प्राधिकरणले पाँच वर्षमा सवा ६ खर्ब लगानी गर्ने

    1553

    ♦ वैदेशिक मात्र ३.६ खर्ब
    ♦ पाँच वर्षभित्र प्रतिफल १६ प्रतिशत
    ♦ निजी क्षेत्रबाट तीन हजार मेगावाट

    नेपाल विद्युत् प्राधिकरणले आगामी पाँच वर्षभित्र ६ खर्ब ३७ अर्ब रुपैयाँ बराबर लगानी गर्नेगरी ‘कर्पोरेट योजना’ तयार पारेको छ ।

    जलविद्युत् उत्पादन, वितरण र प्रशारणका लागि पाँच वर्षभित्र यति धेरै रकम लगानी गर्ने गरी कर्पोरेट योजना तयार पारेको हो । कुल रकममध्ये २ खर्ब सरकार र प्राधिकरण तथा बाँकी दातृ निकाय र अन्य स्वदेशी वित्तिय संस्थामार्फत लगानी गर्ने योजनामा उल्लेख छ ।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनः र राष्ट्रिय योजना आयोगका सदस्य डा. केपी ओलीसहितको उपस्थितमा शनिबार विद्युत् प्राधिकरणले यस्तो योजना अघि सारेको हो । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् प्राधिकरणको वर्तमान अवस्था र भावी योजना प्रस्तुत गर्नेक्रममा कर्पोरेट योजना पनि प्रस्तुत गरेका थिए । योजनाअनुसार ६ खर्ब ३७ अर्बमध्ये सरकारले १ खर्ब ५८ अर्ब, प्राधिकरणले ४२ अर्ब, वैदेशिक सहायताको सहुलियत ऋणबाट ३ खर्ब ६० अर्ब तथा ७७ अर्ब स्वदेशी वित्तीय संस्था अर्थात आन्तरिक स्रोतबाट लगानी गरिनेछ ।

    पाँच वर्षभित्र विद्युत् प्राधिकरणको कुल सम्पत्तिमध्ये ६ प्रतिशत प्रतिफल र कुल स्वँपुजी (इक्विटी) को १६ प्रतिशत प्रतिफल पुग्ने योजनामा उल्लेख छ । कार्यकारी निर्देशक घिसिङले आगामी दिनमा वितरणका लागि सात प्रदेश– सात वितरण कम्पनीका साथै केन्द्रमा प्राधिकरण होल्डिङ कम्पनीको रुपमा रहने र प्राधिकरणले सहायक कम्पनीमार्फत जलविद्युत्मा ठूलो लगानी गर्ने उल्लेख गरेका थिए । पाँच वर्षभित्र जलविद्युत्मार्फत ५ हजार मेगावाट र नवीकरणीय ऊर्जामार्फत ३ सय मेगावाट उत्पादन र खपतका साथै यसका लागि आवश्यक प्रशारण लाइन र वितरण लाइन निर्माण गरिसक्ने कार्यकारी निर्देशक घिसिङले प्रस्तुत गरेको योजनामा उल्लेख छ ।

    पाँच वर्षभित्र निजी क्षेत्रबाट ३ हजार मेगावाट तथा सरकारी निकायबाट थप एक हजार मेगावाट विद्युत् उत्पादन गरिसक्ने लक्ष्य प्राधिकरणको छ । प्राधिकरणले हाल मादी १ र २ गरी ६० मेगावाट, त्रिशुली ३ ए ६० मेगावाट र १४ मेगावाटको कुलेखानी तेस्रो आयोजना निर्माणाधीन छ भने सहायक कम्पनीमार्फत ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसीका साथै रसुवागढी, साञ्जेन र मध्यभोटेकोशी जलविद्युत्मार्फत २ सय ७० मेगावाट बराबरका आयोजना निर्माणाधीन छन् । हाल एक हजार मेगावाट बराबर विद्युत् उत्पादन छ ।

    सन् २०१९÷०२० सम्म विद्युत् आयात गर्ने, त्यसपछिको चार वर्ष इनर्जी बैकिङमार्फत आयात निर्यातको दरमा सन्तुलन रहने तथा सन् २०२४ पछि नेपालले विद्युत् निर्यात गर्ने योजनामा उल्लेख छ । हाल विद्युत् पहुँच ६५ प्रतिशत जनतामा मात्र पुगेको उल्लेख गर्दै आगामी पाँच वर्षभित्र शतप्रतिशतमा बिजुली पु¥याउने, ५ हजार मेगावाटको विद्युत्का लागि प्रशारण र वितरण लाइनको नेटवर्क बनाईसक्ने पनि योजनामा उल्लेख छ । औद्योगिक क्षेत्रका लागि विद्युत् वितरण र प्रशारणको पूर्वाधार विकास गर्ने पनि योजनामा उल्लेख छ । मन्त्रालय र प्राधिकरणका उच्चस्तरका कर्मचारी सहभागी भएर शनिबार दिनभर भएको कार्यक्रममा मन्त्री पुनले ऊर्जा क्षेत्रमा प्रधानमन्त्रीले लक्ष्य दिएकोले प्राप्तिका लागि सक्रिय हुनुपर्ने बताए । उनले प्राधिकरणको कर्पोरेट योजनाले धेरै क्षेत्र समेटेको भएपनि यसको कार्यान्वयन महत्वपूर्ण हुने बताए । योजना आयोगका सदस्य ओलीले जलविद्युत् क्षेत्रमा देखिएका अप्ठ्याराहरू हटाएर लगानीयुक्त वातावरण निर्माणका लागि अग्रसर हुनुपर्ने बताए ।

    भीम गौतम
    स्रोत:कारोबार