NepalEnergyForum

३० मेगावाट विद्युत् थपिँदै

श्रावण ८, २०७४- निजी क्षेत्रद्धारा निर्मित तीन विद्युत् आयोजनाबाट ३० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा थपिने भएको छ। निर्माण र मर्मत सम्भार भइरहेको आयोजनाको उत्पादन प्रसारणमा जोड्ने तयारी गरिएको छ। भूकम्पले क्षति गरेपछि उत्पादन ठप्प रहेको जुगल गाउँपालिकाको ४ दशमलव २ मेगावाट क्षमताको बराम्ची आयोजना र भोटेकोसी गाउँपालिकाको चाकु ‘ए’ आयोजनाको निर्माण धमाधम भइरहेको हो।

जुगलकै हगामस्थित ३ दशमलव २ मेगावाटको गेलुङ खोला आयोजना चाँडै पूरा हुने लगानीकर्ताहरूले बताए छन्। ०७२ मा सम्पन्न गरिने लक्ष्य राखिएको शिवश्री हाइड्रोपावरले निर्माण गरिरहेको २२ दशमलव २ मेगावाटको चाकु ‘ए’ आयोजनाले माघमा विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ। उक्त आयोजना निर्माणमा ०७२ को भूकम्प र गत असारको भोटेकोसी बाढीले असर गरेको थियो। लामो समय बन्द रहेका आयोजनाको निर्माण तीव्र गतिमा भइरहेको चाकु ‘ए’ का कार्यकारी निर्देशक उमेश कसजूले जानकारी दिए। ‘आगामी माघसम्म आयोजनाको कार्य अन्तिम चरणमा पुर्‍याउनेछौं,’ उनले भने,‘ नयाँ कार्ययोजनाअनुसार यो भेगबाट त्यतिबेलासम्म ३० मेगावाट बिजुली प्रसारण लाइनमा जोडिनेछ्।’

स्रोत:कान्तिपुर