” आधा दर्जनभन्दा बढी आयोजनाले लगानी गर्ने दिने “
हालसम्म १ हजार ६ सय ४१ मेगावाट जडित क्षमता भएका सातवटा आयोजनाका लगानीकर्ताले स्थानीय बासिन्दाका साथै अन्य लगानीकर्तालाई पनि लगानी गर्नका लागि सेयर छुट्ट्याएका छन् । उनीहरूले सेयर लगानीको विस्तृत विवरण नखुलाए पनि अर्बौं रुपैयाँ स्थानीय बासिन्दाले जलविद्युत् आयोजनामा लगानी गर्न पाउनेछन् ।
स्थानीयलाई लगानी गर्न दिने तयारी गरेका आयोजनाहरूमा माथिल्लो तामाकोसी जलविद्युत् आयोजना(४५६ मेगावाट) प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेड, रसुवागढी आयोजना (१११ मेगावाट) प्रवद्र्धक रसुवागढी हाइड्रोपावर लिमिटेड, मध्यभोटेकोसी जलविद्युत् आयोजना (१०२ मेगावाट) को प्रवद्र्धक मध्यभोटेकोसी जलविद्युत् कम्पनी लिमिटेड, सान्जेन (४२ मेगावाट) र माथिल्लो सान्जेन (१४ मेगावाट) का दुई विद्युत् आयोजना बनाउन सान्जेन जलविद्युत् कम्पनी लिमिटेड छन् ।
यस्तै ६ सय मेगावाटको बूढीगण्डकी र ४ सय मेगावाटको नलसिंहगाड जलाशययुक्त विद्युत् आयोजनामा पनि स्थानीय बासिन्दाले लगानी गर्न पाउनेछन् । यी दुवै आयाजना अघि बढाउन सरकारले विकास समिति समेत गठन गरिसकेको छ । बूढीगण्डकी जलाशययुक्त आयोजना पनि स्थानीयको लगानी सुनिचित गर्ने भएको छ । “स्थानीयलाई आयोजना लगानीको अवसर दिई श्रमलाई सेयरमा बदल्ने तयारी गरिरहेका छौं,” बूढीगण्डकी जलविद्युत् विकास समितिका कार्यकारी निर्देशक डा. लक्ष्मीप्रसाद देवकोटाले बताए । यस्तै नयाँ बन्ने तयारीमा रहेका विद्युत् आयोजनाका प्रवद्र्धकले पनि स्थानीय बासिन्दालाई लगानी गर्न दिने तयारीमा छन् ।
नेपाल सरकार र चीनको सीडब्लुई इभेस्टमेन्ट कर्पोरेसन लिमिटेडले संयुक्त रूपमा बनाउन लागेको पश्चिमसेती (७ सय ५० मेगावाट) जलाशययुक्त आयोजनामा पनि १० प्रतिशत सेयर स्थानीयलाई दिने भएको छ ।
हाल नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा बैंकिङ क्षेत्रको धेरै तथा अन्य क्षेत्रको कम कारोबार भइरहेका बेला जलविद्युत् आयोजनाबाट अर्बो रुपैयाँका सेयर लगानी हुने तयारीमा छ । यसले बिस्तारै आयोजनाका लगानीकर्ताले धमाधम लगानी गर्न दिएपछि स्टक एक्सचेन्जमा जलविद्युत् समूहको ठूलो कारोबार हुने देखिएको छ ।
यस्तै निर्माणको तयारीमा रहेको तनहुँ जलाशययुक्त विद्युत् आयोजना (१४० मेगावाट) को प्रवद्र्धक तनहुँ हाइड्रोपावर लिमिटेडले पनि स्थानीय बासिन्दालाई ५ प्रतिशतसम्म सेयर दिने भएको छ । कावेली बी (२५ मेगावाट) आयोजनाको प्रवद्र्धक अरुण कावेली इनर्जी लिमिटेडले पनि आयोजना निर्माण अगावै सर्वसाधारणबाट लगानी उठाएको छ ।
यसअघि बुटबल पावर कम्पनी लिमिटेड, चिलिमे हाइड्रोपावर लिमिटेड, अरुणभ्याली हाइड्रोपावर लिमिटेड र नेसनल हाइड्रोपावर लिमिटेड स्टक एक्सचेन्जमा सूचीकृत भएका छन् । नेसनल हाइड्रोबाहेक अन्य कम्पनीले लगानीकर्तालाई राम्रो प्रतिफल दिएका छन् । नेसनलले हालसम्म लगानीकर्तालाई प्रतिफल दिएको छैन ।
@कारोबार