मंसिर ३० देखि ऊर्जा सम्मेलन

    1338

    ippan-660x330

    सूर्यास्तसम्म १० हजार मेगावाट’ भन्ने मूल नाराका साथ काठमाडौंमा ऊर्जा सम्मेलन हुने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)ले बिहीबार पत्रकार सम्मेलन गरी आगामी ३० मंसिर र १ पुसमा सम्मेलन गर्न लागिएको जानकारी गराएको छ ।  इपानले यसअघि सन् २००६, २००७, २००८ र २०१३ मा ऊर्जा सम्मेलन गरेको थियो ।

    सरकारले राष्ट्रिय उर्जा संकट निवारण तथा विद्युत् विकास दशकसम्बन्धी अवधारणापत्र तथा कार्ययोजना–२०७२ को सफल कार्यान्वयनका लागि विशेष पहल गर्दै दिगो जलविद्युत् विकासमा अगाडि बढ्न सम्मेलन गर्न लागिएको इपानका अध्यक्ष खड्गबहादुर विष्टले बताए ।

    ‘ऊर्जा संकट निवारण तथा विद्युत् विकास दशकको नै सफल कार्यान्वयन नै नेपालको जलविद्युत् क्षेत्रको विकासको आधार हो,’ उनले भने, ‘सम्मेलन १० वर्षमा १० हजार मेगावाट जलविद्युत् आयोजना बनाउने लक्ष्यका लागि अनुगमन उपकरण बन्ने विश्वास लिएका छौँ।’

    विद्युत् संकट निवारण गर्ने सम्बन्धमा व्यवस्था गर्न बन्ने विधेयक, अहिलेको नीतिगत व्यवस्था, समस्या र त्यसका लागि अवलम्बन गर्न सकिने उपायसमेत अवधारणा तथा कार्ययोजनामा समेटिएको छ । यद्यपि, सरकारले विधेयक भने अहिलेसम्म ल्याएको छैन ।

    सन् २०२२ सम्म विकासोन्मुख राष्ट्रमा फड्को मार्ने संकल्प पूरा गर्न कार्ययोजनाअनुसार नै अघि बढ्नुको विकल्प नरहेको विष्टले बताए । ‘विगतमा जस्तो स्वदेशी तथा विदेशी लगानीकर्तालाई लगानीका लागि आह्वान गर्नेभन्दा पनि क्षमतावान् र जलविद्युत्मा आफ्नै मोडेल रहेको सन्देश दिन चाहन्छौँ,’ उनले भने ।

    कार्ययोजनामा समेटिएका ९९ बुँदालाई आक्रामक रूपमा कार्यान्वयन गरिनुपर्ने इपानका उपाध्यक्ष शैलेन्द्र गुरागार्इंले बताए । सम्मेलनमा १० वर्षमा १० हजार मेगावाट कसरी र कहिले सुरु हुन्छ, ऊर्जा सुरक्षा अवधारणा, राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् आयोजना, आयोजनाको वित्तीय व्यवस्थापन, दिगो जलविद्युत् विकासलगायतका विषयमा छलफल हुने इपानले जनाएको छ ।

    Posted by: Naya Patrika