सोमबारदेखि भारतबाट १२० मेगावाट बिजुली आयात बन्द हुने, उद्योगमा लोडसेडिङ

    1395

    काठमाडौं । आउदो ४ दिन भारतबाट १२० मेगावाट बिजुली आयात बन्द हुने भएको छ । क्षमता विस्तारका लागि लाइनको सुध्रिढीकरणको काम गर्न सोमबारदेखि बिहीबारसम्म ढल्केबर मुज्जफपुर अन्तरदेशिय प्रसारणलाइनबाट बिजुली आयात बन्द हुने भएको हो ।

    अन्तरदेशिय प्रसारणलाइनलाई २२० केभी क्षमता बनाउन भारततर्फ केही प्रविधिक काम गर्नुपर्ने भएपछि १२० मेगावाट बिजुली आयात बन्द हुने नेपाल विद्युत प्राधिकरणका प्रवत्ता प्रवल अधिकारीले बताए । १२० मेगावाट बिजुली आयात बन्द भएपनि आन्तरिक व्यवस्थापनबाट बिजुलीको माग व्यवस्थापन गर्ने तयारी भएको उनले सुनाए । औद्योगिक क्षेत्रमा लोडसेडिङ हुने संभावना रहेको अधिकारीले जानकारी दिए । वर्षादका कारण उत्पादन बढेकाले व्यवस्थापन गर्न समस्या नपर्ने उनको भनाई छ ।

    सो प्रसारणलाइन २२० केभी क्षमतामा गएपछि थप १५० मेगावाट बिजुली आदनप्रदान गर्न सकिने उनले जानकारी दिए । २२० केभीमा स्तरोन्नोतीपछि ३०० मेगावाटसम्म बिजुली आदनप्रदान गर्न सकिने छ । धनुषाका ढल्केबरमा रहेको सवस्टेशनलाई २२० केभीमा स्तरोन्नोती भइसकेको छ । अब प्रसारणलाइनलाई सुध्रिढीकरण गर्न मात्र बाँकी रहेको अधिकारीको भनाई छ । लोडसेडिङ हटाउन भारतबाट ५०० मेगावाटसम्म बिजुली आयात भइरहेको छ ।

    आगामी १ वर्षमा सो प्रसारणलाइनलाई ४०० केभी क्षमतामा स्तरोन्नोती सम्पन्न हुने छ । यसपछि १ हजार मेगावाट बिजुली आयात र निर्यात गर्न बाटो खुला हुनेछ । हालसम्म सो प्रसारणलाइन १३२ केभीमा सञ्चालन हुदै आएको छ ।

    -विकासन्युज