NepalEnergyForum

मोदीखोला जलविद्युत् केन्द्रको मर्मत सुरु उत्पादन बढ्ने

पर्वत, २० चैत- जिल्लाको देउपुर गाविसको पातीचौरस्थित १४.८ मेघावाट क्षमताको मोदीखोला जलविद्युत् केन्द्रको मर्मतकार्य सुरु गरिएको छ ।
बाढीले क्षतिग्रस्त बनाएको भौतिक संरचना र इन्टेकमा पानी चुहिने तथा बालुवा थुप्रिने समस्या हटाउनका लागि मर्मत सुरु गरिएको केन्द्रले जनाएको छ ।  इन्टेकमा बालुवा थुप्रने र गेटबाट पानी चुहिने समस्या भएपछि वर्षा याममा समेत जलविद्युत् केन्द्रबाट क्षमताअनुसार विद्युत् उत्पादन हुन सकेको छैन ।
जलविद्युत् केन्द्रको देउपुर – २ बेतनीस्थित इन्टेकमा गेट, भौतिक संरचना र ट्र्यास ¥याक मर्मतको काम थालिएको केन्द्रले जनाएको छ ।  इन्ेटकमा आएको समस्याका कारण पानी चुहिने गर्दा विद्युत् उत्पादन कटौती भएपछि इन्टेकको संरचना नै परिवर्तन गर्ने गरी मर्मत कार्य सुरु भएको केन्द्रका प्रमुख कपिलदेव माञ्जलले जानकारी दिए । “जलविद्युत् आयोजना निर्माणकै क्रममा इन्टेकको डिजाईनमा नै समस्या भएकाले त्यसलाई केही परिर्वतन गरी पुनर्निर्माण र मर्मतको काम सुरु भएको हो,” उनले भने, “यसको पूर्ण मर्मतपछि उत्पादन पनि पूर्ण रूपमा हुनेछ ।
इन्टेकको पुनः डिजाइनअनुसार मर्मत गर्न १७ करोडभन्दा बढी लाग्ने अनुमान छ । यस वर्ष वर्षा लाग्नुअगावै मर्मत र पुनः डिजाइनको करिब २० प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यसपटक वर्षायाममा बाढीले भत्काएको संरचना निर्माण गर्ने, गेटबाट पानी चुहिने भएकाले मर्मत गर्ने तथा ढुंगा, फोहोर छान्ने ट्रेस ¥याकलाई केही अग्लो बनाउने काम सम्पन्न हुने उनले बताए । मर्मत भएलगत्तै विद्युत् उत्पादन १ मेघावाटभन्दा बढी थपिनेछ । इन्टेकमा समस्या रहेका कारण केन्द्रवाट ८ देखि १० मेघावाट मात्र विद्युत् उत्पादन हुने गरेको थियो । मर्मतपछि भने १४.८ मघावाट नै उत्पादन हुने केन्द्र प्रमुख माञ्जनले बताए । गेटबाट पानी चुहिने समस्या हटाउन केन्द्रले यसअघि स्याउला र माटोको भरमा पानी एकत्रित गरेको थियो ।
जलविद्युत् केन्द्रको डिजाइनकै समयमा मोदीखोलामा बगेर आउने बालुवा र ढुंगागिट्टीका बारेमा राम्रो अध्ययन नभएकाले इन्टेकमा बालुवा थुप्रने तथा ढुंगा–गिट्टी बढी अड्कने समस्या आउने गरेको हो ।  “बर्सेनि आउने बाढीले निरन्तर संरचनामा क्षति पु¥याउँदा भासिने र भत्किने समस्या आएको हो,” उनले भने । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको १४.८ मेघावाट क्षमताको मोदीखोला जलविद्युत् केन्द्रले २०५७ देखि नियमित रूपमा विद्युत् उत्पादन गर्दै आएको छ । मोदीखोलामै विगत पाँच महिनादेखि सञ्चालनमा आएको १० मेघावाटको तल्लो मोदीखोला १ बाट अहिले पाँच मेघावाट विद्युत उत्पादन भैरहेको छ ।

प्रस्तुति: कारोबार