NepalEnergyForum

लघु जलविद्युत्बाट ५ वर्षमा २५ मेगावाट विद्युत्

माघ १, काठमाडौं । लघु जलविद्युत् आयोजनाबाट आगामी ५ वर्षभित्र थप २५ मेगावाट विद्युत् उत्पादन गरिने भएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा विद्युत् उत्पादन गर्न लागिएको हो । नेपाल ग्रामीण नवीकरणीय ऊर्जा कार्यक्रम (एनआरआरईपी)अन्तर्गत विद्युत् उत्पादन गर्न लागिएको केन्द्रका कार्यकारी निर्देशक प्राडा. गोविन्दराज पोखरेलले बताए ।

सोलार होम सिष्टम (एसएचएस)बाहेक अन्य नवीकरणीय ऊर्जामा समेत अनुदान दोब्बर गरिने उनको भनाइ छ । यसअघि बायोग्यास, लघु जलविद्युत् र वायु ऊर्जा आयोजना सञ्चालन गर्नेले पाउँदै आएको अनुदान रकम दोब्बर हुनेछ । हाल लघु जलविद्युत् आयोजनाका लागि सरकारले प्रतिकिलोवाट रू. १० हजारदेखि २ लाख ५० हजारसम्म अनुदान दिँदै आएको छ । परियोजनाको कुल लागतको ४० प्रतिशत अनुदान र ६० प्रतिशत उपभोक्तले सङ्कलन गर्नुपर्ने व्यवस्था छ । हालसम्म लघु जलविद्युत् आयोजनाबाट उत्पादित २२ मेगावाट विजुलीबाट नेपालभरका ३ लाख घरधुरी लाभान्वित भएका केन्द्रको दाबी छ । आयोजनाबाट उत्पादित विद्युत् उपभोक्ताले साँझबिहान ६ घण्टा मात्र प्रयोग गर्ने गरेकाले २५–३० प्रतिशत मात्र खपत हुने गरेको छ । ‘बाँकी ७० प्रतिशत विद्युत् खेर गइरहेको छ,’ नेपाल विद्युत् प्राधिकरण ठूला विद्युत् उत्पादन विभागका निर्देशक हितेन्द्रदेव शाक्यले भने ।

हालसम्म लघु जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडने कार्य हुन सकेको छैन । प्राधिकरणले थोरै परिणाममा उत्पादन हुने विद्यत् जडान गर्न आनकानी गरेकोले प्रसारण लाइनमा जोडने कार्य हुन सकेको छैन । ‘गाउँको उज्यालो शहरमा ल्याउन सकिए लोडशेडिङमा कमी आउने थियो,’ माथेमाले भने ‘५–६ लघु आयोजनाबाट उत्पादित विद्युत् एकीकृत (सिङ्क्रोनाइज) गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने प्रयास भइरहेको छ ।’ नेपालमा २०१९ सालबाट लघु जलविद्युत् आयोजना निर्माण हुन थालेका हुन् । ५० वर्षको अवधिमा लघु जलविद्युत् आयोजनाबाट करीब २२ मेगावाट विद्युत् उत्पादन भएको छ ।

प्रस्तुति: अभियान