NepalEnergyForum

तामाकोशीको साधारण शेयर बाँडफाँडमा ढिलाइ हुने

काठमाडौं। माथिल्लो तामाकोशीको साधारण शेयर (आइपिओ) बाँडफाँडमा ढिलाइ हुने देखिएको छ। फरक समुहका आवेदकले दोहोर्याएर दिएको आवेदनलार्इ ‘चेकजाँच’ गर्न अझै केही समय लाग्ने भएपछि बाँडफाँडमा ढिलाइ हुने भएको हो।

नेपाल धितोपत्र बोर्डमा फरक समुहकाले दोहोर्याएर आवेदन दिएको भन्ने उजुरी परेपछि बोर्डले सम्पुर्ण आवेदनलार्इ ‘चेकजाँच’ गर्न निर्देशन दिइसकेको छ।

कम्पनीले पहिलो चरणमा कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, दोस्रो चरणमा स्थानीय प्रभावित र तेस्रो चरणमा सर्वसाधारणको लागि शेयर निष्काशन गरेको छ। कम्पनीले पहिलो चरणमा शेयर निष्काशन गर्दा डिम्याट खाता थिएन। तर, दोस्रो र तेस्रो चरणमा डिम्याट अनिवार्य थियो।

डिम्याट खाताबाट दोहोरिएका आवेदकलार्इ सिस्टमबाटै चेकजाँच गर्न सकिने भए पनि पहिलो चरणमा भौतिक रुपमा आवदेन लिइएको हुँदा दोहोरिएका आवेदक भेरिफाइ गर्न कठिन भएको कोषका मर्चेन्ट बैकिङ विभाग प्रमुख रोशनजङ कार्कीले जानकारी दिए।

उनले भने ‘असोज पहिलो सातामा बाँडफाँड गर्ने योजना बनाएको भए पनि चेकजाँच गर्ने क्रममा पुराना फाइल पल्टाएर हेर्नु पर्ने भएपछि सकेसम्म दोस्रो सातासम्ममा बाँडफाँड गर्ने योजना बनाएका छौ।’ कोषले चेकजाँच गर्ने क्रममा अहिलेसम्म १२ हजार आवदेकले दोहोर्याएर आवदेन दिएको भेटिएको छ। यसरी दोहोर्याएर आवदेन दिनेको आवेदन रद्ध हुनेछ।

कम्पनीले कात्तिक १५ गतेदेखि १९ गतेसम्म एक करोड ५० लाख ९० हजार ७५० कित्ता शेयर सर्वसाधाणको लागि निष्काशन गरेको थियो। कम्पनीले सर्वसाधारणतर्फ एक करोड ५८ लाख ८५ हजार कित्ता मध्ये ५ प्रतिशत अर्थात ७ लाख ९४ हजार २५० कित्ता सामुहिक लगानी कोषका लागि बाँडफाँड गरिसकेको छ।

सर्वसाधाणको लागि निष्काशन गरेको शेयरमा तीन लाख ४६ हजार १६६ जनाले ६ अर्ब ७० करोड रुपैयाँको लागि आवदेन दिएका छन्। यस आवदेनकमा दोहोर्याएका शेयर हाल्नेको आवेदन रद्ध हुनेछ।

शेयर बाँडफाँड प्रणली अनुसार सम्पुर्णलार्इ ४० कित्ता न्युनतम बाँडफाड गर्न पुग्छ। तर ५० कित्ता शेयर सबैलार्इ पुग्दैन। यदि अहिलेसम्मका दोहोरिएका १२ हजार आवदेकलार्इ हटाउँदा योग्य आवेदक अधिकतम पनि तीन लाख ३६ हजार पुग्ने छन्। यसका आधारमा गोला प्रथाबाट एक लाख ५० हजार आवेदकले थप १० कित्ता शेयर प्राप्त गर्ने छन् अर्थात उनीहरुले अधिकतम ५० कित्तासम्म शेयर प्राप्त गर्नेछन्।

 

Source: bizmandu