NepalEnergyForum

२२०० मेगावाटका आयोजना अध्ययन गर्न टेन्डर

काठमाडौँ — विद्युत् विकास विभागले २२ सय मेगावाटभन्दा बढी क्षमता भएका १० वटा आयोजनाको अध्ययन थाल्ने भएको छ । यी आयोजनाको सम्भाव्यता अध्ययन र प्रारम्भिक वातावरणीय परीक्षण गर्न विभागले टेन्डर आह्वान गरेको छ । यी १० आयोजनाको कुल क्षमता २ हजार २ सय ४७ मेगावाट हुन्छ ।

विभागले दार्चुलास्थित ६० मेगावाटको माथिल्लो चमेलिया, ताप्लेजुङस्थित ६५ दशमलव ८ मेगावाटको यन्मा, सोलुखुम्बुस्थित २५ दशमलव ८ मेगावाटको मध्यइन्खु, ६२ मेगावाटको हुम्ला–कर्णाली आयोजनाको सम्भाव्यता र वातावरणीय प्रभाव मूल्यांकनका लागि टेन्डर आह्वान गरेको हो ।

यीसँगै काभ्रे र सिन्धुलीस्थित तीन सय २६ मेगावाटको कोखाजोर आयोजना र ८ सय ४४ मेगावाटको कालीगण्डकी आयोजना आयोजनाको सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्यांकनका लागि प्रस्ताव माग गरेको हो । कोखाजोर र कालीगण्डकी जलाशययुक्त आयोजना हुन् ।
दोलखा र रामेछापमा अवस्थित २ सय २६ मेगावाटको थोसे शिवालय जलाशययुक्त आयोजनाको सम्भाव्यता र वातावरणीय प्रभाव मूल्यांकन अध्ययनका लागि पनि विभागले प्रस्ताव माग गरेको छ । डोल्मामा पहिचान गरिएको ५ सय १२ मेगावाटको भार्बुङ जलाशययुक्त आयोजनाका लागि पनि प्रस्ताव माग गरिएको छ । यही आयोजनाअन्तर्गत १० मेगावाटको रन अफ रिभर प्रकृतिको तातु आयोजनाको पनि अध्ययन गर्न लागिएको विभागले जनाएको छ ।
निर्माणमा जान सक्ने तयारी अवस्थाका आयोजना कम हुँदै गएकाले विभागले अध्ययन थाल्ने प्रक्रिया सुरु गरेको महानिर्देशक मधु भेटवालले बताए ।
यी आयोजनामा सम्भाव्यता र वातावरणीय प्रभाव मूल्यांकनको अध्ययन गर्न चाहनेले यही मे २८ भित्र प्रस्ताव दर्ता गरिसक्नुपर्ने म्याद दिइएको छ । ‘प्रस्ताव मूल्यांकनका लागि ४–५ महिना लाग्छ,’ भेटवालले भने, ‘ठूला आयोजनाको अध्ययन सक्न कम्तीमा पनि ३० महिना लाग्छ ।’
सम्भाव्यता अध्ययनको क्रममा यी आयोजनाको स्थलाकृतिक सर्वेक्षण, हाइड्रोलोजिकल, गेग्रान तथा हाइड्रोमेट्रोलोजिक सर्वेक्षण हुनेछ । योबाहेक आयोजना वरपर उपलब्ध हुने निर्माण सामग्री, सामग्री लानका लागि आवश्यक पूर्वाधार, प्रसारण लाइनको सर्वेक्षणजस्ता विषय समावेश हुनेछ ।
विभागले एक सय मेगावाटभन्दा बढी क्षमता भएका ३७ वटा आयोजनाको सर्वेक्षण अनुमति जारी गरेको छ । यी आयोजनाको कुल क्षमता १३ हजार ४ सय ८० मेगावाट भएको विभागको तथ्यांक छ । २५ देखि सय मेगावाटसम्मका ५१ वटा आयोजनाका लागि सर्वेक्षण अनुमतिपत्र जारी गरिएको विभागले जनाएको छ । यी आयोजनाको कुल जडित क्षमता २ हजार ६ सय ७८ मेगाावट छ ।
२५ मेगावाटसम्म जडित क्षमता भएका एक सय ९८ विद्युत् आयोजनाको सर्वेक्षण भइरहेको विभागको तथ्यांक छ । २५ मेगावाटभन्दा कम क्षमता भएका करिब २ सय आयोजनाको कुल क्षमता २ हजार ३३ मेगावाट छ । विभागका अनुसार अहिले सानादेखि ठूला गरी २ सय २ वटा आयोजना निर्माणको विभिन्न चरणमा छन् । निर्माणाधीन यी आयोजनाको कुल क्षमता ७ हजार ७ सय २६ मेगावाट छ ।
अहिले १ हजार २५ मेगावाट भएका ७६ वटा विद्युत् आयोजनाले विद्युत् उत्पादन गरिरहेका छन् । यीमध्ये अधिकांश आयोजना रन अफ रिभर प्रकृतिका हुन् । १ मेगावाटभन्दा कम क्षमता भएका १५ वटा आयोजनाले विद्युत् उत्पादन गरिरहेका छन् ।
-कान्तिपुर