NepalEnergyForum

२५ मेगावाटको रोल्वालिङ डाइभर्सन निर्माण गर्दै तामाकोसी

माथिल्लो तामाकोसीबाट हिउँदको ऊर्जा बढाउन निर्माण गर्न लागिएको डाइभर्सनबाट छुट्टै विद्युत् गृह बनाउने निर्णय

काठमाडौं, १ कात्तिक

अपर तामाकोसी हाइड्रोपावर कम्पनीले रोल्वालिङ खोला डाइभर्सनबाट अर्को छुट्टै २५ मेगावाटको जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । यसअघि माथिल्लो तामाकोसी आयोजनामै रोल्वालिङ खोलाको पानी मिसाउन मात्रै डाइभर्सन बनाउने गरी विस्तृत इन्जिनियरिङ डिजाइन भएको थियो । अब त्यसमा २५ मेगावाटसम्मको छुट्टै आयोजना निर्माण गरिने कम्पनीले जनाएको छ ।

तामाकोसीको जलाशय रहेको उचाइभन्दा करिब दुई सय मिटरमाथि उचाइबाट रोल्वालिङ डाइभर्सन सुरुङ आउँछ । उक्त उचाइ (वाटर हेड)लाई प्रयोग गरी अर्को २२ देखि २५ मेगावाटसम्मको छुट्टै जलविद्युत् आयोजना निर्माण गरिने कम्पनीले जनाएको छ ।

रोल्वालिङ डाइभर्सनबाट सस्तोमा वार्षिक करिब १६ करोड युनिट ऊर्जा उत्पादन गर्ने देखिएपछि त्यसमा जलविद्युत् आयोजना पनि बनाउने निर्णय गरिएको कम्पनीका अध्यक्ष एवं नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

‘बाँध, सुरुङलगायतका संरचना खोला डाइभर्सन गर्दा बनाउनु नै पर्छ, त्यसमा बालुवा थिग्य्राउने बेसिन र विद्युत्गृह मात्रै थप बनाएर २५ मेगावाटसम्मको आयोजना बनाउन सकिन्छ,’ उनले भने, ‘मूल्यवान् ऊर्जा खेर जान नदिन निर्माणको आवश्यक प्रक्रिया तुरुन्त सुरु गर्ने निर्णय गरेका छौँ ।’

डाइभर्सन निर्माणपछि माथिल्लो तामाकोसीमा वार्षिक करिब १७ करोड युनिट ऊर्जा थप हुनेछ । निर्माण गर्न लागिएको छुट्टै विद्युत्गृहबाट थप करिब १६ करोड युनिट ऊर्जासमेत उत्पादन हुनेछ । यसरी निकै सस्तोमा करिब ८० मेगावाटको विद्युत् आयोजनाबाट प्राप्त हुनेबराबरको ऊर्जा रोल्वालिङ डाइभर्सनबाट पाउन सकिने घिसिङले बताए ।

माथिल्लो तामाकोसीको दोस्रो चरणमा रोल्वालिङको पानी डाइभर्सन गरी दोलखाको लामाबगरमा रहेको आयोजनाको बाँधमा मिसाउन लागिएको हो । यसबाट हिउँदमा आयोजनाबाट करिब १७ करोड ऊर्जा थप हुने कम्पनीले जनाएको छ । डाइभर्सनमा करिब ७ किलोमिटर सुरुङ बनाउनुपर्ने छ । यसकोे विस्तृत इन्जिनियरिङ डिजाइन भइसकेको कम्पनीले जनाएको छ ।

आयोजना कम्पनीले नै बनाउने
रोल्वालिङ डाइभर्सन जलविद्युत् आयोजना अपर तामाकोसी हाइड्रोपावर कम्पनीले नै बनाउने भएको छ । ‘आयोजना निर्माणका लागि छुट्टै कम्पनी खडा गरिँदैन,’ घिसिङले भने, ‘रोल्वालिङ डाइभर्सनमा विद्युत् अयोजना पनि बन्नु माथिल्लो तामाकोसीका लागि धेरै राम्रो हो।’

लागत तय भएपछि माथिल्लो तामाकोसीमै ऋण लगानी गरिरहेका कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायतलाई लगानीका लागि आग्रह गरिने उनले बताए ।

बाँधस्थलसम्म पुग्न भौगोलिक जटिलता
रोल्वालिङ डाइभर्सनको बाँधस्थल विकटमा रहेकाले त्यहाँसम्म पुग्न भौगोलिक जटिलता छ । यसका लागि दोलखाको छेतछेतदेखि गौरीशंकर गाविसको रिखु गाउँसम्म करिब २ किलोमिटर रोपवे बनाउने तयारी भइरहेको कम्पनीले जनाएको छ । रोपवेबाटै निर्माण सामग्रीलगायत ढुवानीको योजना बनाइएको छ ।

स्रोत : सचेन गौतम/नयाँ पत्रिका