अमेरिकी कम्पनीले ६ सय मेगावाट सोलार प्लान्ट राख्ने

    1600

    अमेरिकी कम्पनी स्काइपावर ग्लोबलले नेपालमा निर्माण गर्न लागेको ६ सय मेगावाटको सौर्य ऊर्जा (सोलार) को प्रारम्भिक समझदारी गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । ६ सय मेगावाट सोलार आयोजनाको लागि १ खर्ब रुपैयाँ बराबरको लगानी गर्न लागेको छ भने यसबाट १५ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाउनेछन् ।

    अमेरिकी कम्पनी स्काइपावर ग्लोबलले नेपालमा निर्माण गर्न लागेको ६ सय मेगावाटको सौर्य ऊर्जा (सोलार) को प्रारम्भिक समझदारी गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । ६ सय मेगावाट सोलार आयोजनाको लागि १ खर्ब रुपैयाँ बराबरको लगानी गर्न लागेको छ भने यसबाट १५ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाउनेछन् ।  विश्वका ३४ स्थानमा ८० खर्ब रुपैयाँ बराबरको २५ हजार मेगावाट सोलार आयोजना निर्माण र विकास गर्न लागेको स्काइले गरेको प्रस्तावअनुसार अघि बढेको छलफल अन्तिम चरणमा पुगेको हो । स्काइपावर ग्लोबलका प्रतिनिधिले नेपालमा विभिन्न स्थानमा ६ सय मेगावाट बराबरको सोलार निर्माणका लागि गत चैतमा प्रस्ताव गरेका थिए ।

    स्काइका क्षेत्रीय प्रबन्धक इमतिज महतबलगायतले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई भेटेर आफू इच्छुक रहेकोले प्रस्ताव गरेको बताउँदै सहजीकरणका लागि अनुरोध समेत गरिसकेका छन् भने ऊर्जा मन्त्री पुनले स्काइपावरलाई सोलार निर्माणका लागि सबै किसिमको सहयोग र दु्रतगतिमा निर्माणका लागि सहजीकरण गर्ने बताएका छन् । “एक खर्ब रुपैयाँ बराबरको लगानी गर्ने गरी स्काइ पावर ग्लोबलले नेपालमा ६ सय मेगावाटको सोलार निर्माणका लागि मन्त्रालयमा प्रस्ताव गरे अनुसार छलफल अघि बढेको छ,” ऊर्जामन्त्री पुनका प्रेस संयोजक रोशन खड्काले भने, “सोलार बनाउनका लागि मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र स्काइ कम्पनीका प्रतिनिधिहरूबीच पटक पटक छलफल भएर समझदारी गर्ने चरणमा पुगेको छ ।” उनका अनुसार कम्पनीको अध्यक्षनै नेपाल आएर ६ सय मेगावाटको सोलार आयोजनाबारे छिट्टै समझदारी गर्ने योजना छ ।  ऊर्जा मन्त्रालयले पछिल्लो पटक निर्धारण गरेको प्रतियुनिट ७.३० रुपैयाँमै सोलार बनाउने योजना स्काइ कम्पनीको छ । कम्पनीले नेपाल सरकारलाई जग्गा उपलब्ध गराउन आग्रह गर्दै उपलब्ध जग्गा खरिद गरेर विभिन्न ठाउँमा गरी सोलार आयोजना अघि बढाउने योजना बनाएको छ । हालै जारी गरेको मार्गचित्रसहितको श्वेतपत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीले प्रदेश नम्बर २ मा २ सय मेगावाटसहित मिश्रित ऊर्जामा जाने घोषणा गरेको र प्रसिद्ध कम्पनीले ६ सय मेगावाटका लागि लगानी गर्ने बताएपछि यसलाई सहजीकरणका लागि मन्त्री पुनले विशेष चासोका साथ हेरेर अघि बढाउनका लागि सहयोग गरिरहेको प्रेस सयोजक खड्काले जानकारी दिए । ऊर्जा मन्त्रालयका अधिकारीहरूका अनुसार सकेसम्म सरकारी जग्गा उपलब्ध गराएमा सहज हुने बताउँदै चरणवद्ध रुपमा ६ सय मेगावाट बनाउने गरी प्रस्ताव गरेकोमा सम्भावित क्षेत्रबारे छलफल भइरहेको छ । तीन वर्षभित्र ६ सय मेगावाट सोलार बनाउने योजना स्काइको छ । स्काइपावरले हालै १ हजार मेगावाट बराबरको सोलार निर्माणका लागि उज्वेकिस्तानमा एक खर्ब ३० अर्बको लगानीमा निर्माण गर्ने गरी विद्युत् खरिद सम्झौता (पीपीए) गरेको छ भने भारतमा १५ सयभन्दा बढी र वंगलादेशमा २ हजार मेगावाटभन्दा बढीको सोलार आयोजना निर्माण गर्न लागेको छ ।

     भीम गौतम
    स्रोत:कारोबार