NepalEnergyForum

सिंहदरबारमा १ मेगावाट सोलार जडानको काम तीव्र

चीन सरकारको ५५ करोड अनुदानमा प्रोजेक्ट सुरु  –

सिंहदरबारभित्र चीन सरकारको अनुदानमा निर्माण भइरहेको १ मेगावाटको सोलार प्लान्ट जडानले तीव्रता पाएको छ । तीन फेजमा काम गरिरहेको चिनियाँ कम्पनीले दोस्रो चरणको काम सकेर तेस्रो चरणको काम थालिसकेको छ । सोलार जडानको जिम्मा चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले पाएको छ भने परामर्शदाता कम्पनीका रूपमा चीनकै चाइना न्यु इरा इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसनले काम गरिरहेको छ ।

२०६७ सालमा तत्कालीन सरकारले सिंहदरबार परिसरमा १ मेगावाटको सोलार प्लान्ट राख्ने योजना बनाएको थियो । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारका सरकारी कार्यालयहरू र सिंहदरबारवरिपरि रहेका अन्य सरकारी कार्यालयहरूको छतमा सोलार जडान गर्ने काम धमाधम भइरहेको छ ।

आगामी डिसेम्बर महिनासम्म जडान कार्य सक्ने योजनाका साथ चिनियाँ कम्पनीले काम गरिरहेको र दुईतिहाइ काम सकिएको ऊर्जा मन्त्रालयका सहसचिव एवं प्रवक्ता दिनेशकुमार घिमिरेले बताए ।

सिंहदरबारलाई लोडसेडिङमुक्त क्षेत्र बनाउने र बाँकी रहेको विद्युत्लाई प्रसारणलाइनमा जडान गर्ने लक्ष्यसहित मन्त्रालय र विद्युत् प्राधिकरणको पहलमा सोलार राख्ने काम भएको हो ।

‘गत जनवरी महिनादेखि सुरु भएको सोलार जडानको कामले अन्तिम रूप लिँदै छ,’ घिमिरेले भने, ‘अब सिंहदरबार विद्युत्मा आत्मनिर्भर हुँदै छ र निर्माण कम्पनीले पनि तीव्रताका साथ काम गरिरहेको छ ।’

हालसम्म सिंहदरबारबाहिर बिमा समिति र बिमा कम्पनीमा अर्थिङ र रेलिङको काम सकिएको छ । त्यस्तै गृह मन्त्रालय र राष्ट्रिय सूचनाप्रविधि केन्द्रको छतमा सोलार जडानको काम भइरहेको छ । चीन सरकारले ५५ करोड रुपैयाँबराबरको अनुदानमा यो प्रोजेक्ट सुरु गरेको हो । यो आयोजनाबाट उत्पादित १ मेगाबाट बिजुली नेपाल विद्युत् प्राधिकरणको सिंहदरबारमा रहेको के थ्री सबस्टेसनमा जडान गरिने घिमिरेले बताए ।

सिंहदरबारका ऊर्जा, अर्थ, परराष्ट्र, शिक्षा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, विज्ञान तथा प्रविधि मन्त्रालयमा सोलार जडान गरिनेछ । त्यस्तै राष्ट्रिय योजना आयोग, हुलाक क्षेत्रीय कार्यालय र रेडियो नेपाल तथा सिंहदरबारसँग जोडिएका जिल्ला विकास समिति, जिल्ला अदालत, बिमा समिति, वाणिज्य बैंकलगायतका २५ वटा भवनका छतमा सोलार जडान गरिनेछ ।

यसअघि चिनियाँ टोलीले सिंहदरबारभित्र र बाहिरका सरकारी कार्यालयका छतमा सोलार राखेर विद्युत् उत्पादन गर्नेबारेमा अध्ययन गरेको थियो । अध्ययनको सुरुवातमा सिंहदरबारभित्रका सम्पूर्ण छत प्रयोग गर्दा ५ मेगावाट विद्युत् उत्पादन हुने पत्ता लागेको थियो । तर, सबै भवनमा सोलारका पाता राख्न नमिल्ने भएपछि १ मेगावाटमा मात्र उत्पादन गर्न थालेको हो ।

केही मन्त्रालय र भवनमा प्यानल राख्न नमिल्ने भएपछि ८० किलोवाटबराबरको सोलार प्यानल ऊर्जा, अर्थ र परराष्ट्र मन्त्रालयको पार्किङ क्षेत्र तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पार्किङ क्षेत्रमा समेत जडान गरेर उत्पादन गरिने भएको छ ।

स्रोत : नयाँ पत्रिका