तरीय आटा उत्पादन गर्ने कम्पनीको रूपमा विकास फ्लोर मिल पनि प्रमुख कम्पनीको रूपमा छ । यो उद्योग नेपालगञ्जमा छ । कम्पनीले ज्ञान र आशिर्वाद ब्राण्डको आटा बजारमा ल्याएको छ । यसले ज्ञान ब्राण्डको आटा, सुजी र ज्ञानभोग चक्की आटा उत्पादन गर्दै आएको छ । त्यस्तै, आशिर्वाद ब्राण्डको सुजी, आटा र लिटोको पीठो उत्पादन गरिरहेको छ । कम्पनी फूड एण्ड एग्रीकल्चर अर्गनाइजेशन (एफएओ)को सहआयोजनामा कृषि विकास मन्त्रालयको तर्फबाट सन् २००६ मा सम्मानित बनेको थियो । त्यस्तै, विकास फ्लोर मिलले आईएसओ ९००१ः२००८ र सन् २००६, २०११ र २००३ मा नेपाल गुणस्तर चिह्न प्राप्त गरेको छ ।

ज्ञान एग्री वेयरहाउजिङ एण्ड कोल्याटरल म्यानेजमेण्ट
ज्ञान एग्री वेयरहाउजिङ केएल दुगड समूह र ग्लोबल आईएमईए बैङ्कबीचको संयुक्त लगानी (जोइण्ट भेञ्चर) कम्पनी हो, जसले नेपाली किसानलाई ऋण उपलब्ध गराउँछ । नेपालमा उपलब्ध प्रचुर स्रोतलाई सही तरीकाले प्रयोग गर्दै यस कम्पनीले किसानलाई धितो र ऋण उपलब्ध गराउन सहयोग गर्छ । कृषि वस्तुको गुणस्तर जाँच तथा प्रमाणीकरण गर्ने, खरीदपछिको ग्यारेण्टी, कृषि वस्तु पुनः खरीद, गोदामको व्यवस्थालगायत सेवासुविधा यसले प्रदान गर्दै आएको छ ।

व्यवसाय र आगामी परियोजना

प्रमुख व्यवसाय

  • खाने तेल र खाद्यान्न

संयुक्त लगानीका व्यवसाय (जोइण्ट भेञ्चर)

  • ज्ञान एग्री वेयरहाउजिङ, केएल दुगड र ग्लोबल आईएमई बैङ्कको संयुक्त उपक्रम

एमभी दुगड समूहको आगामी परियोजना

  • जलविद्युत् क्षेत्रमा थप लगानी गर्दै आगामी ६ देखि ७ वर्षभित्र ५ सय मेगावाट विद्युत् उतपादन गर्ने लक्ष्य छ, जसमध्ये कुल २१ करोड रुपैयाँ लगानीमा हाल लिखु–ए २९, लिखु–१ ७७, लिखु–२ ५१ मेगावाट गरी तीनओटा आयोजना निर्माणाधीन छन् ।
  • एमभी दुगड समूह, सानिमा जनरल इन्स्योरेन्स कम्पनीको प्रवर्द्धक पनि हो ।
  • हालको समयमा एमभी दुगड ब्रदर्सले दुगड ब्रदर्स एण्ड सन्स प्रालि र अटोमोबाइलको सम्पूर्ण कारोबार सम्हालेका छन् ।

आगामी परियोजना

  • सिमेण्ट, खाने तेल, खाद्यान्य र जलविद्युत् क्षेत्रमा थप विस्तारको तयारी छ ।
  • २० मेगावाटको तल्लो म्यादी जलविद्युत् निर्माण

वार्षिक कारोबार

  • केएल दुगड समूहको अनुमानित वार्षिक कारोबार २० अर्बरुपैयाँबराबरको हुने गरेको छ ।

रोजगार

  • एमभी ग्रुपअन्तर्गत १हजार जनाले रोजगारी पाएका छन् ।

केएल दुगड समूहको क्षेत्रगत उपस्थिति

उत्पादन

  • स्वस्तिक आयल इण्डष्ट्रिज प्रालि (धारा ब्राण्डको तेल उत्पादक)
  • सौरभ आयल मिल प्रालि
  • विकास आटा मिल प्रालि
  • सौरभ फूड प्रडक्ट प्रालि
  • प्रतिभा राइस मिल प्रालि
  • स्वस्तिक प्याकेजिङ प्रालि
  • ज्ञान फूड प्रडक्ट प्रालि
  • ज्ञान हर्बल प्रडक्ट प्रालि
  • युनाइटेड सिमेण्ट प्रालि

जलविद्युत्

  • मनाङ टे«ड लिङ्क प्रालि (२० मेगावाट)
  • गायत्री हाइड्रोपावर प्रालि (६ मेगावाट)
  • नेपाल हाइड्रोपावर डेभलपर (३.५ मेगावाट)

रियल इस्टेट

  • केजे प्रपर्टिज एण्ड बिल्डर्स प्रालि (केएल रेसिडेन्सी लक्जरी होम्स)
  • एनपीके बिल्डर्स प्रालि

कृषि उत्पादन

  • ज्ञान एग्री वेयरहाउजिङ एण्ड कोल्याटरल म्यानेजमेण्ट प्रालि

बैङ्किङ

  • कुमारी बैङ्क लिमिटेड
  • प्राइम कमर्शियल बैङ्क लिमिटेड

ट्राभल एण्ड टूरिजम

  • ओरियण्ट प्याराडाइज टूर्स एण्ड ट्राभल प्रालि

उपस्थिति

  • स्मार्ट एप्लायन्स– इलेक्ट्रोलक्स, स्काइवर्थ, अस्टर, फागोर, ह्वाइट वेष्टिङहाउस जस्ता ब्राण्डको एकमात्र एजेन्सी

ट्रेडिङ

  • सिमेण्ट, खाने तेल, तेलको बीउ, खाद्यान्य, पेपर्स, इलेक्ट्रिकल्स एण्ड हाडवेयर सामग्री, रासायनिक मल, पेयपदार्थ, केमिकल्स

टीएम र एमभी दुगडको संयुक्त उपस्थिति

उत्पादन

  • दुगड फुड एण्ड बेभेरेज प्रालि
  • नेपाल सालसिड आयल प्रालि
  • अमृत पल्सेस इण्डष्ट्रिज
  • निधि आयल इण्डष्ट्रिज
  • पूजा राइस मिल
  • पूजा दाल मिल
  • श्रद्धा फूड प्रडक्ट
  • कोहिनूर एग्रो इण्डष्ट्रिज
  • कोहिनूर राइस मिल
  • कामधेनु भेजिटेबल आयल इण्डष्ट्रिज
  • मङ्गलम् राइस मिल

बैङ्किङ

  • सनराइज बैङ्क

इन्स्योरेन्स

  • गुराँस लाइफ इन्स्योरेन्स

अटोमोबाइल्स

  • दुगड ब्रदर्स एण्ड सन्स प्रालि (नेपालमा निशान मोटर्स र रोयल इनफिल्डको आधिकारिक वितरक)
  • एमभी दुगड समूह (महिन्द्रा एण्ड महिन्द्रा गाडी, जोन डियर ट्र्याक्टर र पियाजियोको आयातकर्ता)

कोल्ड स्टोरेज

  • कोहिनूर कोल्ड स्टोरेज प्रालि
  • शुभम् कोल्ड स्टोरेज

जलविद्युत् आयोजना

  • पान हिमालय इनर्जी प्रालि (७७ मेगावाट लिखु १)
  • ग्लोबल हाइड्रोपावर एशोसिएशन प्रालि (५१ मेगावाट लिखु २)
  • नुम्बुर हिमालय हाइड्रोपावर प्रालि (२९ मेगावाट लिखु ए)

अन्य क्षेत्र

  • माइनिङ

एचसी समूहको उपस्थिति

उत्पादन

  • ज्ञान इण्डष्ट्रिज
  • विजय इण्डष्ट्रिज
  • हुकम फूड्स
  • नेपाल फूड प्रडक्ट
  • एचसी मोडर्न इण्डष्ट्रिज
  • आशिष इण्डष्ट्रिज
  • हुकम फर्मास्युटिकल्स
  • अक्वा मिनरल

कृषि

  • एग्रिकल्चर फार्म

बीमा

  • युनाइटेड इन्स्योरेन्स

व्यापार

  • हुकम चन्द एण्ड सन्स
  • रमेश ब्रदर्श

 

स्रोत:अभियान