NepalEnergyForum

सुरुङ खन्ने काममा प्रगति

Kulikhani III HEP Adit Tunnel

हेटौँडा, १० माघ – मकवानपुरको भैँसेमा निर्माणाधीन कुलेखानी तेस्रोको सुरुङ खन्ने काममा गुणात्मक प्रगति देखिएको छ । आयोजना निर्माणको ४४ महिनामा भन्दा पछिल्लो १० महिनामा सुरुङ खन्ने काममा गुणात्मक प्रगति देखिएको हो । आयोजनाका अनुसार अहिले ४ हजार २ सय २२ मिटर सुरुङको काम सम्पन्न भइसकेको छ ।
सिभिल निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी सिनो हाइड्रोले ठेक्का तोड्नुअघिको ४४ महिनामा भन्दा पुनः सम्झौता भएको १० महिनामा सुरुङको कामले गति लिएको हो । कुलेखानी तेस्रो आयोजना कार्यालयका अनुसार अप्रिल २००८ देखि डिसेम्बर २०११ सम्मको ४४ महिनामा सुरुङ खन्ने दर ४९.४५ मिटर प्रति महिना थियो भने मार्च १२, २०१२ देखि १८ जनवरी २०१३ सम्मको १० महिनामा यो दर बढेर १सय ६७.७ मिटर प्रति महिना पुगेको छ । अघिल्लो ४४ महिनामा ३६.७६ प्रतिशत भएको सुरुङको काम पछिल्लो १० महिनामा २८.३४ प्रतिशत भएको आयोजना प्रमुख मधुसूदनप्रताप मल्लले बताए । उनले अहिले दैनिक १०.१ मिटरका दरले सुरुङ खन्ने काम भइरहेको बताए ।
“सहायक सुरुङसहित ५ हजार ९ सय १८ मिटर सुरुङ खन्नुपर्नेमा अघिल्लो ४४ महिनामा २ हजार १ सय ७६ मिटर सुरुङ खनिएको थियो,” उनले कारोबारलाई भने, “पछिल्लो दस महिनामा मात्रै १ हजार ६ सय ७७ मिटर सुरुङ खनिएको छ ।” मल्लका अनुसार बाँकी रहेको १८ सय ४७ मिटर सुरुङ २०१२ जुनसम्ममा खनिसक्ने लक्ष्य ठेकेदारलाई दिइएको छ । “सुरुङको काम ६५.१ प्रतिशत सकिएको छ, बाँकी काम ४ जुन २०१२ सम्ममा सक्ने लक्ष्यका साथ काम लगाइएको छ,” उनले भने ।
सिनोले मुख्य सुरुङको ५ सय ८४ मिटरमा ढलानको काम गरेको छ भने सुरुङको माथिल्लो भाग ढलानको काम २७ मिटर सकेको छ । हेडपण्डको काम पनि सुरु भएको छ  भने पावर हाउसको ‘बोर पाइल’ को काम पनि सुरु भएको आयोजनाले जनाएको छ । आयोजना प्रमुख मल्लले पुस १ गते बुझाएको प्रतिवेदनबारे निक्र्योल गरी परामर्शदाताको बारेमा केही दिनमै निर्णय गर्नेे र काममा थप तीव्रता दिलाउनेतर्फ सञ्चालक समिति जुटेको मल्लले बताए ।

प्रस्तुति: कारोबार