NepalEnergyForum

दूधकोसीको डीपीआर अन्तिम चरणमा

श्रावण २८, २०७६

खोटाङ — दूधकोसी जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण अन्तिम चरणमा पुगेको छ । खोटाङको उत्तरी क्षेत्रमा पर्ने रावाबेसी गाउँपालिका–३ लामीडाडा र ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेको सिमानामा दूधकोसी नदीस्थित रभुावाघाटबाट ६ सय ३५ मेगावाट क्षमताको जलविद्युत आयोजनाको डीपीआर अन्तिम चरणमा पुगेको हो ।

आयोजना प्रमुख वसन्त श्रेष्ठले डीपीआरको काम धमाधम भइरहेको र कात्तिक/मंसिरभित्र पूरा भइसक्ने बताए। उनका अनुसार फिजिबिलिटी प्रतिवेदन, संरचनाको विस्तुत मस्यौदा, बोलपत्रको मस्यौदा लगायतको विज्ञ समूहद्वारा अध्ययन भएको छ । यसभित्र टिओआर र स्कोपिङ, वातावरणीय प्रभाव मुल्यांकन (आईईई) लगायतका अन्य थुप्रै कामहरु भइरहेको श्रेष्ठले सुनाए ।

इटली र जापानको संयुक्त इएलसी इलेक्ट्रो कन्सल्ट एसपीए इन एसोसिएसन विथ न्युजेक नामक कम्पनीले डीपीआर गरिरहेको छ। यसले २०७३ जेठ १७ गतेदेखि आयोजनाको विस्तृत इन्जिनियरिङ ढाँचा, सामाजिक तथा वातावरणीय प्रभाव र सम्भाव्यता अध्ययनको काम सुरु गरेको थियो। लामीडाडाको रभुँवाघाटमा एक सय ६० मिटर अग्लो बाँध हालेर बनाइने जलाशयबाट १३ दशमलव ५ किलोमिटर लामो सुरुङ मार्फत् धितुङमा पानी खसाएर विद्युत उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाको काम अघि बढाइएको हो।
उक्त जलविद्युत् आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्न खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका सांसदहरुले माग गरेको प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताए। ‘ऊर्जामन्त्री वर्षमान पुनसमक्ष गएर आयोजनाबारे कुराकानी भएको छ।’ सांसदभट्टराईले भने, ‘यो आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको सूचीमा समावेश गर्न माग समेत गरिएको छ।’
रभुावाघाटमा निर्माण गरिएको बाँधदेखि सोलुखुम्बुतर्फ दूधकोसी किनारमा १०, खोटाङतर्फको रावाखोलामा ८ र ओखलढुंगाको ठोट्नेखोला किनारमा ४ किलोमिटर क्षेत्रफल डुबान हुने अनुमान छ। आयोजना सञ्चालनका लागि निर्माण गरिने बाँधले तीन जिल्ला खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका ८४ घर स्थानीयवासी विस्थापित हुने प्रारम्भिक अनुमान गरिएको आयोजना प्रमुख श्रेष्ठले बताए।
जापान सरकारको सहयोगमा कोसी बेसिन अध्ययन गुरुयोजना अन्तरगत २०४२ मा पहिचान भएको आयोजनाको काम अघि बढाउन सिफारिस गरिएको विद्युत प्राधिकरणले जनाएको छ। आयोजना सञ्चालनमा आएपछि विद्युतीय सेवा लगायत दूधकोसी जलाशयमा डुंगा शयर, माछापालन लगायत पर्यटन विकास हुने अपेक्षा गरिएको छ।
आयोजनाको सम्भाव्यता अध्ययनका साथै विस्तृत इन्जिनियरिङ ढाँचा, सामाजिक तथा वातावरणीय परीक्षण र टेन्डरका कागजपत्र बनाउन एडीबीले चालू आर्थिक वर्षमा ३५ करोड अनुदान दिएको छ। आर्थिक वर्ष २०७५/७६ को मध्यसम्ममा आवेदन (टेन्डर) आहृान र सम्झौता गरेर आर्थिक वर्ष २०७६/७७ देखि निर्माणको काम सुरु हुने विद्युत प्राधिकरणले जनाएको छ।
डम्बरसिं राई
स्रोत:कान्तिपुर