सिमेन्टमा साढे १२ अर्ब र जलविद्युत आयोजनामा १० अर्बको प्रतिवद्धता

    1325

    Dec 19, 2018

    काठमाडौं। सिमेन्ट उद्योगमा साढे १२ अर्ब रुपैयाँ स्वदेशी लगानी प्रतिवद्धता आएको छ। कपिलवस्तुमा स्थापना हुन लागेको सिनर्जी सिमेन्ट उद्योगले ९ अर्ब ७८ करोड ५९ लाख रुपैयाँ लगानी गर्ने भएको छ। यसैगरी मारुती सिमेन्टले सिराहामा स्थापना गर्न लागेको शाखा उद्योगमा दुई अर्ब ५७ करोड ८८ लाख रुपैयाँ लगानी प्रतिवद्धता गर्दै उद्योग दर्ता गरेका छन्।

    सिनर्जी सिमेन्टले ८ लाख ३८ हजार २०० मेट्रिक टन क्लिंकर, ओपिसी सिमेन्ट तीन लाख ३० हजार मेट्रिक टन, पिपिसी सिमेन्ट तीन लाख ३० हजार मेट्रिक टन र पिएससी सिमेन्ट ३ लाख ३० हजार मेट्रिक टन गरी १८ लाख २८ हजार २०० मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको छ। यो बार्षिक उत्पादन लक्ष्य हो।

    मारुती सिमेन्टको शाखा उद्योगले भने ६ लाख ६० हजार मेट्रिक टन ओपिसी सिमेन्ट र १३ हजार २०० मेट्रिक टन क्लिंकर उत्पादन गर्ने लक्ष्य लिएको छ।

    दुई उद्योगमा गरी १२ अर्ब ३६ करोड ४७ लाख रुपैयाँ स्वदेशी लगानी प्रतिवद्धतामा २५ लाख एक हजार ४०० मेट्रिक टन सिमेन्ट तथा क्लिंकर उत्पादन गर्ने लक्ष्य लिइएको छ। जसमध्ये क्लिंकर ८ लाख ५१ हजार ४०० मेट्रिक टन र सिमेन्ट १६ लाख ५० हजार मेट्रिक टन उत्पादन हुने छ।
    दुई उद्योगमा सिनर्जीले सिमेन्टले ३९९ जना र मारुती सिमेन्टले ५८७ जना गरि ९८६ जनालाई प्रत्यक्ष रोजगारीको प्रतिवद्धता गरेका छन्।

    मंसिरमा दर्ता भएका ३९ उद्योगमा २८ अर्ब ९० करोड रुपैयाँ लगानीको प्रतिवद्धता भएको छ। जसमा दुई हजार ७९० जनालाई प्रतक्ष रोजगारीको पनि प्रतिवद्धता गरिएको छ। ३९ उद्योग मध्ये १० वटा ठूला उद्योग, ६ वटा मझौला उद्योग र २६ वटा साना उद्योगमा लगानी प्रतिवद्धता आएको हो।

    जसमध्ये ११ वटा उत्पादनमुलक उद्योग, १० वटा पर्यटन उद्योग, १३ वटा सेवा उद्योग र ५ वटा अन्य उद्योग दर्ता भएका हुन्।

    जलविद्युत आयोजनामा १० अर्बको प्रतिवद्धता
    मंसिरमा दर्ता भएका उद्योग मध्ये ३ वटा जलविद्युत आयोजनामा १० अर्ब १५ करोड रुपैयाँको लगानी प्रतिवद्धता भएको छ।

    इलाममा निर्माण हुने ३ मेगावाटको माइखोला जलविद्युत आयोजनामा ५५ करोड ५९ लाख रुपैयाँ, धादिङमा निर्माण हुने ४९.९ मेगावाटको आँखु जलविद्युत आयोजनामा ६ अर्ब ३१ करोड रुपैयाँ र दोलखामा निर्माण हुने २० मेगावाटको हिम पर्वत जलविद्युत आयोजनामा ३ अर्ब २९ करोड रुपैयाँ गरि १० अर्ब १५ करोड ५९ लाख रुपैयाँ लगानी प्रतिवद्धता हुँदा कुल लगानी प्रतिवद्धता करिब २९ अर्ब रुपैयाँ पुगेको हो।

    दुई सिमेन्ट उद्योगमा साढे १२ अर्ब रुपैयाँ र ३ जलविद्युत आयोजनामा सवा १० अर्ब रुपैयाँ गरि करिव साढे २२ अर्ब रुपैयाँ लगानी प्रतिवद्धता हुँदा, अन्य ३४ उद्योगमा भने ६ अर्ब रुपैयाँको मात्रै लगानी प्रतिवद्धता भएको उद्योग विभागले जनाएको छ।

    अमर बडुवाल

    Source: Bizmandu