NepalEnergyForum

५३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत् निर्माण सुरु हुँदै, लागत १२ अर्ब रुपैयाँ

बाबियाचौर।म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ५३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत् आयोजना निर्माणको तयारी भएको छ ।

हाइड्रो सपोर्ट प्रालि काठमाडौँले कालीगण्डकी नदीमा आयोजना निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन कार्यलाई अन्तिम चरणमा पुर्याएको छ । वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदन तयार पार्नका लागि आयोजनाले सोमबार अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा सार्वजनिक सुनुवाइ गरेको थियो ।अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरमा बाँध रहने आयोजनाको विद्युतगृहको सोही पालिकाको २ नम्बर वडामा पर्ने ठूलोबगर क्षेत्रमा प्रस्ताव गरिएको जानकारी गराइएको थियो । चार हजार १०० मिटर सुरुङ रहने आयोजनाको विद्युतगृहदेखि फोरबेको उचाइ ११५ मिटर हुने जनाइएको छ ।

प्रतिवेदन तयार पारेर स्वीकृत भएपछि नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता गरी विद्युत् विकास विभागले पूर्वाधार निर्माणको अनुमति दिने प्रक्रिया रहेको छ । लगानीको स्रोत जुटाएर आगामी डेढ वर्षभित्रमा पूर्वाधार निर्माणको चरणमा प्रवेश गर्ने तयारी भएको आयोजनाका प्रमुख चन्द्र ढकालले बताए।ढकालले करीब रु १२ अर्ब लागत अनुमान गरिएको आयोजनामा प्रवद्र्धकको रुपमा लगानीका लागि प्रभावित क्षेत्रका लगानीकर्तालाई समेत आह्वान गरे । प्रभावित क्षेत्रका बासिन्दालाई पब्लिक शेयरको समेत सुविधा दिइने भएको छ ।

सार्वजनिक सुनुवाइमा सहभागीले कालीगण्डकी किनारमा अवस्थित पर्यटकीय महत्वको तातोपानी कुण्डलाई असर नपुग्ने गरी आयोजना निर्माण गर्न सुझाव दिएका वडाध्यक्ष ओमप्रकाश फगामीले जानकारी दिए । भूगर्भविद्ले गरेको अध्ययनअनुसार जलविद्युत् आयोजना बनाउँदा तातोपानीको मुहानलाई असर नगर्ने जानकारी गराइएको थियो । अन्नपूर्ण गाउँपालिकामा हाल पाँच मेगावाट क्षमताको घलेम्दीखोला, ४२ मेगावाटको मिस्त्रीखोला, १४ मेगावाटको घारखोला जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् ।

४ नम्बर वडामा पर्ने नारच्याङमा ४२ मेगावाटको नीलगिरि र ६२ मेगावाटको नीलगिरि क्यासकेट जलविद्युत् आयोजना निर्माणका लागि सडक निर्माणको काम भइरहेको छ । ३ नम्बर वडा दानामा सव स्टेशन र त्यहाँदेखि पर्वतको कुश्मासम्म विद्युत् प्रशारण लाइन निर्माणको काम तीव्ररुपमा अघि बढेको छ । प्रशारण लाइन र सवस्टेशन निर्माणसँगै जलविद्युत् आयोजना निर्माण कार्यले तीव्रता पाएको हो ।

-रासस