NepalEnergyForum

सेतीको बाँध फुट्यो, दुई जलविद्युत् आयोजना प्रभावित

सेती नदीको जीर्ण अवस्थामा पुगेको बाँध फुट्दा २ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन् । ३१ वर्षअघि बनाइएको जीर्ण अवस्थामा पुगेको सेती नदीको बाँध समयमै मर्मत गर्न नसक्दा भत्किएकाले नदीपुरको सेती फेवा जलविद्युत् आयोजना र टाक्स जलविद्युत् आयोजना प्रभावित हुन थालेका हुन् ।

सिँचाइ विकास डिभिजन कास्कीका डिभिजन प्रमुख तुल्सीराम भट्टराईले सेती नदीको बाँध जीर्ण भएर भत्किएकाले बाँधकै पानीबाट सञ्चालित दुइटा जलविद्युत् आयोजनासहित १० हजार हेक्टर क्षेत्रफलमा हुँदै आएको सिँचाइ हाल प्रभावित हुन पुगेको बताए । ०४२ सालमा चीनले बनाइ दिएको बाँध नियमित मर्मत सम्हार हुन नसक्दा भत्किएको हो । उनले भत्किएको बाँध तत्काल मर्मत गर्न नसक्ने अवस्थामा रहेको बताए ।

“अहिले वर्षात्को समय भएकाले पानीको ठूलो बहाव छ, हामीले चाहेर पनि धेरै काम गर्न सक्दैनौं, विभागबाट डिभिजनको टोली आउँदैछ, उसले दिएको निर्देशनअनुसार अस्थायी रूपमा केही मात्रमा जलविद्युत्सहित सिँचाइका लागि पानी प्रयोग गर्न सक्छौं ।”

०६२ सालमै केही समस्या देखिएको बाँध ०६८ सालमा आएको विनाशकारी सेती बाढीले केही भाग कमजोर पारेको थियो । तर, यो वर्षको पानीको बहावले करिब १० मिटर बाँध लच्किएर भत्किएको प्रमुख भट्टराईले जनाए ।

ठूलो खोला भएकाले आफूहरूले नियमित मर्मत गर्न नसक्दा यो अवस्थामा पुगेको भट्टराईले बताए । उनले बाँधको अन्य १०/१० मिटरका दुई भागसमेत लच्कन वा भत्कन सक्ने अवस्थामा पुगेको जानकारी दिए ।

“२ वटा जलविद्युत् आयोजनासहित करिब १० हजार हेक्टर क्षेत्रफलमा सिँचाइ गर्न सेती नदीको प्रतिसेकेन्ड ११ हजार लिटर पानी आवश्यक पर्छ,” उनले भने । बाँध फुटेपछि मालेपाटन, बाजापाटन, काँहुखोला, औद्योगिक क्षेत्रमा पानीको समस्या पर्न थालेको छ ।

सेती बाँधका अपरेटर दलबहादुर थापाले बाँध भत्किएर नदीको गहिराई बढ्न लागेकाले स्काभेटर प्रयोग गरी अस्थायी रूपमा पानी प्रयोग गर्नुपर्ने बताए । उनले भने, “बाँधका अन्य दुई भागसमेत भत्कने अवस्थामा पुगेकाले यसले कुनै पनि बेला ठूलो समस्या ल्याउन सक्ने छ ।”