NepalEnergyForum

विजयेश्वरी हाइड्रोपावर २ वर्षदेखि बन्द

रुकुम । रुकुमको चौरजहारीमा रहेको विजयेश्वरी हाइड्रोपावर २ वर्षदेखि बन्द रहेको छ । खोलाको पानी घट्नु, नहरपोखरी पुरिँदै जानु र सरकारी बेवास्ता हुनुले आयोजना बन्द भएको कम्पनीका प्रमुख व्यवस्थापक जयबहादुर मल्लले बताए । आयोजनाको क्षमता करीब १ सय ५० किलोवाट रहेको छ ।

दुईटा योजना एउटै नहरबाट सञ्चालन गर्दा विजयेश्वरी हाइड्रोपावर बन्द भएको उनको भनाइ छ । ‘आयोजना बन्द भएपछि चौरजहारीवासीले विद्युत् समस्या भोग्नुपरेको छ,’ उनले भने । विद्युत् सेवा बन्द हुँदा रुकुमको प्रमुख व्यापारिक केन्द्र चौरजहारीका उद्योगी तथा व्यवसायीलाई प्रत्यक्ष असर परेको रुकुम उद्योग वाणिज्य सङ्घ रुकुम चौरजहारी शाखाले उल्लेख गरेको छ ।

रुकुमको मुख्य व्यापारिक केन्द्र चौरजहारी, कोटजहारीलगायत क्षेत्रका स्थानीयलाई लक्षित गरी सेतीगाड खोलाबाट २०४५ सालमा  विद्युत् आयोजना निर्माण गरिएको थियो । आयोजनाबाट चौरजहारी नगरपालिकाका १,२, ३ र ५ नम्बर वडामा विद्युत् सेवा पुगेको थियो ।

केन्द्रीय लाइनको हालत उस्तै
चौरजहारी नपामा विद्युत् समस्या भएपछि गत १५ माघमा केन्द्रीय लाइन विस्तार गरियो । तर, केन्द्रीय लाइन विस्तार हुँदा पनि चौरजहारी नपाको विद्युत् समस्या हल हुन सकेको छैन ।

हाल चौरजहारीको १, २ र ३ वडामा केन्द्रीय लाइनको विद्युत् सेवा पुगे पनि प्रभावकारी नभएको स्थानीयवासी तिलक भण्डारीले जानकारी दिए । उनले भने, ‘केन्द्रीय विद्युत् लाइन पुग्यो, तर विद्युत् क्षमता पुग्न सकेको छैन । जसका कारण चौरजहारीमा प्रभावकारी रूपमा बत्ती बल्न सकेको छैन ।’

प्रवीर ददेल

स्रोत:अभियान