NepalEnergyForum

चौधरी ग्रुपले ४५ अर्ब लगानी थप्ने

फाल्गुण २७, २०७५

चौधरी ग्रुपले चालू आर्थिक वर्ष ०७५/७६ मा नेपालमा ४५ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । ग्रुपले सिमेन्ट, जलविद्युत्, होटेल, सपिङ मल, टेलिकमलगायत परियोजनामा उक्त लगानी गर्ने भएको हो । ‘केही प्रोजेक्ट सम्पन्न भइसकेका छन् भने केही कार्यान्वयन चरणमा रहेका छन्,’ ग्रुपले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसमा सिमेन्ट, जलविद्युत्, प्याकेजिङ, होललगायत परियोजना छन् ।’

चौधरीले चालू आवमा लगानी गरेका–गर्ने मुख्य प्रोजेक्टहरूमा पाल्पामा देशकै ठूलोमध्येको एक खानीसहितको सिमेन्ट उद्योग, काठमाडौंमा ताजभिभान्ता होटेल, चितवनमा सपिङ मल, होटेलसहित मल्टिप्रपोज मल ‘ल्यान्डमार्क’, सुनसरीमा सिजी इन्डस्ट्रियल पार्क, १८ मेगावाट क्षमताको मिडिल मोदी एवं ४४ मेगावाट क्षमताको सुपर मादी जलविद्युत् आयोजनालगायत छन् । सिजी इन्डस्ट्रियल पार्क नवलपुरमा रहेका सिजी ब्रुअरी, प्याकेजिङ, स्न्याक्स फुड एवं सफ्ट ड्रिंक्सलगायतका उद्योगको क्षमता विस्तारमा समेत थप लगानी गर्ने ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले जानकारी दिए । चालू आवमा गरिने लगानीमा २० अर्ब उद्योग व्यवसाय र २५ अर्ब टेलिकममा हुने उनको भनाइ छ ।

चौधरी ग्रुपले देशकै अत्याधिुनिक प्रविधियुक्त डिजिटल टेलिकम कम्पनी ‘सिजी लाइफसेल’ सञ्चालनमा ल्याउने तयारी भएको जनाएको छ । उनले भने, ‘टेलिकम परियोजनामा मात्रै करिब २५ अर्ब लगानी हुनेछ ।’ चौधरी ग्रुपअन्तर्गत १० हजारभन्दा बढी कर्मचारी कार्यरत छन् । ग्रुपले नवलपरासीमा स्थापना गरेको सिजी इन्डस्ट्रियल पार्क दक्षिण एसियाकै उत्कृष्टमध्येको एक मानिन्छ । त्यस्तै प्रदेश नम्बर ५ को बर्दिया र प्रदेश नम्बर १ को सुनसरीमा पनि औद्योगिक पार्क स्थापना गरिरहेको छ ।

चौधरी ग्रुपले साढे ९ अर्ब राजस्व बुझायो
फोब्र्सले सार्वजनिक गर्ने विश्वका धनीहरूको सूचीमा सूचीकृत अर्बपति विनोद चौधरीको चौधरी ग्रुपले सरकारलाई साढे ९ अर्ब रुपैयाँ राजस्व बुझाएको छ । चौधरी ग्रुपसम्बद्ध कम्पनीहरूले आर्थिक वर्ष ०७४/७५ मा ९ अर्ब ६७ करोड रुपैयाँया राजस्व बुझाएको हो । उक्त आवमा सरकारले उठाएको कुल राजस्वमा चौधरी ग्रुपको योगदान १.६४ प्रतिशत रहेको प्रबन्ध निर्देशक निर्वाण चौधरीले जानकारी दिए ।

समीक्षा आवमा ग्रुपले बुझाएको कर अघिल्लो आव ०७३/७४ को तुलनामा २२. ७२ प्रतिशतले बढी हो । अघिल्लो आवमा ग्रुपले ७ अर्ब ८८ करोड रुपैयाँ राजस्वमा योगदान गरेको थियो । त्यस्तै, आर्थिक वर्ष ०७२/७३ मा ग्रुपले ५ अर्ब ५९ करोड रुपैयाँ राजस्वमा योगदान गरेको चौधरीले बताए । ‘नेपालमा बढ्दो लगानी र फैलिँदै गएको व्यवसायबाट अन्ततः रोजगारी सिर्जना र राजस्वमा हाम्रो योगदान बढ्दै गएको छ,’ उनले भने, ‘हामी उच्च व्यावसायिक मर्यादा एवं पारदर्शितामा विश्वास गर्छौँ, हाम्रो प्रयासले राष्ट्रिय विकासमा योगदान पुग्नेछ भन्ने हाम्रो अटल विश्वास छ ।’ चौधरी ग्रुप कर्पोरेट हाउस हो । ग्रुपसम्बद्ध कम्पनीका सेयरधनीले लाभांश कर तिर्छन्, जुन व्यक्तिगत करमा प्रतिबिम्बित हुँदैन ।

 

स्रोत:नयाँपत्रीका