सकिने बेला धकेलियो तामाकोसी, ठेकेदार फेर्ने तयारी

    1087
    पूर्वाधारतर्फ ९७ प्रतिशत निर्माण टुंगिए पनि पेनस्टक पाइप जडानको काम बाँकी 

    दोलखा — माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको हाइड्रो मेकानिकल सामान आपूर्ति र जडानमा ठेकेदार कम्पनीको ढिलाइले विद्युत् उत्पादन धकेलिने भएको छ । भौतिक पूर्वाधारतर्फ ९७ प्रतिशत निर्माण टुंगिए पनि हाइड्रो मेकानिकल लट २ को काम बाँकी छ ।

    भारतीय ठेकेदार कम्पनी टेक्सम्याको इन्जिनियरिङले तल्लो पेनस्टक स्याफटका स्टिल पाइप पूर्णरूपमा ढुवानी गरेको छैन । सरासर काम भए अबको एक वर्षभित्रै उत्पादन थाल्ने लक्ष्य राखिएको थियो ।

    पाइप ढुवानी र जडानमा उक्त कम्पनीको क्षमता नपुग्ने मूल्यांकन गर्दै आयोजनाले नयाँ ठेकेदारमार्फत काम अघि बढाउन तयारी थालेको छ ।

    ऊर्जामन्त्री वर्षमान पुनसहितले उक्त कम्पनीसितको ठेक्का सम्झौता तोड्ने चेतावनी दिएका छन् । कम्पनीबाट एक साताभित्र काम अघि बढाउने प्रतिबद्धता नआए विकल्प खोज्ने संकेत मन्त्रीले दिएका छन् ।

    ३ सय १० मिटरका दुइटा भर्टिकल सुरुङभित्र पेनस्टक पाइप जडान गर्नुपर्छ । उक्त पाइप गह्रौं र ठूलो हुने भएकाले जडान गर्न धेरै समय लाग्छ । कम्पनीले आयोजनास्थलमा पाइप ल्याइसकेकै छैन । केही बाटामै छन् ।

    ‘अन्य काम धेरै सकिएका छन् अब मुख्य चुनौती नै पाइप जोड्ने हो,’ आयोजनाका प्रवक्ता गणेश न्यौपानेले भने, ‘भारतीय ठेकेदार कम्पनीको कार्यशैली सन्तोषजनक छैन, त्यसैले अर्को व्यवस्था गरेर काम अघि बढाउने कुरा हुँदै छ । आयोजनाको काम रोक्न मिल्दैन, त्यसैले अर्को व्यवस्था गरेर भए पनि हामी समयमै काम सक्ने योजनामा छौं ।’

    अब लट ३ को ठेकेदार कम्पनी इन्डिज हाइड्रोलाई नै पेनस्टक पाइपको काम दिइने सम्भावना छ । उक्त कम्पनीले आफूले एक वर्षभित्र पाइप जडान गर्ने दाबी गरेको छ । लट २ को ठेकेदारसँगको सम्झौता तोडेर लट ३ को ठेकेदारलाई जिम्मेवारी दिए आउँदो वर्ष विद्युत् उत्पादन सुरु हुने आयोजनाका अधिकारी बताउँछन् ।

    सिन्धुपाल्चोकको खाडीचौरदेखि चरिकोटसम्मको सडक अत्यन्त जीर्ण छ । त्यसले पनि सामग्री ढुवानीमा समस्या छ  खाडीचौरबाट सामान आयोजनास्थल पुर्‍याउन सात दिनसम्म लाग्ने गरेको छ । पाइप अत्यन्त गह्रौं हुने भएकाले जीर्ण सडकमा ट्रक गुडाउनै मुस्किल पर्छ । २०६७ सालबाट थालिएको ४५६ मेगावाटको राष्ट्रिय गौरवको आयोजना नेपाली लगानीमै निर्माण भइरहेको छ ।

    २०७२ सालमै सक्ने लक्ष्य राखिएको आयोजना झन्डै तीन वर्ष लम्बिइसकेको छ । सुरुमा ३५ अर्ब लागत अनुमान गरिएकोमा झन्डै ४३ अर्ब रुपैयाँ खर्च भइसकेको छ । सकिँदासम्म लागत ७० अर्ब हाराहारी पुग्ने अनुमान छ । आयोजनास्थलमा अन्य काम भने धमाधम भइरहेका छन् ।

    नेपाली, चिनियाँ र भारतीय गरी तीन थरी कामदार परिचालित छन् । प्रवक्ता न्यौपानेका अनुसार मुख्य सुरुङ खन्ने, विद्युत्गृह, ट्रान्सफर्मर क्याभर्न खन्ने र कंक्रिट गर्ने काम पूर्णरूपमा सकिएको छ । पावरहाउस निर्माण, टर्बाइन जडान भइसक्यो ।

    हेडवक्र्सको कंक्रिट गर्ने काम ९९ सय प्रतिशत सकियो । लामबगरमा रहेको ड्यामसाइटको काम पनि अन्तिम चरणमा पुगेको छ । ड्यामसाइटमा कन्ट्रोल गर्ने भवन निर्माण भइरहेको छ । आयोजनाले उत्पादन थाले विद्युत्मा भारतसँगको परनिर्भरता घट्नेछ । पूर्णरूपमा बिजुली उत्पादन हुँदा दैनिक झन्डै साढे २ करोड आम्दानी हुनेछ ।