NepalEnergyForum

सबैले बाले मिलीजुली, कहिल्यै जाँदैन बिजुली

काठमाडौं-नेपाल रिपब्लिक मिडियाले नागरिक उज्यालो अभियान सुरु गरेको छ । कुनै चोक, गल्ली, चौतारा र बाटोमा अँध्यारो छ, बिजुली बल्दैन भने नागरिक दैनिकले यथाशक्य सजिलै बिजुली बालिदिने अभियान सुरु गरेको हो । जनताले उज्यालोमा बाँच्न पाउनुपर्ने अधिकारलाई नागरिकले सामाजिक उत्तरदायित्वको रुपमा अभियान थालेका जनाएको छ ।
‘सबैले बाले मिलीजुली, कहिल्यै जाँदैन बिजुली’ भन्ने नाराका साथ नागरिक दैनिकले काठमाडौं, पोखरा र चितवनमा अभियान थालेको हो । नेपाल रिपब्लिका मिडियाकी कार्यकारी निर्देशक समृद्धि ज्ञवालीका अनुसार यस अभियानका लागि दुई सयजना कर्मचारीलाई तीन महिनाका लागि जनताको घर घरमा पठाइने छ ।
लोडसेडिङ हटाउन जनताको घर घरमा पुगेर एलइडीको विषयमा जानकारी दिनेसमेत उनले बताइन् । एलइडीले बिजुली तीन गुना कम खपत गर्ने तथा पैसा पनि बचत गर्ने भएकोले लोडसेडिङ हटाउन यसको प्रयोग गर्नु बुद्धिमत्तापूर्ण हुने नेपाल विद्युत प्राधिकरणको भनाइ छ ।
उनका अनुसार कुनै सामाजिक वा धार्मिक क्षेत्रसँगै जोडिएको बाटो, चौतारा, चोक र गल्लीमा पोल भएको तर बिजुली नभएमा नागरिकको कार्यालय वा सम्पर्क नम्बरमा जानकारी गरे एलइडी चिम नागरिकले जडान गरिदिने छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले थालेको लोडसेडिङमुक्त नेपालको अभियानलाई नागरिकले गर्ने सामाजिक उत्तादयित्व मानेर अभियानकै रुपमा अघि बढाउने नागरिकले जनाएको छ ।
‘नागरिकका कर्मचारीले जनताको घर घरसम्म पुगेर पत्रिकाको वार्षिक ग्राहकसँगै एलइडी चिमको विषयमा जानकारी दिनेछन्,’ उनले भनिन्, यसबाट विद्युत बचत, आर्थिक बचतको साथै विद्युत स्टोर पनि बढ्ने छ।’
विद्युत स्टोर हुनु भनेको देशकै लागि फाइदाको विषय हो । संस्थागत सामाजिक उत्तरदायित्वका कार्यमा कहिले छिटो र कहिले ढिलो नतिजा आउने भए तापनि नागरिक उज्यालो अभियानले दीर्घकालीन रुपमा परिवर्तन आउने उनको विचार छ ।
नागरिकले प्रत्यक्ष वा परोक्ष रुपमा विविध सामाजिक अभियान गर्दै आउने क्रममा हाल देशलाई लोडसेडिङमुक्त बनाउने अभियानमा हातेमालो गरौं भन्ने उद्देश्यसहित अभियान थालेको उनको भनाइ छ ।
नागरिकले जनताका लागि उज्यालो दिने एलइडी चिमले तीन गुणा कम खपत, पैसा बचत र लोडसेडिङ चट हुने अभियानले काठमाडौ, पोखरा र चितवनलाई एलइडीमय बनाउने ज्ञवालीको भनाइ छ । उक्त चिमले अन्यको तुलनमा ५० हजार घन्टा बिजुली बचत गर्छ । ग्राहक अभियानले तीन महिनाभित्र पोखरा, चितवन र काठमाडौं एलइडीमय हुनेछ ।

स्रोत: नागरिक समाचार